सहकारीले दियो कृषकलाई दूध बोक्ने ठेकी

0
36

बेनी नगरपालिका-४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले दूग्ध कृषकहरुलाई दूध बोक्ने ठेकी(क्यान) वितरण गरेको छ । गएको चैत अन्तिम सम्म सम्म मात्रै एक लाख तीन हजार लिटर भन्दा बढी दूध बिक्री गरेको सहकारीले आफ्नो संस्थाका दूग्ध सदस्यहरुलाई सहकारीको संकलन केन्द्र सम्म दूध ल्याउनका लागि ठेकी प्रदान गरेको हो । सहकारीले यस पटक ५० जना कृषकलाई पाँच तथा १० लिटर क्षमताको दूधको ठेकी बितरण गरेको हो ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार सहकारीका ८० जना सदस्यहरुले दूध उत्पादन गर्ने र सहकारीको संकलन केन्द्रमा ल्याउने गरेका छन् । यस भन्दा अगाडी पनि कृषकको आवश्यकता अनुसार संस्थाले दूध बोक्ने ठेकी खरिद गरेर उपलब्ध गराएको र बाँकी रहेका ५० जना कृषकलाई यस पटक वितरण गरेको हो ।

सहकारीमा कुल चार सय ५० जना शेयर सदस्यबाट दुई करोड ५४ लाख शेयर पुँजी संकलन गरिएको सहकारीका व्यवस्थापक दिपक सापकोटाले बताउनुभयो । सहकारीको विभिन्न कोषमा डेढ करोड रहेको छ । संस्थाले नौ करोड ३० लाख बचत संकलन गरेको सहकारीले दुई सय ७० जनालाई नौ करोड ८० लाख ऋण लगानी गरेको छ ।

सहकारी संस्थाले कृषकको आवश्यकता अनुसार गाइ भैसी खरिद गर्नका लागि सहकारीबाट सहुलियत पूर्ण ऋणको समेत प्रबन्ध मिलाउने गरेको सहकारीका दूग्ध संकलन संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कृषकहरुले आफूले उत्पादन गर्ने दूध बिहान ५ बजे सहकारी संस्थाको कार्यालयमा रहेको संकलन केन्द्रमा ल्याए पछि सहकारीले संकलन गरेर बजारमा बिक्रीका लागि पठाउने गर्दछ ।

अहिले सहकारीले दैनिक रुपमा तीन सय लिटर भन्दा बढी दूध संकलन गर्ने गरेको संस्थाले जनाएको छ । हरेक दिन बिहान ८ देखि साढे ८ बजे सम्ममा दूध प्रयोग गर्ने ग्राहक सम्म दूध पुग्ने गरेको दूग्ध व्यवस्थापक विजुन चोखालले जानकारी दिनुभयो ।सहकारीले नै गाइभैसी खरिदका लागि ऋण व्यवस्थापन गर्ने, दूध खरिद गर्ने र आवश्यकता अुनसार भाँडाहरु पनि उपलब्ध गराउने गर्दा व्यवसाय गर्न सजिलो हुने गरेको दूग्ध कृषक नर्मता पौडेलले जानकारी दिनुभयो ।