रत्नेचौरमा संचालित मादल बजाउने तालिम

म्याग्दी, २५ जेठ । म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरमा महिलाहरुका लागि संचालित एक हप्ते मादल बजाउन सिकाउने तालिम सकिएको छ ।
वडा कार्यालयको सहयोग तथा वडा स्तरीय आमा समुह सञ्जालको आयोजनामा सुरु भएको तालिमको आईतवार समापन गरिएको हो ।
परम्परागत लोक बाजाको संरक्षण गर्दै महिलाहरुलाई मादल बजाउने सिप सिकाउने उद्धेश्य राखेर तालिमको आयोजना गरिएको तालिमको समापन समारोहमा बोल्दै बेनी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर थापाले महिलाहरुको कुनै न कुनै क्षमता विकासमा वडाले सघाउदै आएको बताउनुभयो ।
तालिममा वडा नम्वर १ का विभिन्न आमा समुहका २० जना महिलाहरुको सहभागीता रहेको तालिमको कलाकार अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
गाउँघरमा संचालन हुने रत्यौली, भजन लगायतका साँस्कृतिक गतिविधिहरुमा मादल बजाउन महिलाहरुलाई सक्षम बनाउन यो तालिमले भूमिका खेल्ने सञ्जालका अध्यक्ष गौरी थापा मगरले बताउनुभयो । उहाँले आगामी वर्षमा पनि तालिमलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो ।
समापन समारोहमा सहभागीहरुले रत्यौली र लोक भजनमा मादल बजाएका थिए । कार्यक्रम सञ्जालकी अध्यक्ष थापाको अध्यक्षता, र कोषाध्यक्ष जनतादेवी क्षेत्री (आशा) को संचालनमा सम्पन्न भएको थियो ।