Tuesday, June 10, 2025
23.4 C
Beni
23.4 C
Beni
Tuesday, June 10, 2025
Home Blog Page 75

म्याग्दीमा यसवर्ष सुन्तलाको उत्पादन बढ्यो

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो केही वर्षदेखि यता सुन्तलाको उत्पादन बढ्न थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा व्यावसायिक रुपमा सुन्तला खेतीलाई जोड दिएपछि उत्पादनमा वृद्धि हुँदै गएको हो ।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर कुल ४ हजार ७ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । जिल्लाको हालसम्म कुल ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको छ भने त्यसमध्ये ४ सय २५ हेक्टर क्षेत्रफलको सुन्तला खेतीले उत्पादन दिएको छ ।

प्रति हेक्टर ११ दशमलव २५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसवर्ष उत्पादित सुन्तलाको सरदर हिसाबमा प्रति केजी ७० देखि ७५ रुपैयाँको दरले जिल्लामा कुल ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको कुल सुन्तलाको परिमाणमध्ये ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिर खपत हुने गरेको उहाँले बताउनुभयो ।

म्याग्दी जिल्लामा उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, चितवन, धादिङ र काठमाडौं रहेको केन्द्र प्रमुख बाँस्तोलाको भनाइ छ ।

सुन्तला पाक्न थालेपछि व्यापारीहरु खरिद गर्नका लागि किसानको बगैंचामा नै पुग्ने गरेका छन् । म्याग्दीको बेनी नगरपालिकामा ३ नम्बर वडाको भकिम्ली, मरेक, राखु, ४ नम्बर वडाको बास्कुना, थामडाँडा, ९ नम्बर वडाको काउलेगौंडा, नेप्टेचौर, अन्नपूर्ण गाउँपालिकाको हिस्तान, दोसल्ले, घार, दाना, दोवा, नारच्याङ, रघुगंगाको राखुपिप्ले, भगवती, मंगलाको बरंजा, भोर्लेनी र अर्मन सुन्तलाको पकेट क्षेत्र मानिन्छन् ।

यसैगरी मालिकाको विम, देवीस्थान, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम र धारापानी क्षेत्र सुन्तला उत्पादनको हिसाबले अब्बल मानिने कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दी जिल्लाका व्यावसायिक सुन्तला उत्पादक किसानहरुले स्थानीय जातको सुन्तलाको खेती गर्दै आइरहेका छन् । विगतका वर्षहरुको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा धेरै वृद्धि भएको कृषि प्राविधिहरुको भनाइ छ । वर्षेनी जिल्लामा सुन्तला खेती विस्तार हुनुका साथै उत्पादन समेत बढ्दै गैरहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो ।

यसवर्ष सुन्तला उत्पादन बढ्नुमा रोग तथा किराको प्रकोप नियन्त्रण, मौसम अनुकुल, सुन्तला खेतीको क्षेत्रफल विस्तार, बगैंचा सुदृढीकरण कार्यक्रम र किसानहरुलाई आवश्यक तालिम, गोष्ठी दिनुका साथै बिऊमल, विषादी, औजार–उपकरण र अनुदान सहयोग भएकाले उत्पादनमा वृद्धि भएको जनाइएको छ । हिमाली जिल्लामा सूचीकृत भए पनि म्याग्दीमा व्यावसायिक सुन्तला खेती फस्टाउँदै जान थालेपछि गण्डकी प्रदेश सरकारले सुन्तलाजात फलफुल उत्पादनमा विशेष जोड दिएको छ । म्याग्दीलाई आलु खेतीपछि नगदे बालीतर्फ सुुन्तला धेरै उत्पादन हुने जिल्लाको रुपमा लिन थालिएको छ ।

कृषि ज्ञान केन्द्रले स्थलगत रुपमा सुन्तलाको बगैंचामा पुगेर किसानहरुलाई आवश्यक प्राविधिक ज्ञानलगायत कृषि औजार तथा उपकरणमा सहयोग गरिरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले किसानहरुलाई लक्षित गरेर कृषि उत्पादन सम्बन्धी विभिन्न कार्यक्रमहरुमार्फत प्रोत्साहन तथा अनुदान सहयोग गरेपछि विदेशबाट फर्किएका किसानहरु समेत व्यावसायिक तरिकाले कृषि, फलफुल र पशुपालनको क्षेत्रतर्फ आकर्षित भएर लागिपरेका छन् ।

किसानहरुले अन्न उत्पादन हुने पाखोबारी तथा खेतलाई मासेर सुन्तला खेतीमा रुपान्तरण गरेका छन् । विगतमा धान, मकै, कोदो, जौ, तोरी, ऊवा, फापरलगायत खाद्यान्न बाली उत्पादन हुने जग्गामा अचेल व्यावसायिक रुपमा सुन्तलालगायत नगदे बालीको उत्पादन हुँदै आएको छ । सुन्तला खेती म्याग्देली किसानहरुको मुख्य आम्दानीको स्रोतका रुपमा विकास भैरहेको छ । सुन्तला खेतीबाट सामान्य किसानले न्यूनतम ५०÷६० हजारदेखि अधिकतम दशप्रन्ध लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान काठमाण्डौमा अवतरण

अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाण्डौमा अवतरण भएको छ ।

अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

यो चार्टर विमानले १० जना नेपाली काठमाण्डौ ल्याउने भनिए पनि अहिलेसम्म यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।

आज काठमाण्डौ आइपुगेको चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने जनाएको थियो । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।

निष्कासित भएकाहरूमध्ये गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानूनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई आफ्नै देश फर्काउने क्रमले तीव्रता पाएको छ ।

नेपालसँगै भारतलगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।

फोब्स पत्रिकाद्वारा आयोजना गरिएको विश्वका ७२ देशमा युवा प्रतिस्पर्धामा, नेपाली चेली भावनाले मागिन भोट

 नेपाली चेली भावना खत्री यतिबेला उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका हुनुहुन्छ ।

अमेरिकाको फोब्स पत्रिकाद्वारा आयोजना गरिएको  ENTREPRENEUR of IMPACT नामक प्रतियोगितामा आफुलाई प्रतिस्पर्धाको सदस्यका रुपमा आफुलाई उभ्याउन सफल भएकछिन् ।

संसारभरिबाट ७४ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका उक्त प्रतियोगितामा नेपालको तर्फबाट एक मात्र एक नेपाली प्रतिस्पर्धी हुन् ।

नेपाली चेली खत्री पछिल्लो समय टप  ८ भित्र पर्दै क्वाटर फाईनलमा प्रवेश गरिसक्नु भएको छ । भावना खत्रीलाई प्रथम स्थानमा ल्याई हामी नेपालीको आन,मान,सान र नाम विश्वभरी चिनाउनको पुन एक पटक एक फेसबुक मार्फत निस्शुल्क भोट सेवामा सहभागी हुन पर्ने आवश्यकता छ ।

भोटका लागि २४/२४ घण्टा को अन्तरमा फेसबुक मार्फत नि:शुल्क भोट गर्न पाउने व्यवस्था रहेकोले भावना खत्री (Bhawana Khatri) र बुबा टोप खत्री ( Toop Khatri) नामको फेसबुकबाट शेयर गरिएको Is Bhawana Khatri the Entrepreneur of Impact नामको लिंकलाई खोली नि:शुल्क भोट गर्न खत्रीको प्रचार प्रसारमा जुटेको आयोजक समुहका सदस्यहरुले अनुरोध गर्नु भएको छ ।

यस प्रतियोगिताको विजेताले अमेरिकी डलर २५ हजार समेत जिती त्यहाँबाट आफ्नो जिवन यात्रा अघि बढाउने छन् ।

खत्री अमेरिकाको न्युयोर्कमा रहेको क्लाकशन युनिभर्सिटीमा क्ष्त् तर्फ ब्याचलर लेभलमा अध्य्ययनरत हुनुहुन्छ ।

भावना खत्रीलाई फेसबुक मार्फत नि:शुल्क भोट गर्ने लिंक तल उल्लेख गरिएको छ ।

https://entrepreneurofimpact.org/2025/bhawana-khatri?fbclid=IwY2xjawIz5gtleHRuA2FlbQIxMQABHbHhMyQ98gUaDD-z6mmCXJBPPkLjMRMmZ5tGk4mDJ-MU0wk-5KTTTGjhsQ_aem_noXv4F8IRbemmXDgR73wnw

 

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा बागलुङ बिजेता र म्याग्दी उपविजेता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८१’ मा  बाग्लुंग बिजेता बनेको छ त्यसैगरी प्रतियोगितामा म्याग्दी दोश्रो भएको छ । ४२ वटा लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ सर्वोत्कृष्ट भएको हो ।

बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट भएका हुन । उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित खुला दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो ।म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेका छन् ।

यस्तै, अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली चितवन र नवलपुर क्रमश: तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार तेह्रथुम जिल्लाका पुरुष कलाकार र भावना अर्याल उत्कृष्ट नव गायिका बन्दै सबैले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल र गायिका कालिकोटका महिला कलाकारले प्राप्त गरे ।

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गरे । श्रोत : गण्डकी न्युज 

आठ दिन श्रमदानबाटै सिँचाइ योजना मर्मत

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन्। चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरूले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन्।

गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए।

उनका अनुसार, ३५ घरधुरीबाट एक/एक जनाले श्रमदान गरेका थिए। यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्याङ्कीको आउटलेटबाट डेढ इञ्चको पाइप थप गरिएको समितिले जनाएको छ।

सचिव सुनारका अनुसार श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छ। रासस

बलमुक्तेश्वर शिवालयको जग्गा खोज्दै स्थानीय

म्याग्दीको बेनी नगरपालिका-७,लक्ष्मीनाराण टोल विकास समितिका तत्कालिन अध्यक्ष अविरकुमार श्रेष्ठले बलमुक्तेश्वर शिवालय मन्दिरको महत्वपूर्ण जग्गा अतिक्रमण भएको गुनासो गर्न लागेको बषौं भयो तर खोजीकार्य भएको छैन । आफ्नै आँखाले देखेको मन्दिरको जग्गा २ रोपनी ५ आना बढी जग्गा चार दशक यता खुम्चिएर अहिले १ रोपनी ४ आनामा झरेको छ ।

मानव बस्तीको विस्तारसँगै बेनीबजारबासीले वि.सं १९०७ साल वैशाख ३ गते निर्माण भएकोमन्दिरमा राखिएको घण्टीमा कुँदिएको अभिलेखमा देखिन्छ। मन्दिर आसपासका क्षेत्रमा बस्ती विस्तारसँगै बि.स २०४० साल यता जग्गा अतिक्रमण भएको अगुवा श्रेष्ठको भनाई छ । ‘मन्दिरको जग्गा खोज्नुपर्छ, जग्गा घटेको घट्यै छ’ अगुवा श्रेष्ठले भने ।

त्रिदण्डी स्वामी हिमालय बाबाको स्वागतमा आयोजित कार्यक्रममा मन्दिरको जग्गा संरक्षणमा सरोकारवाला निकायको भूमिका कमजोर भएको स्थानीयबासीको गुनासो थियो ।

यता बलमुक्तेश्वर शिवालय व्यवस्थापन समितिका अध्यक्ष पहलबहादुर खत्रीले ऐतिहासिक तथा पुरातात्विक महत्वको मन्दिर व्यवस्थापनका लागि गुठीको जग्गा खोजीमा लागेको बताए । ‘मन्दिरको नाममा हुनुपर्ने दुई सय रोपनीभन्दा बढी जग्गा हो, सामुदायिक संस्थाले प्रयोग गरेका बाहेक पनि धेरै जग्गाहरू हराएको छ’ अध्यक्ष खत्रीले भने । उनले मन्दिरको जग्गा व्यक्तिले भोगचलन गर्दै आएको अवस्थामा कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताए ।

‘मन्दिरको जग्गा धेरै भए पनि त्यसबाट आम्दानी भने शून्य छ,‘अब व्यक्तिगत किनबेच र अतिक्रमणलाई रोक्नुपर्छ’ अध्यक्ष खत्रीले भने । खत्रीले बेनी नगरपालिकामा खोजीकार्यका लागि अनुरोध सहितको निवेदन दिएकोमा समुदायले नै हस्तान्तरण गरेको जिल्लाको पहिलो म्याग्दी बहुमुखी क्याम्पसको ४५ रोपनी २ आनासँगै बेनी नगरपालिका–९ तीनमानेमा ५ रोपनी र जलजला गाउँपालिका पर्वतमा १६५ रोपनी गुठी रहेको दावी गरिएको छ ।

स्थानीय समुदायले म्याग्दी बहुमुखी क्याम्पसको जग्गा समुदायकै पहलमा हस्तान्तरण भएकाले बहसलाई प्राथमिकता नदिने बताएका छन् ।म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले भने शिवालय गुठीको जग्गा प्रयोग गरेको भएर लक्ष्मीनारायण मन्दिरलाई वार्षिक रुपमा १२ हजार उपलब्ध गराउँदै आएको बताए ।

यता बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्दिरको जग्गा खोजी र संरक्षणमा प्रतिबद्ध रहेको बताए। ‘प्रमाणहरू खोज्नुपर्छ, हामीले बोलेर भन्दा पनि प्रमाणसहित प्रक्रियामा जानुपर्छ’ अध्यक्ष श्रेष्ठले भने । उनले लक्ष्मीनाराण र बलमुक्तेश्वर शिवालय मन्दिर एकै ठाउँमा भएकाले संरक्षणका लागि नगरपालिका सक्रिय रहेको बताए । तत्कालिन समयमा धीर समशेरले निर्माण गरेर निजी गुठी बनाएकोमा मन्दिरको व्यवस्थापन तथा जीर्णोद्धार खड्गबहादुर कुँवर राणाबाट भएको बताइन्छ ।

धर्मपत्नीको सम्झनामा मंगला शिक्षा क्याम्पसलाई सहयोग

म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको ‘घर, एक दान’ अभियान मा एक ब्यक्तिले स्वर्गीय धर्मपत्नीको स्मृतिमा २ लाख बढी सहयोग गर्नुभएको छ ।

मंगला गापा-१ भर्जुला निवासी समाजसेवी एवम् क्याम्पसका वरिष्ठ सदस्य क्या. जोग बहादुर शेरपुन्जाले धर्मपत्नी स्वः बर्तमाया शेरपुन्जाको बार्षिकी कर्मकाण्ड को दान दक्षिणा गर्ने क्रममा २ लाख २५ हजार आर्थिक संयोजक यशुदा रोका, वडा नं २ का वडा अध्यक्ष एवम् सञ्चालक समिति सदस्य धनबहादुर खाती,क्याम्पस प्रमुख पितम बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

बार्षिकी कर्मकाण्डको दान दक्षिणा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा सहयोग गदैं आगामी दिनमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभएको क्याम्पस प्रमुख खत्रीले बताउनुभयो । समाजसेवी शेरपुञ्जाले यसअगाडी पनि क्याम्पसलाई ५० हजार सहयोग गर्नुभएको थियो । कुल २ लाख ७५ हजार सहयोग गरी आजिवन सदस्यता सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संयोजक रोकाले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा थाइबाङ आधारभुत विद्यालयकी पूर्व प्रधानाध्यापक देवी पूर्जा र लक्षमण पूर्जाले क्याम्पसलाई ५० हजार ५५५ सहयोग गरी बरिष्ठ सदस्य बन्नुभएको छ । भर्जुलामा रहेको हिमाली टोल समुहले क्याम्पस परिवारलाई ५ हजार ५५ सहयोग हस्तान्तरण गर्नुभएको थियो । हालसम्म क्याम्पसको अक्षय कोषमा ५६ लाख संकलन भएको छ ।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्वकालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।

क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।

पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।

हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा दुई सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।

गरिमा बैंकको किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम

गरिमा विकास बैंक दरबाङ शाखाले बिमस्थित किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मालिका गाउँपालिका–७, बिममा रहेको विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकलाई वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

वित्तिय साक्षरता कार्यक्रममा बैंकका रिजनल म्यानेजर कमलप्रसाद ढुंगानाले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो।

पश्चिम म्याग्दीका बस्तीहरुमा पुगेर सेवा दिइरहेको बैंकले विद्यार्थीलाई बचतको महत्वका बारेमा जानकारी गराउँदै आएको बैंकमार्फत हुने सेवा र सम्रग वित्तिय अवस्थाका बारेमा सहभागीलाई जानकारी गराएको रिजनल म्यानेजर ढुंगानाको भनाई छ ।

कार्यक्रममा १ सयभन्दा बढीको सहभागिता रहेको थियो । सोही अवसरमा विद्यालयलाई वित्तिय उत्तरदाहित्व अन्तरगत शुद्ध पिउने पानीका लागि ’वाटर डिस्पेन्सर’ वितरण गरिएको थियो । गरिमाको म्याग्दीमा बेनीबजार, बावियाचौर, दरबाङ, पोखरेबगर गरी चार शाखा रहेको छ ।

बजार मूल्य २४ करोड ३० लाख, आविष्कार केन्द्रको खर्च २३ लाख २० हजार

राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत गरेको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग गत भदौ १८ गते भएको सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले १७ मध्ये १० वटा संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गरिदिएको हो ।

६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकोमा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किँरातीले बताए । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उनले जानकारी दिए ।

‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौं,’ उनले भने । उनका अनुसार यसले सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको छ । ‘बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार छौं,’ उनले भने ।

केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन् । ‘कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,’ उनले भने, ‘ती सबैको मर्मत भएको छ ।’

केन्द्रका प्रमुख महावीर पुनले हालसम्म पाँच सय उपकरण मर्मत भएको भन्दै यसबाट राज्यको करोडौं रुपैयाँ बचत भएको बताए । सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रीज्युको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुरुप अहिलेसम्म ५ सय जति उपकरण मर्मत गरेको र करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट छ ।’

स्वास्थ्य मन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिंदै सहकार्य जारी रहने बताएका छन् । ‘संघीय अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण यो सहयोगका लािग धेरै धन्यवाद महावीर दाइ । मर्मत भएका उपकरणका कारण पहिलेभन्दा धेरैले सहयोग पाउने वातावरण बनेको छ,’ मन्त्री पौडेलले लेखेका छन्, ‘स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने हाम्रो अभियानमा तपाईंसँगको साथ र सहकार्य निरन्तर रहनेछ ।’ nagariknews.com

प्रभुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ ।

प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा मेडिटेसनस्थलको पूर्वाधार तयार पारिएको जानकारी दिनुभयो ।

“परापूर्वकालमा ऋषिमुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो”, योग प्रशिक्षकसमेत रहनुभएका उहाँले भन्नुभयो, “बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेलामा पूर्वाधार तयार भएको छ ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु ५० लाख बजेटबाट ध्यान केन्द्रस्थल वरपर घेराबार, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । रु २८ लाख खर्चेर गोलो आकारको ध्यान गर्ने भवन निर्माण भएको छ । स्थानीय काठ, ढुङ्गामाटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमवासीले सहयोग गरेका अध्यक्ष जुग्जालीले बताउनुभयो ।

पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताउनुुभयो । “प्रभुुचेलाको धार्मिक महत्व नबुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयवासीले गाईभँैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए”, उहाँले भन्नुभयो, “प्राकृतिक हिसाबले सुन्दर र मनमोहक रहेको प्रभुचेलामा नियमित ध्यानकेन्द्र सञ्चालनको तयारीमा छौँ ।”

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण भएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो । बिमगाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङबाट प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनुभएको छ । पलवीर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनर्निर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनुभएको छ । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किँदा आश्रय लिन सहज भएको छ । समुद्र सतहबाट दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । प्रभुुचेलालाई ध्यान केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएको म्याग्दी क्षेत्र नं १ ९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो । रासस