कोरोना भाइरसविरुद्धको खोप लगाउन पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१,गूर्जाबाट बेनी अस्पतालमा आएकी महिला स्वास्थ्य स्वयंमसेविका विष्णुमायाँ छन्त्यालले कोरोना बिरुद्धको अभियानमा गाउँमा दर्जनौ गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाईन् । करिब दुईदशक देखि स्वयंमसेविकाको जिम्मेबारीमा सक्रिय छन्त्यालले कोरोनाबाट जोगिन सरकारले गरेको लामो लकडाउनमा समेत समुदायस्तरमा पुगेर जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरिन् ।

जिल्लाकै अति विकट बस्तीसम्म कोरोनाको संक्रमण पुग्न नदिन छन्त्यालसँगै महिला स्वयंमसेविकाको भूमिकाको उच्च प्रशंसा हुने गरेको छ। कोरोनाको जनचेतनामुलक कार्यहरुमा सक्रिय रहेकी छन्त्याल कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको कोभिशिल्ड नामक खोप लगाउन गूर्जाको टोलीसँगै बेनीमा आएको अवसरमा बेनी अनलाइनका हरिकृष्ण गौतमले गरेको कुराकानी ।

कोरोनाविरुद्धको खोप लगाउँदा कस्तो महसुस भयो ?
म्याग्दीमा पनि कोरोनाको खोप आएको खवर मैले पाए । स्वास्थ्य कार्यालयबाट सबै महिला स्वयंमसेविकाहरुलाई पनि लगाउने जानकारी गराउँदा सुरुमा डर लागेको थियो। गूर्जाबाट खोप लगाउन बेनी जानुपर्ने, खोपले असर गर्छ कि भन्ने लागिरहेको अवस्थामा बेनी अस्पतालका डाक्टरहरुले नै पहिलो खोप लगाएको समाचार सुनेपछि ढुक्क भए । स्वास्थ्य कार्यालयबाट जानकारी आएपछि गूर्जा स्वास्थ्य चौकीका प्रतिनिधिहरुसँगै वडाका सबै स्वयंमसेविकाहरु बेनी आएर लगायौं । करिब आधा घण्टासम्म अस्पतालभित्रै बसेर फर्किएका छौ ।

खोप कत्तिको सुरक्षित हुन्छ जस्तो लाग्छ ?
खोपका बारेमा धेरै नकारात्मक हुने अवस्था आएन् । हामी सबैले खोप लगाउनुभन्दा अगाडी डाक्टर र स्वास्थ्यकर्मीलाई यसका बारेमा बुझ्ने प्रयास गरेका थियौं । खोपका बारेमा उहाँहरुले धेरै जानकारी दिनुभयो । खोपले ७० प्रतिशत भन्दा माथि काम गर्छ भन्ने जानकारी पाएपछि ढुक्क भए ।

हाम्रो टोलीमा सबैभन्दा पहिला महिले नै लगाए र सबैलाई ढुक्क हुने अवस्था बनाए । खोप लगाइसकेपछि एक किसिमको सुरक्षा महसुस गरेको छु । अव एक महिनापछि पुनः बेनी आउनुपर्छ भन्नुभएको छ । बालबालिकालाई पनि खोप लगाएर पूर्ण सुरक्षित नहुने भएकाले हामीले कोरोनाबाट जोगिने अन्य सुरक्षाका सावधानी अपनाउनुपर्छ । हामीले खोप लगाएपनि जनस्वास्थ्यका सावधानीहरु अपनाउँछौ ।

बेनीमा आएर खोप लगाउँदा कस्तो महशुस भयो ?
बालबालिकालाई खोप लगाउँदै हिड्ने हामीहरुले कोरोनाको खोप लगाउन पाउँदा धेरै खुसी लागेको छ । कोरोनाको खोप बेनीमा आएको खवर सुनेपछि कहिले लगाउन पाइन्छ भन्ने लागेको थियो। ‘कोभिशिल्ड’ खोप अग्रपंक्तिमा खटिनेमा हाम्रो नाम पनि रहेछ ।

गाउँमा समान्य सुविधा र पोशाक सरकारले दिएपनि आफ्नै खर्चमा जनताको सेवा गरिरहेको हामीलाई पनि सरकारले उच्च प्राथमिकता दिएकोमा धेरै उत्साहित भएको छु । म्याग्दीमा पनि कोरोनाकै कारण मृत्यु भएको खवर ढिलो गरी गूर्जामा जानकारी हुन्थ्यो। गूर्जामा कसैलाई पनि कोरोना देखिएन् । यस्तो अवस्थामा खोप लगाएर घर जाँदा सुरक्षित भएको महसुस गरेको छु । हामी सुरक्षित भएमात्रै समुदाय सुरक्षित हुन्छ ।

लगाइसकेपछि कस्तो भयो ?
हामी जस्ता अग्रपंक्तिमा काम गर्नेहरूलाई यो खोपले उर्जा थपिएको छ । खोप लगाएको ४५ मिनेटसम्म आराम गर्नु पर्ने रहेछ। खोप लगाउनु अघि डाक्टर, नर्सहरुले सम्झाउने बुझाउने गर्नु हुँदो रहेछ। अरु खोपजस्तै लगाएको ठाउँमा अलिकति दुख्यो। केही साथीहरुले त फरक महसुस गर्नुभएको थियो तर, पछि सबैले सामान्य सम्झिनुभयो । खोप लगाउन आएको अवसरमा हामीले अस्पतालका डाक्टरसँग भेटेर अन्य समस्याहरु पनि देखायौं ।

गाउँमा नियमित उपचारको अभाव थियो । सबै डाक्टरले निकै चासो दिएर सेवा दिनुभयो । हामी गाउँमा बसेर काम गरेकाहरुलाई डाक्टरहरुले पनि मायाँ गर्नुहुदो रहेछ । बिरामीको भिडबाट निस्किएर समेत समस्या बुझ्नुभयो । आफ्नो फोन नम्बर दिनुभयो, समस्या परेमा जतिबेला पनि खवर गर्नु भन्नुभयो । अब गाउँमा समस्या देखिएमा मैले उहाँहरुलाई फोन गरेर सुनाउँछु ।

महिला स्वंयमसेविका भएर तपाईले के–के काम गर्नुहुन्छ ?
हामीले आफ्नो जिम्मेबारी अनुसार काम गरिरहेका छौ । स्वास्थ्य सम्बन्धि सूचना तथा सञ्चारसम्बन्धी सन्देश वडाबासीलाई पु¥याउन र प्रेषण गर्ने, गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ गठन गर्ने, आमासमूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा छलफल गर्ने, आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व पोषण लगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धनमा गूर्जा स्वास्थ्य चौकीलाई सघाउने,विभिन्न खोप कार्यक्रमहरुमा परिचालन हुने जस्ता काम गर्ने गरेका छौ । नियमित खोप अभियानमा हामी स्वास्थ्यकर्मीभन्दा धेरै खटिनुपर्छ । सरकारको स्वास्थ्य संस्थालाई सघाउने सबै कामहरु हामीले गछौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामीलाई सरकारले कोरोना नियन्त्रणको अभियानमा मात्रै होईन गाउँका हरेक अभियानमा सधै खटाउने गरेको छ । तर, पनि सुविधाहरुमा भने हामीलाई धेरै प्राथमिकता दिएको देखिदैन् । फ्रन्टलाइनमा खटिएर काम गर्ने महिला स्वयंमसेविकाहरुले खोप लगाउन पनि ब्यक्तिगत खर्च गरेर आउनुपरेको छ। \हामीलाई कम्तिमा यातायात र खानाबस्नेको सुविधा दिएमा धेरै सहज हुने थियो ।

गूर्जाबाट बेनीसम्म आउन हामीले १० हजारसम्म खर्च गरेका छौ । आवतजावत गर्न पाँच दिन लाग्छ । दुर्गमका हामीलाई सरकारले यस्ता अभियानमा यातायात र खाना खर्च दिन सकेमा ब्यक्तिगत र घरबाट लिएर खर्च गर्नुपर्ने थिएन् । धेरै महिला स्वयंमसेविकाहरु घरखर्चमा सामाजिक काम गर्ने गरेका छन् । अव सुविधामा पनि सरकारले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।