नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्र्याक खुलेको १५ वर्षपछि स्तरोन्नति

0
21

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर–१० पात्लेखेत जोड्ने सडक ट्र्याक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।

बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्र्याक खुलेपछि सामान्य मर्मत गरेर गाडी सञ्चालन हुँदै आएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्याबियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।

सडक स्तरोन्नतिपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताउनुभयो । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।

तीन करोड रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो ।

२०८२ साल असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो । निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदूर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताउनुभयो ।