Sunday, June 8, 2025
25.3 C
Beni
25.3 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 44

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु छ लाख सहयोग गरेको हो

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु दुई–दुई लाख उपलब्ध गराएका बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए ।

कुल रु ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले रु २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।

परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताए ।

गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको ब्यवस्था मिलाइने वडाध्यक्ष केसीले बताए । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ‘डिजाइन’ गरिएको छ ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म भेटी लगायत शीर्षकबाट रु ६६ लाख दुई हजार ९९३ आम्दानी र रु ४० लाख नौ हजार ४५२ खर्च भई रु २५ लाख ९३ हजार ५४१ बचत भएको छ । गत वर्ष कोषले भेटीमार्फत सङ्कलन भएको रकम परिचालन गरेर रु १२ लाखको लागतमा ज्ष्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरेको थियो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ ।

मोना यूकेले शुभकामना सांँझ गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले नेपालीको नयाँ  वर्ष २०८२ को अवसरमा शुभकामना सांझको आयोजना गरेको छ । आगामी अप्रिल २६ तारिकको दिन नेपाली कलाकार सहितको उपस्थितीमा शुभकामना साँझ मनाउन लागेको हो । यूकेमा रहेका म्याग्देलीलाई नयाँ बर्षको अवसरमा एकै ठाउँमा भेला पर्ने उदेश्यले शुभकामना साँझको आयोजना गरिएको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले बताउनुभयो ।

शुभकामना साँझमा लोक गायक गगन पुन, गायिका आस्मा छन्त्याल, डान्सर यसोदा रोका मगर र मिस मगर नेपालकी विजेता मिलन थापा मगर लगायतका कलाकार तथा यूकेमा रहेका कलाकारहरुको प्रस्तुत रहने छ ।

शुभकामना साझँमा यूकेमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध समेत गरिएको छ भने अन्य थप तयारीलाई समेत तिब्रता दिइएको छ । मोना यूकेमार्फत म्याग्दीमा स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग भइरहेको छ । शुभकामना साँझमा विभिन्न कार्यक्रम सहित संस्थाका अभियानका बारेमा समेत जानकारी गराइने छ ।

शुभकामना सहकारीको दुधले बजार धान्नै मुश्किल

बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले बजारमा माग भए अनुसारको दूध पु¥याउनै सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक लाख लिटर भन्दा बढी दूध विक्री गरेको भए पनि सहकारीमा दूधको माग उच्च रहेको छ ।

चालु आर्थिक वर्षको चैत २६ गते सम्म शुभकामना कृषि सहकारी संस्था लिमिटेडको ७८ जना शेयर सदस्य कृषकहरुबाट एक लाख तीन हजार आठ सय ६० लिटर दूध संकलन गरेर विक्री गरेको हो । गत आर्थिक वर्षमा कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध विक्री गरेको सहकारीले यस वर्ष नौ महिनामै उक्त लक्ष्य पार गरी सकेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना कृषकहरुबाट कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध संकलन गरेर विक्री गरेको थियो।

पछिल्लो ३० वर्ष देखि बेनी बजारमा जनसेवा डेरी सञ्चालन गर्दै आउनु भएका कोषानन्द आचार्यले शुभकामना कृषि सहकारीको दूध गुणस्तरीय भए पनि मागे जति नदिएको गुनासो गर्नुभयो । बेनीमा पाउने मध्ये सरदर हेर्दा शुभकामनाले दिने दूधको गुणस्तर राम्रो छ र थप माग गर्ने गरेको भए पनि उनीहरुले माग अनुसार पु¥याउन सकेका छैनन् । सहकारीले हरेक दिन बिहान र बेलुका संस्थाको कार्यालयमै दूध संकलन गर्ने र बेनी नगरपालिका–४ सिंगा तथा बेनी नगरपालिका–७ र ८ बेनी बजारका साथै जलजला गाउँपालिका–३ पर्वत बेनी सम्ममा विक्री बितरण गर्दै आएको सहकारीका दूधको बजार व्यवस्थापक बिजुन चोखालको भनाइ छ । विहान ५ बजे देखि नै सिंगामा दूध संकलनगरेर साढे ८ बजे सम्म दूध नागरिकको भान्सा सम्म पु¥याउने प्रयास गरिरहेको उहाँको भनाई छ । हाम्रो दूधको गुणस्तर राम्रो भएको हुनाले बजारमा माग धेरै छ तर माग अनुसारको पु¥याउन सकिएको छैन ।

सहकारीमा चालु आर्थिक वर्षमा काशीनाथ पौडेल, गिता खत्री, नर्मता पौडेल, कोपिलाल पौडेल तथा रेखा थापाले धेरै दूध ल्याउने गर्नुहुन्छ । अघिल्लो आर्थिक वर्षमा कासीनाथ पौडेलले तीन हजार आठ सय ६४ लिटर दूध सहकारीमा ल्याउनु भएको थियो भने चालु आर्थिक वर्षको हाल सम्म झण्डै ११ हजार लिटर दूध सहकारीलाई विक्री गर्नुभएको छ । त्यस्तै गिताले पाँच हजार तीन सय र कोपिलाल, रेखा तथा नर्मताले तीनदेखि चार हजार लिटर दूध उत्पादन गर्नुभएको छ ।

कोपिलाल पौडेल दूग्ध संयोजकको रुपमा सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाइ तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने समेत गरेको छ । नर्मता पौडेलले आफू लगायतका कृषकहरुलाई गाइभैसी व्यवस्था गर्नुका साथै खरिदका लागि आवश्यक पर्ने ऋण व्यवस्थापनमा समेत कोपिलाल पौडेलकै अगुवाइमा सहकारीले गरेका जानकारी दिनुभयो । आफूसँग भएका छ वटा भैसीहरु खरिद गर्दा पनि सहकारीबाट ऋण लिएको भए पनि हाल सबै ऋण चुक्तागरेको उहाँको भनाई छ ।

शुभकामना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार ३२ जना कृषकले सहकारीबाट गाइभैसी खरिदका लागि ४२ लाख भन्दा ऋण लगेका छन् । साना किसान बैंक मार्फत अनुदानमा ल्याएको रकम ९ प्रतिशत र सहकारीको आफ्नो रकम १२ प्रतिशत सम्म ब्याजदरमा लगानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सहकारीमा दूधको खाता खोलेर नियमित रुपमा दूध ल्याउने कृषकलाई सहकारीले उनीहरुको खाता भएको रेकर्ड अनुसार पैसा पनि खातामै जम्मा गरिदिने गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । कृषकहरुले पालेका गाइभैसीको दूध संकलन गर्दा पैसा चलायमान हुने र कृषकहरु पनि आम्दानी सँग जोडिने भएकाले पनि दूग्ध संकलन तथा बिक्रीको काम सहकारीले गर्ने गरेको उहाँको भनाई छ ।

स्थानीय ठग्दै ठेकेदार ! रासनपानीको चेक दिए तर साटिएन

म्याग्दीमा निर्माण ब्यवसायीबाट मजदुर र स्थानीय ब्यवसायी ठगिने क्रम रोकिएको छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरदेखि मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको पैसा समेत नदिइ भाग्ने ठेकेदारबाट स्थानीय हैरानीमा परेपछि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्

म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको भन्दै पैसा नभएको चेक दिएर भागेपछि स्थानीय ब्यवसायीले जिल्ला प्रशासन कार्यालयमा सहयोग मागेका छन् ।

निर्माण ब्यवसायी अर्गेजाले लक्ष्मी चपाईलाई रासनपानी प्रयोग गरेबापत बि.स २०८० साल भदौ ७ गते अर्गेजा कन्स्ट्रक्सनको नामबाट२ लाख ६८ हजार, ठेकेदार अर्गेजाले मालिका गाउँपालिका–५थापाचौरकी कल्पना खत्रीलाई ५५ हजार ९सय,सनदेबी पूर्जाको ५० हजारको चेक दिएका थिए ।

निर्माण ब्यवसायी अर्गेजाबाट अन्य स्थानीय ब्यवसायी समेत समस्यामा परेको पीडितहरुको भनाई छ । थापाचौर, दरबाङ बजार तथा आसपासका क्षेत्रका ब्यवसायीबाट समेत उधारो खाएर भागेकाको खोजीकार्य हालसम्म कुनै चासो नभएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत सहयोग मागेको दरबाङकी ब्यवसायी लक्ष्मी चपाईको भनाई छ ।

म्याग्दीमा साना ठुला निर्माण क्षेत्रमा काम गरेका मजदुर र ब्यवसायीलाई ठेकेदारले समस्या दिने गरेको भन्दै यसअगाडी समेत प्रशासन र प्रहरीमा सहयोगको याचना गर्ने गरिएको थियो ।

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकको अनुगमनमा गएका जनप्रतिनिधि सहित सरोकारवाला निकायले समेत स्थानीय ब्यवसायीको समस्यालाई बेवास्ता गरेका थिए ।

सडक उद्घाटन र हस्तान्तरणको हतारमा स्थानीय ब्यवसायीको समस्यालाई जनप्रतिनिधिले समते आँखा चिम्लिएको स्थानीयको गुनासो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरी ०८० साल माघ महिनामा सडक नै हस्तान्तरण गरिएको थियो ।

यसैबीच पूर्वाधार कार्यालय म्याग्दीले निर्माण ब्यवसायीलाई भुक्तानी गरिसकेको जनाएको छ । सडकखण्डको काम सम्पन्न भएपछि भुक्तानी मुख्य ठेकेदारलाई गर्ने र उक्त सडकखण्डमा तिर्नुपर्ने निर्माण ब्यवसायीसँग आफ्नो कुनै सम्बन्ध नहुने कार्यालयले जनाएको छ ।

यता निर्माण ब्यवसायी अर्गेजालाई प्रहरीको सहयोगमा भएपनि उपस्थिती गराएर भुक्तानी दिने वतावारण बनाउने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्माण ब्यवसायी मछुमन अर्गेजा बागलुङको बुर्तिवाङ क्षेत्रका बसोबास गर्ने बताइएको छ ।

बागलुङमा एलिना चौहानको ‘छुट्यो पिरिम’

गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको तीन महिना नबित्दै बागलुङ आएर गीत गाउँदा एलिनाले सयौंको माया पाइन् ।

वास्तविक जीवनमा उनको मायाप्रेम छुटेपनि गीतसंगीत प्रतिको लगाव र बागलुङको माया भने झनै बढेको शुक्रवारको प्रस्तुतीले देखायो । उनको वास्तविक जीवन र डिभोर्स एकातिर भएपनि गीतसंगीत सबैको साझा हो । बागलुङका आम दर्शक र श्रोताले भने उनको प्रस्तुती र गीतमा वास्तविक जीवनमा मेल खाएझै अनुभव गरे ।

सातादेखि बागलुङमा आयोजित चैतेदशै तथा नयाँ बर्ष मेलामा आइपुगेकी चौहानले ‘छुट्यो पिरिम’ गीत गाएर दर्शकलाई भावुक बनाइन् । त्यसो त उनका बर्षौ पुराना ‘धोकेबाज हौ तिमी’, ‘मेरो छुनुमुनु हौ’, ‘तिमिले धोका दियौ भने कट्टा हान्दिन्छु’ जस्ता गीत चर्चित छन् । शुक्रवार बागलुङ एकता क्लबले आयोजना गरेको मेलामा उनले यस्तै गीत गाइन् । एकबर्ष बागलुङेकी बुहारी भएर बसेकी चौहानले आफ्नो बिगत त केही बोलिनन् । तर उनका जति गीत प्रस्तुत भए अधिकांस वास्तविक जीवनमा मेल खाएझै थिए ।

मञ्चमा उभिंदा दर्शकले के भन्लान भन्ने धेरैको चासो थियो । तर गायिका चौहान आउने प्रतिक्षामा बसेका सयौं दर्शकले ताली बजाएर समर्थन गरे । उनले पनि आफ्नो व्यक्तिगत धारणा केही राखिनन् । बरु ‘धोका दिनेलाई कट्टा हान्दिने हो’ भन्दै कट्टाको धेरै अर्थ बताइन् । ‘कट्टालाई कसैले बन्दुक भन्छन्, कसैले बाल मतलब नदिने हो भन्छन्, म भने कट्टा हान्नेमा मायानै माया दिने हो’ उनले भनिन्, ‘मेरो कट्टाले धोका दिनेलाई पनि पछुतो होस् ।’ यति धारणा मात्रै राखेर उनले मंचमा दर्जन गीत गाइन्

‘मिनिरल वाटर’, ‘गोदावरी बनैमा’, ‘कुराकाट्ने मान्छेले काटुन्’ जस्ता गीतमा दर्शकहरु छमछमी नाँचे । हरेक गीतमा तरर ताली बजे । ‘कट्टा हान्दिन्छु’ र ‘छुट्यो पिरिम’ गाउदा वान्स मोरको बर्षा भयो । तर उनले ती गीत दोहो¥याइनन् । गायक दुर्गेस थापालाई सम्झेर उनले समेत साथ दिएको ‘दुश्मन हेरेको हे¥र्यै’ गीत भने दुइपटक गाइन् ।

चैतेदशैको अबसरमा चैत १९ गतेदेखि नै बागलुङ कालीका मन्दिर परिसरमा मेला संचालनमा छ । साथै यो मेलालाई नै नया बर्ष सम्म लम्ब्याउन बागलुङ एकता क्लबले मेलामै विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । यो मेलामा भने लोकगीत संगतीका स्रस्टा मात्र नभइ विभिन्न व्याण्डका पप गायक समेत बोलाइएको क्लबका अध्यक्ष इन्सान थापाले बताए । अंग्रेजी र नेपाली नयाबर्षमा पोखरा धाउनेहरुलाई जिल्लामै रोकेर मनोरञ्जन दिन चैतेदशै मेलामा थप कार्यक्रम जोडेको उनले जानकारी दिए ।

 

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन

चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको हो । शनिबार चैतेदशैको दिन मात्रै ११ लाख ८१ ह्जार रुपैयाँ भेटी संकलन भएको बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

बागलुङ कालीका मन्दिरलाई गण्डकी प्रदेशकै प्रसिद्द शक्तीपिठको रुपमा चिनिन्छ । यो अबधिमा कालीका मन्दिरमा ७ लाख दर्शनार्थी आएको समेत खड्काको अनुमान छ ।

कालीका मन्दिरमा आउने भक्तजनले पशु बलि पनि दिन्छन् । बोका, राँगा, कुखुरा बली दिंदा मुढको रकम समेत तिर्छन् । त्यस्तै मन्दिरमा चढ्ने अन्य जिन्सी सामानको हिसाब सार्वजनिक गर्ने गरिएको छ । गुठीले हरेक दिनको भेटी बोर्डमा लेखेर पनि टाँस्ने गरेको छ । चैतेदशैको अवसरमा गुठीले भलिबल प्रतियोगिता, सांगितीक कार्यक्रम पनि गरेको थियो । झण्डै ५० लाख बराबरको खर्च हुने अनुमान गरिएको मेला सोमबार सकिएको छ । गुठीले केही दिनमै सबै हिसाव सार्वजनिक गर्ने तयारी गरेको छ ।

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई

म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा गत चैत्र २५ गते बिहानदेखि सम्पर्कविहिन भएपछि खोजीकार्य गरिएपनि अझै फेला नपरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

‘गहिरो दुःखका साथ हृदयविदारक खवरमार्फत हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन’ सेभेन समिटले भन्यो ।

बेपत्ता भएलगत्तै ५ शेर्पाहरूको सहयोगमा २ वटा खोज हेलिकप्टर तैनाथ गरेको अवस्थामा पनि कुनै प्रगति नभएपछि थप शेर्पाहरुको ज्यान जोखिममा पार्न नसक्ने भन्दै खोजीकार्य स्थगित गरी रिमा र निमालाई भाबपूर्ण बिदाई गरिएको जनाएको छ ।

हिँउपहिरोमा हराएपछि निरन्तर हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भएपनि फेला पार्न नसकिएको सेभेन समिट ट्रेकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । मौसम अत्यन्तै खराब भएकाले उद्धारमा समस्या भइरहेको छ । क्याम्प २ र ३ को बीचमा निरन्तर रूपमा ठुलो हिउँपहिरोमा परेर बेपत्ता भएको अनुमान गरिएको छ । हेलिकप्टर, ड्रोन क्यामेरा सहित अन्य उपकरणहरु समेत प्रयोग गरिएको थियो ।

बेपत्ता रिमा र निमाको टोलीसँगै आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारिएको छ। हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका यात्राका लागि सहज हुने भर्याङ सहित डोरी र अन्य संरचनाहरु समेत छियाछिया भएकाले थप तयार गरी आरोहण गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण आधार क्षेत्रमा रहेका आरोही दलका सदस्यहरुको भनाई छ ।

यसै साता सोमबार बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल भएका थिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकोप्टरमार्फत थप तयारी गरिएको छ ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन्। नेपालमा रहेका हिमालहरु मध्ये जोखिममा अन्नपूर्ण पनि पर्छ । यस क्षेत्रमा आरोहणको क्रममा छिनछिनमा हिमपहिरोको सामाना गर्नुपर्ने भएकाले सतर्कता अपनाएरै आरोहण गर्ने गरिन्छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथमलाई नेपालको जेठो हिमाल भनिन्छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ।

बेनी नगरमा दुई विद्यालयको नतिजा शून्य, ११ विद्यालय कमजोर

बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्ये दुई वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ ।

नगरपालिकाले हालै मात्र प्रकाशित गरेको कक्षा ८ को नतिजामा बेनी नगरपालिका वडा नम्बर १ स्थित भानु माध्यमिक विद्यालय रत्नेचौर र वडा नम्बर ३ भकिम्लीको बालप्रिय शारादा आधारभूत विद्यालयको नतिजा शून्य भएको छ । भानु माविबाट ११ र बालप्रियबाट सात जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । नगरपालिकाले प्रश्नपत्र तयार पार्नुका साथै नगरपालिकामै उत्तरपुस्तीका परीक्षण गरिएको नगरका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो ।

शिक्षा शाखाले दिएको जानकारी अनुसार परीक्षामा एक संस्थागत र १० वटा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर देखिएको छ । ति विद्यालयहरुले पचास प्रतिशत विद्यार्थी पनि कक्षा ८ को परीक्षामा उत्तीर्ण गराउन सकेनन् ।

शिक्षा शाखाका अधिकृत ढकालले दिएको जानकारी अनुसार बालमन्दिर आधारभूत विद्यालयबाट १२ जना परीक्षामा सहभागी भएकोमा जम्मा पाँच जना उत्तीर्ण भए । बुद्ध एकेडेमी विद्यालय बगरफाँटबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा चार जना उत्तीर्ण भए । धौलागिरी मावि सिङ्गामा २३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १० जना मात्र उत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।

यसैगरी, जडभरत शालग्राम गण्डकी संस्कृति विद्यालयबाट ११ जना परीक्षामा सहभागी भएकोमा जम्मा ६ जना उत्तीर्ण भए । जयन्ती मावि भकिम्लीबाट १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा दुई जना मात्र उतीर्ण भए । मुसुङडोले आधारभूत विद्यालयबाट १० जना सहभागी भएकोमा चार जना विद्यार्थी उत्तीर्ण भए ।

पौलत्स्य माविबाट नौ जना विद्यार्थी सहभागी भएकोमा दुई जना उत्तीर्ण भए । रामचन्द्र माविबाट ११ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा तीन जना मात्र उत्तीर्ण भए । यसैगरी, २९ जना परीक्षामा सहभागी भएको सरस्वती मावि सिंगाबाट आठ जना मात्र उत्तीर्ण भए भने उज्यालो वैकल्पिक विद्यालयबाट सात जना परीक्षामा सहभागी भएकोमा एक जना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत ढकालले जानकारी दिनुभयो ।

गत वर्ष हामीले पाँच विषयमा पाँच÷पाँच अङ्क ग्रेसमार्क दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए उहाँले भन्नुभयो, ‘‘यसपटक हामीले ग्रेस मार्क नदिँदा ७२.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा सुधार भएको मान्न सकिन्छ । तर केही विद्यालयको नतिजा अत्यन्तै कमजोर देखिएको छ ।

परीक्षामा सहभागी आठ सय ८४ विद्यार्थी मध्य ६ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार विद्यालयले संचालन गर्ने ग्रेड वृद्धिको परीक्षामा एकसय ७३ जना विद्यार्थी सहभागी हुँदै छन् ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु

मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ ।

शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

‘‘तत्कालै घाईतेको उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो, अचेत अवस्थामा रहेको घाईतेलाई चिकित्सकले मृत घोषित गरे’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

बालिकाको मृत्यु भएपछि यात्रामा आएकाहरु शोकमा डुबेका छन् । यात्राको क्रममा यात्रुले झ्यालबाट टाउको बाहिर निकालेर हेर्दा दुर्घटना हुने गरेको छ ।

विगतमा समेत पर्यटकीयस्थलमा जाने क्रममा झ्यालबाट टाउको निकाल्ने, फोटो खिच्ने क्रममा पर्यटक घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले निजी तथा सार्वजनिक यातायातको साधनमा आवतजावत गर्दा सुरक्षा सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

सुनमा आज पनि भारी बृद्धि, ताेलाकाे १ लाख ८५ हजार

आज पनि सुनकाे भाउमा भारी बृद्धि भएकाे छ । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सुनको बिहीबारकाे मूल्यलाई उछिनेर एतिहासिक रेकर्ड बनाएको छ । बितेका दुई कारोबार दिनदेखि सुनको मूल्यमा भारि बृद्धि भइ रेकर्ड ब्रेक भएकाे छ ।

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा काराेबार भएको थियो ।