म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामको नांगीराम्चे दोभानको जंगल असिनाले हिउँजस्तै सेताम्मे बनेका छन् । कोरोना भाइरसको त्रासले ग्रामिण क्षेत्रमा समेत मानिसहरू घरभित्रै बन्दीजस्तै बनिरहेको अवस्थामा नयाँ बर्षकै पहिलो दिन रातभर असिनासहित परेको मुसलधारे वर्षाले बनजंगलसँगै भुई समेत सेताम्मे भएको छ । ‘एकाविहानै हिमपात भएजस्तो लागेको थियो,‘सबै तिर असिनापानी रहेछ’ जनता मावि दग्नामका प्रधानाध्यापक गुन पुनले बेनीअनलाइनलाई भने । उनले हिमपातजस्तै सेताम्मे असिनाले गाउँका अन्नबाली सखाप पारेको बताए । उनले अन्नबालीसँगै चराचुरुङ्गी समेत मरेको अवस्थामा भेटिएको बताए । खेतबारीमा अन्नबाली उठाउनै नसक्ने गरी क्षती पुगेपछि स्थानीय चिन्तित भएका छन् । कोरोना भाइरसका कारण लकडाउनले बजार क्षेत्रमा समेत खाद्यान्नको समस्या भइरहेको अवस्थामा आलु, गहुँजौं लगायतका अन्नपातमा समेत असर गरेको स्थानीय यूवा मोहन तिलिजाले बताए । ‘नयाँ बर्षको पहिलो दिनमै ठूलो क्षतीको सामाना गर्नुपर्यो, खेतीपातीमा अहिलेसम्मकै ठूलो असर गरेको छ’ तिलिजाले भने । उनले खेतबारीको छेउछाउमा असिनाको थुप्रो रहेको बताए । स्थानीय यूवाहरुले जनप्रतिनिधिहरुसँग मिलेर क्षतीको विवरण संकलन समेत सुरु गरेका छन् । गाउँपालिकाको वडा नं २ भगवतीमा समेत खेतीपातीसँगै घर समेत चर्किएको छ भने सडक अवरुद्ध भएको छ । खेतबारीसँगै घरभित्र राखिएको अन्नबालीमा समेत क्षती पुगेपछि जनप्रतिनिधिहरुको टोलीले अनुगमन सुरु गरेका छन् । जिल्लाभित्र समेत बर्षा र असिनापानीले पारेको असरका बारेमा बुझ्ने प्रयास भइरहेको छ ।

Leave a Reply