गाउँघरमा हुने बिबाह,पास्नी तथा सार्वजनिक कार्यक्रमबाट प्राप्त हुने आम्दानीबाट वचत गरेको म्याग्दीको एक बाजा समूहले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु १ लाख आर्थिक सहयोग गरेको छ ।
म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महाविर पुनलाई रु १ लाख आर्थिक सहयोग गरेको हो ।
शुक्रवार (आज) बेगबाट पोखरा नै गएर बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामी,थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा महाविर पुनलाई भेटि सो रकम हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा रघुगंगा गाउँपालिका १ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगतरुपमा रु १० हजार प्रदान गर्नुभएको थियो ।      पुनले सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।
‘आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ,‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने । उनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए । उनले केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको बताए । केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको बताए । केन्द्रलाइ स्वदेश तथा बिदेश मा रहेका म्याग्देली सहित नेपालीहरुले बिभिन्न समय मा ब्यक्तिगत तथा संस्थागत सहयोग गर्दै आएका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।
नौमती बाजा समुहले बिबाह लगाएतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समुहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नको लागि कोषमा जम्मा गरि राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिनुभयो । फगामीका अनुसार बाजा समुहले गाउँमा निर्माणाधिन महादेव मा.वि.को भवन निर्माणका लागि रु १ लाख हस्तान्तरण गरिसकेको छ ।

Leave a Reply