महिलालाई स्वरोजगार बनाउन अल्लो कपडा बुनाई तालिम

0
30

बेनीका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि एक महिने बनपैदावारमा आधारित अल्लो कपडा बुनाई तालिम आइतबारदेखि सुरु भएको छ ।

डिभिजन बन कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा महिला उद्यम विकास समितिको आयोजनामा बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्र आयोजित तालिममा १० जना महिलाको सहभागिता रहेको छ ।

म्याग्दीमा ब्यवसायिक रुपमा अल्लो उत्पादनमा आर्कषित महिलालाई गाउँघर तथा पाखो ठाउँमा उम्रिएर त्यत्तिकै खेरजाने अल्लोको पुवाबाट महिलाहरुले विभिन्न उत्पादनहरु बनाउन सञ्चालन गरिएको तालिमको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

अल्लोको धागोबाट उत्पादित थान कपडाको माग स्वदेश तथा विदेशमा रहेको छ । अल्लोबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ । अल्लोको कपडा स्वास्थ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ ।

तालिममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, डिभिजन बन कार्यालयका सहायक बन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दीका महिला उद्यमीलाई बनपैदावारमा आधारित तालिम सञ्चालनसँगै उद्यमी बनाउन विभिन्न माध्यमबाट सहयोग गरिएको बताउनुभएको थियो ।

तालिमको अध्यक्षता एवम् स्वागत गदैं महिला उद्यम विकास समितिकी सभापति अम्बिका श्रेष्ठले महिलाको रुचीको आधारमा उद्यमशिलता अनुसारका विभिन्न तालिम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले अहिले बजारमा स्वरोजगार बनाउने तालिमहरु सरकारी तथा निजी संस्थासँग सहकार्य गरी समितिमार्फत तालिम सञ्चालन भइरहेको बताउनुभयो ।

सभापति श्रेष्ठले बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा एक महिने बुटिक तालिम समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो । बनपैदावारमा आधारित अल्लो कपडा बुनाई तालिमको सञ्चालन समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले गर्नुभएको थियो ।