जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलाका स्वर्गीय हस्तबहादुर र उनकी धर्मपत्न नेत्रकुमारी गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। नेकपा रघुगंगा गाउँपालिकाद्धारा पार्टी कार्यालय हाँडेभिरमा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेलले पार्टीको इमान्दार कार्यकर्ता एवम् विकासप्रेमी हस्त दम्पत्तीको निधनले पार्टी र रघुगंगा क्षेत्रको विकासमा अपुरणीय क्षति भएको बताए ।

‘एउटा असल योद्धालाई गुमाउनुपरेको छ,‘उहाँ निष्ठा र इमानको पर्याय नै हुनुहुन्थ्यो’ अध्यक्ष पौडेलले भने। सोही अवसरमा नेकपाका कार्यालय सदस्य बालकृष्ण सुबेदीले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र विकासप्रेमी नेता गुमाएको बताए। उनले पार्टीका गतिविधि बाहेक जिल्लाको समस्यालाई केन्द्रमा पहलमा खेलेको भूमिकाको समेत सम्झना गरेका थिए।

विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय रहेका गबुर्जाले पूर्व महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्री थममायाँ थापाको स्वकिय सचिवको रुपमा कार्यरत हुदाँ जिल्लाको विकासमा खेलेको प्रयासको चर्चा गरिएको थियो । कार्यक्रममा नेकपा रघुगंगा कमिटीका सदस्य गम पुनले स्वर्गीय गर्बुजा दम्पत्तीको जन्मदेखि मृत्युुसम्मका विविध पक्ष, पारिवारिक अवस्था लगायतका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा स्वर्गीय गबूर्जाका दाजु दुत गर्बुजाले बोेलेका थिए । रघुगंगा कमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, सचिव हरि भण्डारीको सञ्चालनमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा जिल्लास्तरका नेता तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । गर्बुजा दम्पत्तीको गएको माघ १५ गते ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिएर बाथरूममा नुहाउने क्रममा निसास्सिए ज्यान गएको थियो ।

Leave a Reply