रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु, समुदायको नि:शुल्क जग्गा योगदान

0
22

रघुगंगा गाउँपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ। गाउँपालिकाको केन्द्र मौवा फाँटमा समुदायले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सुरु भएको हो। शुक्रवार धार्मिक विधिअनुसार पूजा गरेर गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भवनको शिलान्यास गरे।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेको २ करोड रुपैयाँ बजेटबाट भवन निर्माण सुरु गरेको छ। मातृभूमि डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले १ करोड ३१ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण क्षेत्रमा काम सुरु गरेको छ।

दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गरी काम अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। उनका अनुसार, ९ करोड ४० लाख ४४ हजार ९५० रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि थप बजेट व्यवस्थापन गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव पेश गरिएको छ।

गाउँपालिकाले ६ वर्षअघि देखि भवन निर्माणका लागि जग्गा व्यवस्थापन सुरु गरेको थियो। ‘करोडौँ मूल्य पर्ने जग्गा समुदायबाट निःशुल्क प्राप्त भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवा सरल र सहज बनाउन पूर्वाधारयुक्त भवन बनाउने गौरवपूर्ण योजना अघि बढाएका छौँ,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने।

यो वर्ष भवनको जग र पहिलो तलाको ढलान सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इन्जिनियर कमलबहादुर चोखालले बताए। तीन तलामा ३३ कोठा र सभाहलसहितको सुविधासम्पन्न भवन निर्माणका लागि जग्गा सम्याएर जग राख्ने काम सुरु भएको उनले जानकारी दिए। निर्माण व्यवसायीले भवन निर्माणका लागि आवश्यक सामग्री, उपकरण र जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको छ।

रघुगंगा गाउँपालिकालाई समुदायका २७ जनाले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। करोडौँ मूल्यको जग्गा निःशुल्क प्राप्त भएपछि दुई वर्षअघि गाउँपालिकाले बनाएको बहुउद्देश्यीय भवनबाट सेवा प्रवाह हुँदै आएको छ। बहुउद्देश्यीय भवनलाई कर्मचारी आवास गृहका रूपमा प्रयोग गर्ने र सुविधासम्पन्न नयाँ भवन बनाएर नागरिकलाई सरल र सहज सेवा दिने उद्देश्यले प्रशासकीय भवन निर्माण सुरु गरिएको अध्यक्ष भण्डारीले बताए।

भवन निर्माणका लागि २७ जग्गाधनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरिएको थियो। विधिअनुसार, १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने ६ रोपनी जग्गा घडेरीका रूपमा जग्गाधनीलाई फिर्ता गरिएको छ। बाँकी जग्गा प्रयोग गरेर पालिकाको वरिपरि ८ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ। रासस