दिब्यदिप माविमा भारतीय सरकारको सहयोगमा २४ कोठे छात्राबासको शिलान्यास

उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्राबास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ ।

आइतबार लोमान्थाङ गाउँपालिका–२,छोसेरमा रहेको दिब्यदिप माध्यामि विद्यालय प्राङ्गनमा एक समारोहका बिच कुल चार करोड ३० लाख ८५ हजार ३४९ रुपियाँ आर्थिक लागतमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङ र भारतीय दुतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले संयुक्त उद्घाटन गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरूङले आवासीय भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै सहयोगको प्रशंसा गर्नुभएको थियो । भवन निर्माणमा भारतीय दुताबासबाट कुल लागतको ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकाश केसीले बताउनुभयो ।

भारतीय दुतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण उदाहारण रहेको बताउनुभयो । भवन शिलन्यासमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय जनप्रतिनिधि,सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिब्यदिपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देही लगायतका जिल्ला सहित  बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । भवन निर्माणका लागि स्थानीय बृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा समेत दान दिनुभएको थियो । उपल्लो मुस्ताङमा भारत, चिनियाँ, अमेरिकाको सहयोगमा विभिन्न परियोजनामा बर्षेनी लगानी गर्ने गरिएको छ । गोरखापत्र अनलाइन