बिहीबार देशका विभिन्न जिल्लाबाट म्याग्दीतर्फ प्रस्थान गरेका यात्रुलाई लक्षित गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले होम क्वारेन्टाइन बस्नुपर्ने मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ ।

शुक्रबार विहान विभिन्न जिल्लाबाट भित्रिने यात्रुलाई कालिपुलमा रहेको होल्डिङ सेन्टरमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मामा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘कोरोनामुक्त जिल्लामा अव थप चुनौती थपिएको छ,‘सेल्फ क्वारेन्टाइनमा बस्न अटेर गर्नेलाई स्थानीयतहको क्वारेन्टाइनमा राखिने छ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

सक्रिय कोरोना संक्रमित मुक्त जिल्लामा लामो दुरीबाट आउने यात्रुबाट समुदायस्तरमा कोरोना फैलिनसक्ने जोखिमलाई मध्यनजर गरी यातायात ब्यवसायीले काठमाण्डौ लगायतका स्थानमा यात्रुको नाम, ठेगाना, सम्बन्धित वडाको जनप्रतिनिधिको नम्बर लिएर जिल्लामा आइनपुग्दै पठाउने पर्नेछ ।

जिल्लाबाट सम्बन्धित पालिकाका जनप्रतिनिधि र होल्डिङ सेन्टरमा रहेका कर्मचारीमार्फत घरसम्म पुर्याएर स्थानीय वडाका प्रतिनिधिमार्फत होम क्वारेन्टाइनमा बसेको बारेमा निगरानी राख्ने गरी नयाँ मापदण्ड बनाइएको छ ।

प्रजिअ अधिकारीले उक्त मापदण्डका बारेमा यातायात ब्यवसायीसँग छलफल समेत गरिसक्नुभएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । म्याग्दीमा धेरै यात्रु आउने काठमाण्डौ र तराईका जिल्ला कोरोना संक्रमणको रेड जोनमा छन् ।

‘रेड जोनबाट ग्रिन जोनमा आउने यात्रुलाई निगरानी नगरे समुदायमा कोरोना फैलिनसक्छ,‘अव होम क्वारेन्टाइनमा बस्नेलाई समुदायले पनि निगरानी गर्नुपर्ने अवस्था आएको छ’ स्वास्थ्य कार्यालयमा प्रमुख एकनारायण लम्सालले भन्नुभयो ।

काठमाण्डौमा समुदायमै कोरोना फैलिएको अवस्थामा जिल्लामा भित्रिने यात्रुबाट त्रसित नभई यात्रुले नै मापदण्ड अनुसार घरमा सुरक्षित बस्ने, समुदायमा घुलमिल नहुने जस्ता मापदण्डको प्रयोग गर्नुपर्ने लम्सालको भनाई छ । ‘१४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नैपर्छ,‘गम्भीर हिसाबले नलिने हो भने स्थिति भयावह हुनसक्छ’ लम्सालले भन्नुभयो ।

होम क्वारेन्टाइन बस्नुपर्नेहरु नबसेलाई स्थानीय तहको सहयोगमा नियन्त्रणमा लिएर क्वारेन्टाइन राख्ने चेतावनी समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले दिएको छ ।

म्याग्दीमा हालसम्म ४९ जना संक्रमित भएकोमा सबै ४९ जनाले नै कोरोना जितेका छन् । एक प्रहरी बाहेक सबै विदेशबाट आएकामा संक्रमण देखिएकाले हालसम्म म्याग्दीमा समुदायस्तरमा कोरोना देखिएको छैन् ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो ।

उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply