म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट कुईनेमंगलेको पात्लेखर्कमा ९३ बर्षिय रि बहादुर घयाप्चन छन्त्याल गाउँमा मोटरबाटो पुगेपछि हर्षित भए। उमेरले डाँडा काटिसकेको अवस्थामा घर अगानमै मोटरबाटो पुगेपछि अर्का बृद्ध ८५ बर्षिय चित्र बहादुर पुन समेत फुरुङ्ग छन् । विगतमा सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा हिडेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयले खुसीयाली मनाएका छन् ।

‘गाउँमै मोटरबाटो आयो,‘अब पैदल हिडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुदैछ’ स्थानीय बृद्धबृद्धाले भने । गाउँपालिका भित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजना अन्र्तरगत १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभुत आवश्यकता पुरा गर्ने बताए ।

‘गाउँमा सडक पुगेपछि तपाईहरुको अनुहारमा मैले चमक देखे,‘यसलाई कमी हुन दिने छैन्’ प्रमुख भण्डारीले भने । उनले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताए । सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, नेपाली कांग्रेसका यूवा नेता एवम् स्थानीय ओम छन्त्यालले बोलेका थिए। कुइनेमंगलेको पात्लेखर्कभन्दा माथि बस्ती छैन् । रघुगंगा गाउँपालिकाको वडा नं १ बेगखोला हुदै चिमखोला–खरीबोटध्यासीखर्क हुदै पात्लेखर्क पुगिन्छ । वडा अध्यक्ष गमान छन्त्याल गाउँपालिकाको वडा नं ८ को अन्तिम बस्तीमा सडक पुगेपछि स्थानीयलाई सहज भएको बताए ।

उनले सडक उद्घाटनको क्रममा ट्याक्टर पुगेपनि सदरमुकाम बेनी आवतजावत गर्ने निकट भविस्यमै जीप सेवासञ्चालन गर्ने बताए । गाउँमा कोही विरामी पर्दा पनि एम्बुलेन्स समेत आउने बाटो नहुँदाको दुख सम्झिएर सडक विस्तारको पहल गरेको अध्यक्ष छन्त्यालको भनाई छ ।

यसैबीच निर्माण उपभोक्ता समितीका अध्यक्ष यूवराज छन्त्यालले ट्याक खोलेपछि भविस्यमा नियमित बजेटमा समेत सघाउन अनुरोध गरेका थिए । सडक सञ्जालको विस्तारसँगै आसपासका बस्तीहरु समेत गरी करिव २ सय घर लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । सोही अवसरमा ध्यासीखर्कदेखि चौरखानी जाने पदमार्ग ५ लाखको पदमार्गको समेत अनुगमन गरिएको थियो ।

Leave a Reply