Sunday, June 29, 2025
20.9 C
Beni
20.9 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 40

विपन्न विद्यार्थीको शिक्षादीक्षाका अक्षय कोषमा स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारस्थित मुक्तिमार्ग माध्यामिक विद्यालयमा ह.कुलबहादुर बरुवालको चौरासी बर्ष प्रवेश गरेको अवसरमा कोष स्थापना गरिएको छ । विपन्न परिवारका बालबालिकालाई शिक्षादीक्षामा सहयोग गर्ने उद्धेश्यले छोरा शिवकुमार र बुहारी ज्ञानु बरुवालले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँको ‘कुलबहादुर÷स्व.मनकुमारी’ अक्षयकोष स्थापना गरिएको हो ।

मोना अन्तराष्ट्रियका संस्थापक कोषाध्यक्ष शिवकुमारले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि स्थापित अक्षय कोषको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानध्यापक ठकराज बरुवाललाई हस्तान्तरण गरिएको छ ।

कोषबाट प्राप्त हुने बार्षिक ब्याजले मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभुत विद्यालयका बालबालिकालाई बार्षिक रुपमा छात्रवृति प्रदान गरिने सहयोगदाता शिवकुमारले बताउनुभयो। मुक्तिमार्ग माविका पूर्व ब्यवस्थापन समितिका अध्यक्ष, एवम् भुवानी आधारभुत विद्यालयका संस्थापक समेत रहनुभएका बुबा कुृलबहादुरको योगदानलाई निरन्तरता दिन उक्त कोष स्थापना गरी विद्यार्थीलाई सहयोग गरिएको सहयोगदाता शिवकुमारको भनाई छ ।

‘‘मैले पढेको र बुबाले योगदान गरेको दुबै विद्यालयमा कोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको छ, आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा निरन्तर सहयोग हुने छ ।’’ सहयोगदाता शिवकुमारले भन्नुभयो ।

यसैबीच मुक्तिमार्ग माविका प्रअ बरुवालले बेल्जियमलाइ कर्मथलो बनाएका बरुवाल दम्पत्तीको गाउँको सेवामा अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले विगतमा शैक्षिक, भौतिक क्षेत्रमा विभिन्न माध्यमबाट विद्यालयमा सहयोग गर्नुभएको बताउँदै यस कोषले समेत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सहज हुने बताउनुभयो । प्रअ बरुवालले शैक्षिक क्षेत्रको विकासका लागि अक्षय कोषले नियमित सहयोग गर्न सकिने बताउनुभयो ।

म्याग्दीमा रहेको अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । विश्वमै आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको कारण जेठो हिमाल भनेर समेत चिनिने अन्नपूर्ण हिमालको प्रचारप्रसार सहित यसका बारेमा जानकारी दिन हिरक महोत्सव गर्न लागिएको हो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा समेत जोडिएको अन्नपूर्ण हिमालको आरोहणका गर्ने आधारशिविर सहित मार्ग र तत्कालिन समयमा गरिएका आरोहणस्थलको सम्पूर्ण भूगोल म्याग्दीमा पर्छ ।

आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन आवश्यक यतारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । अध्यक्ष पुन भन्नुहुन्छ,‘‘तयारीमा जुटेका छौ, सबैको साथ र सहयोगको अपेक्षा गछौं ।’’ अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको बारेमा यो नै पहिलो हिरक महोत्सव भएकाले एतिहाँसिक बनाउने गरी तयारी सुरु भएको छ ।

महोत्सवको कार्यतालिका सहित अन्य विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक भएको छ । जस अन्तरगत महोत्सवको अवसरमा जेठ १६ देखि १९ गतेसम्म नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा, १९ गते प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदुतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको पर्यटन अभियान्ता तेज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा आगामी जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका सबै८ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य, जेठ २० गते आधार शिविरदेखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगिता, आधार शिविरमा राखिएका आरोहीका शालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, मूल समारोह, सम्मान तथा पुरस्कार वितरण र २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा महोत्सवमा समापन गरिने छ ।

महोत्सवको आयोजक अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) रहेको छ भने अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक तोकिएको छ । महोत्सवमा स्थानीय नारच्याङमा रहेका संघसंस्थाका साथै अन्नपूर्ण भित्रका यूवा क्लवहरूलाई समेत विभिन्न जिम्मेबारी प्रदान गरिएको छ।

पछिल्लो समय म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको अन्नपूर्ण बेसक्याम्पमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ। आधार क्षेत्र नजिकै रहेको पञ्चकुण्ड ताल पर्यटकको आर्कषक मानिन्छ । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । बि.स. २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

 

 

 

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी) ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।

हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको र अरू समिति पनि क्रमश: अनुमतिका लागि आउने क्रममा रहेको बताए। मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ । मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए।

थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई रू छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए। अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको उनले जानकारी दिए। कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा सङ्कलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ ।

यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा सङ्कलन पुँजी वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गरे। टुकुचे समितिबाट ३ वैशाखदेखि यार्सा पुर्जी वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा सङ्कलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए। थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताए। थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक चिउदोखर्क र धम्पुसलेकमा यार्सा सङ्कलन गर्न पाउने सचिव थकालीको भनाइ छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरूङले जानकारी दिए। एक्यापको अनुमतिमा समितिमार्फत पहिलो दिन ४० जनालाई यार्सा सङ्कलन अनुमतिपत्र वितरण गरिएको सचिव गुरूङको भनाइ छ । जोमसोम संरक्षण व्यवस्थापन समितिले सङ्कलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई चार हजार र कुरिया दर्ता नभएको र अन्यलाई रू ६ हजार यार्सा सङ्कलन शुल्क लिने गरेको सचिव गुरूङले उल्लेख गर्नुभयो । यार्सा सङ्कलन पास वितरण एक हप्तासम्म रहने सचिव गुरूङले जनाए।

मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा सङ्कलन सुरू हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा सङ्कलन कार्य सुरू भइनसकेको मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरूङले जानकारी दिए। मुक्तिनाथ समितिले अझै यार्सा सङ्कलनका लागि एक्यापसँग पूर्वस्वीकृति समेत लिएको छैन । समितिका सचिव लाक्पाटसी गुरूङले यार्सा सङ्कलन पुर्जी वितरणका लागि चाँडै नै समितिको बैठक बसेर निर्णय लिइने जानकारी दिए।

“हामी कहाँ अन्यत्रको भन्दा केही ढिलो सुरू हुन्छ, यसको कारण उच्चलेक र पाटनमा हिउँ जमेको छ,” सचिव गुरूङले भने, “सम्भवत: जेठको दोस्रो साता यार्सा सङ्कलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिनेगरी अघि बढ्छौँ ।”

मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथलेक, रिसम्वालेक, नेरलेक र लुप्रालेकलगायतमा यार्सा सङ्कलन पुर्जी दिने गरेको सचिव गुरूङको भनाइ छ । गत वर्ष समितिले १ जेठदेखि यार्सा सङ्कलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने बताए। मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले गत वर्ष स्थानीयलाई दुई हजार र अन्यलाई सात हजार शुल्क लिएको सचिव गुरूङले जानकारी दिए।

यस्तै, मुस्ताङका अन्य लेकमा पनि आंशिक रूपमा यार्सा सङ्कलन हुने गरेको छ । एक्यापको अनुमतिमा सम्बन्धित समितिले सङ्कलन गरेको यार्सा सङ्कलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउने अधिकार छ । मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेक र पाटनमा यार्सा सङ्कलन गर्न पाउनेगरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो।

यार्सा सङ्कलन अवधिभर सम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने र सङ्कलकलाई सचेत बनाउने, वन्यजन्तु तथा अन्य वनपैदावारहरूको संरक्षणका लागि चोरी–सिकारी र अवैध गतिविधि हुन नदिने, वन डेढेलो हुनबाट रोक्ने र उच्चलेक र पाटनमा फोहोर प्रदूषण गर्न नपाइने गरी सङ्कलकलाई सचेत गराइएको छ । एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा सङ्कलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।

तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भन्नुभयो, “केही वर्षअघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्मकर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।”

चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले महखुदो नसक्नले पानी राख्ने चलन  अब नरहेको राइनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउनुहुन्छ ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीका रामबहादुर कार्कीले भन्नुभयो, “चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्मघडा’ राख्ने चलन हरायो ।” भएका चौतारीको पनि संरक्षण हुन छाडेको उहाँ बताउनुहुन्छ ।

परम्पगत चलन संरक्षण गर्न बेँसीसहर नगरपालिका–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राख्नुभएको छ  । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ ।  रासस

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिने

मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ।

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न सकिन्छ भनेर उनीसहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो।

यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी दिए। उनले भने, ‘स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ।’

प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो।

टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ। रासस

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजोको बैठकमा यसबारे छलफल भएको छ ।

पश्चिम नेपालमा गएको भूकम्प तथा गएको वर्षको मनसुनजन्य विपदपछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सम्भावित मनसुनजन्य विपद्को प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्राधिकरणबाट यथाशीघ्र अन्तिम रुप दिने तथा कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

कार्यकारी प्रमुख इन्जिनियर भट्टका अनुसार विगत वर्षमा मनसुनजन्य विपदबाट उच्च जोखिम बेहोरेका कारण यस वर्ष छिट्टै पूर्वतयारी थालिएको हो ।

वर्षेनि मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरू गर्ने गरिएकामा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी थालेको उहाँले उल्लेख गर्नुभयो ।

ट्रयाक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असार महिनामा ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो।

हाल तीन दशमलब पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १(२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए ।

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु एक करोड ५० लाख मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गरेका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए ।

लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताए। धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुनेछ। सुन्तला, आलुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तिर्थ घर्ती मगर

म्याग्दी समाज न्युर्योक यूएसए इंकको तेस्रो अधिवेशनबाट २०२५÷२०२७ कार्यकालका लागि मालिका गाउँपालिका- ५ देविस्थानका तिर्थ घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष सोम बुढाथोकी, उपाध्यक्ष चयन्द्रबहादुर थापा ‘प्रकाश’, महिला उपाध्यक्ष प्रिति माया पुन, महासचिव चक बहादुर पाईजा, सचिव रोशन गौचन थकाली, सचिव दिपक गुरुङ,कोषाध्यक्ष रामचन्द्र सापकोटा,सहकोषाध्यक्ष सुजल छन्त्याल रहनुभएको छ । अधिवेशनबाट कार्यसमिति सदस्यमा भिमराज पटेल,आनन्द रोका मगर,चिन कुमार जुग्जाली, मिलन पुन, भरत डगामी मगर, ज्ञान पुर्जा, तारामिलन छन्त्याल र शुशिला पुन रहनुभएको महासचिव चकबहादुर पाईजाले जानकारी दिनुभयो ।

अधिवेशनमा संस्थापक अध्यक्ष एवम् संरक्षक भबिन्द्र शेरपुञ्जा,बरिष्ठ सल्लाहकार मनप्रसाद रोका, मगर संघ अमेरिकाका अध्यक्ष यामबहादुर पुन मगर, पुर्व एसपी दानबहादुर मल्लले मन्तब्य दिनुभएको थियो । अधिवेशनमा संस्थाको संगठनिक तथा आर्थिक प्रतिवेदन थापा र आर्थिक निर्वतमान कोषाध्यक्ष तिर्थबहादुर घर्ती मगरले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

अधिवेशनमा अध्यक्षता निर्वतमान अध्यक्ष रमेश तुलाचन, स्वागत निर्वतमान उपाध्यक्ष सोम बुढाथोकी, सञ्चालन चयन्द्रबहादुर थापा क्षेत्री प्रकाशले गर्नुभएको थियो । म्याग्दीबाट अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था समाजले शिक्षा, स्वास्थ्य, महाबीर पुनको आविस्कार केन्द्र, बाढीपहिरो प्रभावित तथा अन्य सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ।

 

दोवाको अस्पताल भवन अलपत्र : बजेट र जनशक्तिको अभाव

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवामा तीन वर्ष अघि निर्माण सम्पन्न भएको पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन  अस्पताल भवन अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको स्थलगत अनुगमन गरेर पनि सञ्चालन गर्ने सन्दर्भमा अन्यौलता नै जनाउनु भएको छ ।

मन्त्री पाठकले सडकको अवस्था कमजोर र बस्ती भन्दा अपायक ठाउँ जस्तो भुगेलमा भएकोले अस्पताल सञ्चालन नै अन्योलै देखिएको बताउनु भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पनुले जानकारी दिनुभयो । हामीले मन्त्रीज्यूलाई अस्पताल भवनको निरीक्षणमा लगेका थियौँ, तर भौगोलिक अवस्था तथा सडकको स्तरले गर्दा पनि कहिलेबाट अस्पताल सञ्चालन गर्ने भन्ने यकिन भन्न सक्ने अवस्था नदेखिएको उहाँले भन्नुभयो–अध्यक्ष पुनले सुनाउनुभयो ।

दोवामा १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेका छन् ।

भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोग गरिने जनाइएको छ ।भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना-अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना, र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको स्थानीयले बताएका छन् ।

अस्पताल सञ्चालनमा आएपछि दोबाबासीलाई उपचारमा सहज हुने भएपनि पालिका भित्रका अन्य वडाका बासिन्दालाई सहजतका लागि बेनी-पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामिण सडकमा ढलान, कालोपत्रे सहितको स्तरोउन्नती आवश्यक देखिएको छ ।

म्याग्दीको मंगला, धवलागिरीमा निर्माणधिन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गा सहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन भने बनेका भवन नै प्रयोगमा नआउँदा स्थानीयबासी आक्रोशित छन् ।

स्रोत नखुलेको ९५ लाखसहित काठमाडौँबाट ४ जना पक्राउ

स्रोत नखुलेको ९५ लाख रुपियाँसहित प्रहरीले काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी गाउँपालिका–३ कै ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

काठमाडौँ महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट आइतबार दिउँसो ४ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

दुईवटा मोटरसाइकलमा सवार उनहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो । सोही क्रममा पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ रकम फेला परेको एसपी बोहराले जानकारी दिए ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।