सामाजिक काममा कृयाशिल संघ संस्थाहरु मध्ये जेसीज अग्रणी सामाजिक संस्थाको रुपमा चिनिन्छ । युवाहरुको नेतृत्व बिकास तथा क्षमता बिकास र समाजमा हुने हरेक कृयाकलापमा जेसीजमा आबद्ध युवाहरु अग्र पंक्तीमा रहन्छन् । बिधिको शासनलाई विश्वास गर्ने जेसीजले आँफु र संगठनलाई चुस्त राख्नका लागि सदस्यहरुलाई प्रेरीत गर्छ । जेसीजमा आबद्ध युवा तथा बयस्कहरुबाट हाम्रो समाजले पनि धेरै अपेक्षाहरु पालेको छ ।

संगठनमा रहेको हरेक खालका हदबन्दी, नेतृत्व प्रणालि र नेतृत्व पछिको उत्तरदायीत्व र जिम्मेबारी बोधले जेसीजमा आवद्ध भएकाहरुको गरिमा र स्वयं संगठनको गरिमा सधैं उच्च राख्न सक्छ । केही दिन पहिला मात्रै म्याग्दी जेसीजको अध्यक्षमा बिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी निर्वाचित हुने समयमा भएको जेसीजको भेला बिबादास्पद बन्यो ।

पवित्र संस्थाको भेला बिबादास्पद किन भयो ? के युवाहरुको चाहना अनुसार जेसीजले काम गर्न नसक्ने वातावरण नभएर हो ? अब गाउँ शहर सबै क्षेत्रका युवाहरुको सहभागिताका लागि जेसीजले के योजना बनाएको छ ?यी र यस्तै बिषयमा बर्ष २०२१ को अध्यक्ष बनेका श्रेष्ठसँग हरीकृष्ण गौतमले सम्बाद गरेका छन् । प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानीको संपादित अंश ।

१. म्याग्दी जेसीजको अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई छ ।
– यहाको रचनात्मक सल्लाह एवं सहयोगको अपेक्षा सहित धन्यवाद ।

२. म्याग्दी जेसीजमा किन आवद्ध हुने ?
– जेसीज भनेको १८ वर्ष देखी ४० वर्ष उमेर समुहका युवाहरुलाई समेटेर निरन्तर अगाडी वढिरहेको अन्तराष्ट्रिय संस्था हो । यस संस्थाले व्यक्तिको नभई विधिको शासनलाई उच्च प्राथमिकता दिइ विश्व वन्धुत्वको भावनालाई आत्मसाथ गर्दै विभिन्न तालिमको माध्यमवाट युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता तथा उद्यमशिलताको विकास गराउन कृयाशिल रहदै आएको छ । तसर्थ युवाहरुले आफुमा अन्तरनिहित व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिका लागि यस संस्थामा आवद्ध हुने हो ।

३. म्याग्दी जेसीजले मुख्य कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छ ?
–अन्तराष्ट्रिय जेसीज र नेपाल जेसीजले व्यक्तिगत, व्यवसायीक, सामुदायिक र अन्तराष्ट्रिय गरी ४ क्षेत्र विभाजन गरी कार्य गरीरहेको छ । म्याग्दी जेसीजले समेत यिनै चार क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो वर्ष भरीको कार्यक्रमलाई अगाडी वढाउने गरेको छ ।

४. अध्यक्ष भएर के के काम गर्ने योजना बनाउनुभएको छ ?
– यस वर्ष गर्नुपर्ने कामहरु धेरै छन् । जस्तै
* सचिवालय तथा संस्थाको भौतिक संरचनाको सुरक्षा/व्यवस्थापन ।
* जिल्लामा अध्ययनरत विद्यार्थीहरुको सपनाको रुपमा रहेको लोकनृत्य, फुटवल लगायत विद्यालय/विद्यार्थी लक्षित कार्यक्रमहरु ।
* युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने तालिमहरु ।
* स्वास्थ्य शिविर लगायत स्वास्थ्य क्षेत्रसँग सम्वन्धीत कार्य ।
* विपन्न वालवालिका तथा वृद्धहरुकालागि सहयोगमूलक कार्यक्रम ।
* हाजिरीजवाफ, निवन्ध लेखन, चित्रकला, वक्तृत्वकला प्रतियोगिता लगायत विद्यालय पुस्तकालय सहयोग कार्यक्रमहरु ।

५. कोरोनाले रोकिएका संस्थाका नियमित कार्यक्रमहरु हजुरको कार्यकालमा सम्भव छ ?
– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण सरकारले वन्देज गरेको भिडभाडयुक्त कार्यक्रम वाहेक अन्य कार्यक्रमहरु वर्ष २०२० मा सम्पन्न भएकै हो । कोरोनाका कारण म्याग्दी जेसीजले गर्ने वहुप्रतिष्ठीत सत्रौ सस्करणको लोक नृत्य र १९ औ सस्करणको फुटवल प्रतियोगिता संचालन गर्न सम्भव भएन । वर्ष २०२१ मा संस्थाका नियमित र नयाँ सवै कार्यक्रमहरु निर्वाध संचालन हुनेछन् । साथै कोरोना महामारी पुनः दोहोरिएमा तथा त्यस प्रकारका अन्य रोग देखिएको अवस्थामा पनि संस्थाले विगतमा संचालन गरेका अधिकांश कार्यक्रमहरुलाई परिस्कृत गरी डिजिटल माध्यमवाट गर्न सकिने र गरिने कुरा जानकारी गराउन चाहन्छु ।
६. लामो इतिहास बोकेको संस्थामा आजिवन सदस्यको संख्या १ सय नाध्न समेत मुस्किल छ, कारण के होला ?
– यस संस्थामा विधानत साधारण सदस्य, एसोसियट सदस्य, मानार्थ सदस्य र सहयोगी सदस्य गरी जम्मा चार प्रकारका सदस्यहरु रहन्छन् । जहासम्म सदस्य संख्याको कुरा छ, यस संस्थामा व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृयाशिल हुनेगरी युवाहरु सहभागी हुने गर्दछन् । यो संस्था युवा वर्ग लक्षित रहेको र वर्तमान अवस्थामा जिल्लामा रहेका वहुसंख्यक युवाहरु अध्ययन तथा रोजगारीका क्रममा विदेश तथा जिल्ला वाहिर रहने गरेको कारण संख्यामा केही कमी देखिएको हो । यस कारण यस वर्ष जिल्लामा रहेका धेरै भन्दा धेरै युवाहरुलाई समेटेर लैजाने योजना वनाएका छौ ।

७. यसपटकको जेसीजको अधिवेशन किन विवादमा तानियो ?
– यस पटकको अधिवेशनमा भएका कुराहरुलाई विवादको रुपमा लिनु हुदैन कि? भन्न चाहन्छु म । किन भने यो विवाद भन्दा पनि विचारको मन्थन हो जस्तो लाग्छ मलाई ।

८. संस्थाका पूर्व अध्यक्षको कार्यसम्पादनप्रति असन्तुष्ट जनाउने अवस्थालाई सामान्य रुपमा लिन सकिन्छ त ?
– संस्थाको नेतृत्व लिदै गर्दा तथा वार्षिक कार्यतालिका अनुसारका कार्यक्रमहरु संचालन गर्दै गर्दा नवुझिएका र अस्पष्ट भएका कुराहरुका विषयमा अभिभावकका हिसावले पूर्व अध्यक्षहरुवाट सल्लाह सुझाव लिने गरिन्छ । कार्यक्रम संचालनका विषयमा पूर्व अध्यक्षहरुवाट हस्तक्षेप भएको जस्तो लाग्दैन । कार्यसम्पादन संचालक समितिले गर्ने हो पूर्व अध्यक्षहरुले भनेको राय सल्लाह सुझाव मात्र दिने हो । जहासम्म असन्तुष्टिको विषय भनेको अधिवेशनको समयमा आएर पूर्व अध्यक्षहरु सकृय भएर हस्तक्षेपकारी भूमिका निर्वाह गरे भन्ने छ, त्यो हस्तक्षेप नभई सहमतीको प्रयास हो जस्तो लाग्छ । सन्तुष्टि र असन्तुष्टि आ–आफ्नो वुझाइको कुरा हो ।

९. संस्थामा सामुहिक राजिनामा बुझाएका सदस्यहरुबाट समस्याको कारण खोज्ने तर्फ ध्यान दिइएन भन्ने गुनासो पनि छ ।
– यस पटकको अधिवेशनका क्रममा आएको सामुहिक राजिनामाको सन्दर्भमा शव्द चयनमा कमजोरी भएको हो कि भन्ने लाग्छ मलाई । उक्त पत्र राजिनामाको रुपमा नभई ध्यानाकर्षणको रुपमा आउनु पथ्र्यो जस्तो लाग्छ । तथापी असन्तुष्ट जेसी मित्रहरुले औल्याउनु भएका समस्याका सम्वन्धमा सम्वन्धित पक्षवाट के कति पहलकदमी भए त्यो उहाँहरुवाट नै आउला ।
तपाईकै मिडिया मार्फत म के विश्वास दिलाउन चाहन्छु भने यस वर्षको नेतृत्वको जिम्मेवारी वहन गर्दै गर्दा मेरो तर्फवाट उहाहरुलाई समेट्ने हरसम्भव प्रयास हुनेछ ।

१०. म्याग्दी जेसीजमा यूवाहरुको आर्कषण बढाउन कस्ता योजनाहरु बनाउनुभएको छ त ?
– जेसीज आफैमा गैर नाफामूलक र गैरव्यवसायीक संस्था हो । यसमा आवद्ध हुने युवाहरुको मुख्य उद्देश्य आफुमा अन्तरनिहित व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने नै हो । त्यसैले वर्ष २०२१ को यो टिमले यस वर्ष व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि हुने तालिमहरु संचालन गरी युवाहरुलाई समेट्ने योजना वनाएका छौ ।

११) सदस्यहरु अधिकांस बजार क्षेत्रकै छन्, ग्रामिण क्षेत्रका यूवालाई समेट्न तर्फ तपाईको ध्यान जान्छ कि जादैन् ।
– जहासम्म अधिकांश सदस्य वजार क्षेत्रका छन् भन्ने कुरा छ त्यसमा पूर्ण सत्यता छैन । किनभने यसमा सदरमुकाम भन्दा वाहिर स्थायी वसोवास रही विभिन्न प्रयोजनमा सदरमुकाममा रहेका युवाहरुको समुह समेत रहेको छ । मैलेपनि तपाईले भने जस्तै ग्रामिण क्षेत्रमा नै रहेका युवाहरुको संख्यामा भने कमी रहेको महशुस गरेको छु । त्यसैले यस वर्ष विभिन्न तालिम तथा अन्य प्रभावकारी कार्यक्रमहरुको माध्यमवाट ग्रामिण क्षेत्रमा रहेका युवाहरुलाई समेट्ने गरी कार्यक्रमको तयारी गरेको छु ।

१२. एउटा समान्य आर्थिक अवस्था भएको यूवाले जेसीजको खर्च धान्न सक्छ त ?
– सजिलै सक्छ । यस संस्थामा आवद्ध सदस्यहरुले विशेष गरेर आर्थिक भन्दा पनि समयको लगानी वढी गर्ने हो । सामान्यतया जेसीजमा आवद्ध भएको युवाले वर्षभरीमा सदस्यता शुल्क, राष्ट्रिय महाधिवेशन र क्षेत्रीय सम्मेलनमा सहभागिता तथा शाखाले गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा १२ देखि १५ हजार खर्च गरे पुग्छ ।

१३. अन्त्यमा के भन्न चाहनुहुन्छ ।
–म्याग्दी जेसीजले विभिन्न तालिमको माध्यमवाट संस्थामा आवद्ध सदस्यहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गरी सवल र योग्य वनाई समाजमा हस्तान्तरण गर्ने अभियानलाई जारी राखीरहेको छ । तसर्थ जिल्लामा मौजुदा वर्तमान युवा जनशक्तिलाई जेसीजमा आवद्ध भै यस अभियानमा हातेमालो गर्न अनुरोध गर्न चाहन्छु ।
साथै मलाई आफ्ना केही विचारहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा तपाई र तपाईको संचार गृहलाई पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।

 

Leave a Reply