अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने

अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ ।

अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन हुन लागेको हो ।

यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ को अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा झन्डै ६० जनाले सहभागिता जनाउने भएका छन् ।

जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन हुन लागेको अध्यक्ष पुनले बताउनुभयो ।

म्याराथन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाका अनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।