म्याग्दी, बेनी – गैर आवासीय नेपाली संघ (NRNA) बहराइनको आर्थिक सहयोगमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–६, जामुखर्कस्थित श्री विद्या मन्दिर आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण सुरु गरिएको छ। शुक्रवार एक कार्यक्रमका बीच सो भवनको शिलान्यास तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास विश्वकर्माले विद्यालयको भौतिक पूर्वाधार सुधारमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै एनआरएनए बहराइनप्रति आभार व्यक्त गर्नुभयो “हामीले लामो समयदेखि नयाँ भवनको आवश्यकता महसुस गरिरहेका थियौँ। आज एनआरएनए बहराइनको साथले त्यो सपना साकार हुँदैछ,” अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा एनआरएनए बहराइनका अध्यक्ष राजु कुमार श्रेष्ठले एनआरएनएले मातृभूमिप्रति आफ्नो दायित्व बिर्सेको छैन भन्दै शिक्षा क्षेत्रमा गरिएको सहयोग भविष्यका पुस्ताको लगानी हुनेबताउनुभयो । “शिक्षामा लगानी भनेको मुलुककै विकासमा लगानी हो। हामी अझ धेरै ठाउँमा सहयोगको दायरा विस्तार गर्दैछौं,” श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्राध्यापक धनबहादुर रानाले विद्यालयको इतिहास, आवश्यकताको पृष्ठभूमि र हालको अवस्था प्रस्तुत गरेका थिए। उनले स्थानीयस्तरमा शिक्षा गुणस्तर उकास्न सामुदायिक र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक भएको बताए।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले शुभकामना मन्तव्य राख्दै विद्यालय जस्ता संस्थाहरुको विकासमा निजी क्षेत्र र प्रवासी नेपालीको हातेमालो सकारात्मक रहेको बताउनुभयो । “शिक्षा क्षेत्रमा यस्तो सहयोगले नयाँ ढोका खोल्नेछ,” शाक्यले भनुभयो ।
त्यसैगरी, एनआरएनए बहराइनका संरक्षक छबि लाल विश्वकर्माले शुभकामना मन्तव्य दिँदै भन्नुभयो, “हामी प्रवासमा भए पनि आफ्नो गाउँठाउँप्रति सदैव समर्पित छौँ। यस्तो सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ।”
विद्यालयमा हाल ४ जना शिक्षक, १ जना कार्यालय सहयोगी र १ जना बाल विकास शिक्षक गरी कुल ६ जना कर्मचारी कार्यरत छन्। भवन निर्माण सम्पन्न भएपछि बालबालिकाको सिकाइ वातावरण अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।