म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा वितरण हुने खानेपानीको क्षमता विस्तार भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानी आयोजना अन्तर्गत बराहपाखो सामुदायिक बनमा पानी प्रशोधन ट्याङ्की र ६ वटा सेक्सन भएको स्लो स्याण्ड फिल्टर ट्याङ्की निर्माण गरी शनिबार परीक्षण गरिएको हो।
बेनीबजारमा जनघनत्व बढ्दै जान थालेपछि खानेपानीको क्षमता विस्तार र गुणस्तर सुुधार गर्न विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग दुई करोड ४६ लाखमा ठेक्का सम्झौतामा ३ लाख ५० हजार लिटर क्षमताको १ वटा सेडिमेन्टेसन ट्याङ्की र खानेपानी शुद्विकरणको लागि ६ वटा सेक्सन भएको ५ लाख ९४ हजार लिटर क्षमताको स्लो स्याण्ड फिल्टर ट्याङ्की तयार भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
‘खानेपानी वितरणमा थप सहज भएको छ, अहिले ट्याङ्कीको परीक्षणको काम भइरहेका छ’ अध्यक्ष गिरीले भन्नुभयो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर नवीन सुुवेदी सहितको प्राविधिक टोलीले अनुगमन गरी ट्याङ्कीको परीक्षण गरी आवश्यक सुधार तथा थप संरचनाका बारेमा निर्माण पक्षलाई जानकारी गराएको अध्यक्ष गिरीको भनाई छ ।
नयाँ संरचना तयार भएसँगै स्लो स्याण्ड फिल्टर ट्याङ्कीको क्षमता ९ लाख ४४ हजार लिटर, रिर्जभ भ्वायर ट्याङ्कीको ५ लाख ७५ हजार लिटर र सेडिमेन्टेसन ट्याङ्की ७ लाख लिटर क्षमता सहित प्रति सेकेण्ड ३० पानीको भण्डारणको क्षमता भएको उपभोक्ता समितिका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
खानेपानीको ट्याङ्की आसपासका क्षेत्रमा पक्की संरचना सहित बन्यजन्तु तथा सर्वसाधारणलाई समेत प्रवेश गर्न नमिल्ने गरी घेराबारका लागि आयोजनालाई माग गरिएको छ ।
ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानी अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत हाल बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका ११ सय ६० घरधुरी सहित दैनिक २५ हजार जनसंख्या खानेपानीको पहुँच भित्र रहेका छन् ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–८,राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ भने बैकल्पिक खानेपानीका लागि बेनी नगरपालिका–२,स्थित म्याग्दी नदी किनारको इनारबाट लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको छ । मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गर्न ल्याबबाट परीक्षण सहित नियमित सरसफाई सहित विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरेको छ