घायलश्री/हजार वर्ष पुरानो अन्धकार नै किन नहोस, जब एउटा मात्र दियो बल्छ तब सारा अन्धकार हटेर जान्छ । हट्नैपर्छ अन्धकार । एउटा बलेको दियोबाट हजार अरु हजारौं दियोहरु बाल्न सकिन्छ । तपाईंको जीवनमा पनि हजारौं मानिसहरु आउलान्, कराउलान् । तपाईंको विरुद्धमा नारावाजी गर्लान् यदि तपाईं असल बाटो हिड्नु भएको छ भने तपाईंलाई साथदिने कोही न कोही एक जना अवस्य भेट्नु हुनेछ । त्यसैले तपाईं हजारांै नकारात्मक आवाज होइन, आशा जगाउने एउटा आवाज बन्नूहोस् ।

भगवान् अर्थात् अस्तित्वले पनि कुनै योजना बनाएको छ तपाईंको लागि । सिएनएन हिरो पुष्पा बस्नेतसँग कुनै विशेष क्वालिटी वा क्षमता थिएन । सुपरमोडल जस्तो कुनै पर्सनालिटी थिएन । पढाइमा पनि त्यति अब्वल होइनन् उनी तर अस्तित्वका लागि योजना थियो उनीसँग । आफूसँग भएको त्यही सामान्य सेवा भावलाई समाएर महान बनिन् । यस्ता योजना हामीहरुसँग पनि प्रशस्त छन् । हाम्रा लागि पनि प्रशस्त छन् ।

हाटखुट्टले राम्रोसँग काम नगर्ने, राम्रोसँग बोल्न र सुन्न नसक्ने झमककुमारीले मदन पुरस्कार समेत पाइन् । हो, उनीसँग आँट र साहस थियो र अहिले पनि छ । तपाईंहरुसँग भएको सामान्य सीपहरु, कामहरु नै महान बन्न सक्छन् । काम आफैंमा सानो वा ठूलो हुँदैन, आफूले जिम्मा लिएको काम वा गर्न लागेको काम कति निपूर्णताले गर्छ त्यसैमा उसको मूल्याङ्कन हुने गर्दछ । अन्त्त्यमा त्यही कामले नै उसलाई सफल बनाउँछ, महान बनाउँछ ।

एउटा एघार वर्षे बालक आफैं स्कुल जान्थ्यो, एक्लै खेल्थ्यो अनि भ–याङहरु चढ्ने र ओर्लने गथ्र्यो । आफनो सम्पूर्ण काम ऊ आफै गथ्र्यो तर आँखा देख्दैनथ्यो । एकपटक उसले आफ्नी आमासँग प्रस्न गरेको थियो– ‘म किन अन्धो भएँ आमा ?’ त्यतिबेला उसकी आमाले छोरालाई भनेकी थिइन्– ‘छोरा ! तिमी जन्मिदा नै यस्तै जन्मिएका थियौ । यसमा कसैको पनि दोष छैन ।’ फेरि छोराले सोध्यो– ‘म नै किन यस्तो भएर जन्मिएँ ?’ आमाले भनिन्– ‘मलाई थाहा छैन छोेरा तिमी किन यस्तो भएर जन्मियौ !

तर मलाई लाग्छ, तिम्रा लागि भगवानले कुनै न कुनै योजना बनाएका छन् ।’ कुरा बुझन् गाह्रो छैन, त्यही आत्मबलले गर्दा नै बालक आफैं हिड्न र दौडिन सकेको हो । अब एकपटक तपाईं आफूलाई प्रस्न गर्नुहोस् कि तपाईंको आफ्नो कमजोरी के हो ? कुरा प्रष्ट छ कि हाम्रो सवभन्दा ठूलो कमजोरी हो आफूलाई कम सोच्नु, कमजोर सोच्नु । आफूलाई कमजोर सोच्ने मतमा विस्वास गर्नु ।

आफूलाई हीन ठान्नु, नाथे सम्झनु । म जाबोले के पो गर्न सक्छुर ? भन्ने कुरामा विस्वास गर्नाले नै हामी धेरै ठाउँमा असफल भएका छौं । हामी सपना देख्न डराउँछौँ । ठूला योजना बनाउन डराउँछौँ । आफूलाई नाथे र म के गर्न सक्छुर भनेर नै गर्नसक्ने आफ्नो आत्मविस्वास गुमाएकाछौँ हामी । त्यसैले आजैदेखि आफूलाई कमजोर नसम्झनुहोस् । आफूभित्रको कमजोरपन हटाएर म पनि सक्छु भन्ने भावना पाल्नुहोस् । आज नसके पनि भोलित अवस्य सकिन्छ ।
म्याग्दी सञ्चार साप्ताहिक