मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिकामा रहेका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

भलिबल, एथलेटिक्स र कवड्डी बिधाका खेलमा प्रतिस्पर्धा गराइने गाउँपालिकाको शिक्षा शाखाका संयोजक तेजप्रसाद लामिछानेले बताउनुभयो । प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित क्रमश पचास हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । भलिबल, कवड्डी र एथलेटिक्समा प्रथम, दितृय र तृतीय हुने विद्यालयलाई पनी दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाइएको १५०० मिटरको दौडको छात्रतर्फ जनप्रिय माविका पेम सिर्पाली प्रथम, भिम माविका सुजन घर्ती दृतीय र केवी एकेडेमीका विश्वास पुन तृतीय भएका छन् । यसैगरी १५०० मिटर छात्रा दौडमा भिम माविकी बिमला फगामी प्रथम, केवी एकेडेमीकी बिमला फगामी दृतीय र सिद्धार्थ मावि च्युरीबोटकी रोजिना थापामगर तृतीय भएका छन् । अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता, उपाध्यक्ष खरमाया बिटालुको स्वागत र जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतियोगिता संयोजक तथा दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । तस्वीरहरु सन्तोष गौतम