विसंं २०५३ सालदेखि साधारण सदस्य र २०६५ मा कार्यकारिणी समितिको सदस्यका रुपमा संघको संस्थागत विकास र जिल्लाको आर्थिक सामाजिक क्षेत्रको विकासमा क्रियाशिल बेलबहादुर कटुवाल २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट सर्वसम्मतिमा अध्यक्षमा निर्वाचित भए । अध्यक्षको सपथ ग्रहण लगत्तै अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सबैको सल्लाह, सुझाव र सहकार्यबाट सफल हुने बताए। पूराना नियमित कामलाई निरन्तरता, ब्यवसायी र सम्रग जिल्लाको हितमा काम गर्ने बताएका छन् । यसै सन्र्दभमा बेनी साप्ताहिकले नवनिर्वाचत अध्यक्ष कटुवालसँग बेनीअनलाइनले गरेको कुराकानी

अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ ।
धन्यवाद !

म्याग्दी उद्योग वाणिज्य संघमा कहिले आवद्ध हुनुभयो ?
वि. संं. २०५३ सालदेखि साधारण सदस्य र २०६५ मा कार्यकारिणी समितिको सदस्यका रुपमाआवद्ध रही संघको संस्थागत विकास र जिल्लाको आर्थिक सामाजिक क्षेत्रको विकासमा क्रियाशिल रहँदै आईरहेको छु ।

निजी क्षेत्रको परिभाषा के हो, यसका साझेदारी निकायहरु को को हुन् ?
मुनाफाको उद्देश्य राखेर संचालनमा रहेका जुनकुनै निकाय, संस्थाहरु निजी क्षेत्रभित्र पर्दछन् । यसका साझेदार निकाय भनेको स्थानीय, प्रदेश, संघीय सरकार, औद्योगिक, व्यवसायीक प्रतिष्ठान, आम नागरिक समाज र सञ्चार जगत नै हो ।

जिल्लाको आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका के रहन्छ ?
म्याग्दी उद्योग वाणिज्य संघ आफू स्थापना भएदेखि नै निजी क्षेत्रको हक हितको संरक्षण गर्दै जिल्लाको आर्थिक विकासमा एक सशक्त साझेदार संस्थाका रुपमा आफूलाई परिचित गराएको छ । यसका उदाहरणका रुपमा विभिन्न मेला महोत्सव, तालिम, गोष्ठिहरु संचालन, भ्रमण बर्षको आयोजना, लभ्ली हिल पदमार्गको निर्माण, बहुउद्देश्यीय मैदान निर्माण, बेनीबजारमा मोटरेबल पुल नहुँदा म्याग्दी नदीमाथी अस्थायी मोटरेबल पुल निर्माण, मालढुंगा बेनी, बागलुङ बेनी मोटरबाटोहरु मर्मत, बेनीबजारमा सिसिटिभी क्यामेरा जडानलगायतका भौतिक पूर्वाधारहरु निर्माणमा विभिन्न निकायहरुसँग समन्वय र पैरवी, जिल्लाका सम्भावनाहरुको उजागर हुनेगरी ब्रोस्योर, स्मारिका प्रकाशनहरु आदी यसका उदाहरणका रुपमा लिन सकिन्छ ।

सरकारको अवधारणा सार्वजनिक निजी साझेदारी भन्ने गरिन्छ, यसको कार्यान्वयनमा म्याग्दीमानिजी र सरकारी क्षेत्रको भूमिका कस्तो रहेको पाउनुभएको छ?
सरकारले यो अवधारणा त ल्याएको छ तर स्थानीयस्तरको कुरा गर्ने हो भने हेर्न र देख्न लायकका परियोजनाहरुमा सार्वजनिक निजी साझेदारी अवधारणामा कार्य गर्न सरकारी तह एकदमै उदासिन देखिन्छ। यस्ता परियोजनाहरु निर्माणमा सरकारले निजी क्षेत्रसँग सहकार्यका लागि आब्हान गर्नुपर्दछ तर यहाँ ठिक उल्टो रहेको छ । निजी क्षेत्रले सरकारी निकायमा यस्ता परियोजनाहरु कार्यान्वयका लागि लिएर जानुपर्दछ ।

यसका बाबजुद् पनि म्याग्दीमा म्याग्दी उद्योग वाणिज्य संघको सक्रियतामा यस्ता हेर्न लायक परियोजनाहरु निर्माण भएका छन् जसको उदाहरणका रुपमा बेनी नगरपालिका, मोना आईईसी र यस संघको संयुक्त लगानीमा निर्मित मोना बेनी लभ्ली हिल पदमार्ग, बेनीबजारमा सिसिटिभी क्यामेरा जडानलाई लिन सकिन्छ । जिल्लाको आर्थिक बिकासमा म्याग्दी उद्योग वाणिज्य संघले सधैं अग्रणी भूमिका निर्बाह गर्दै आईरहेको छ र आगामी दिनहरुमा पनि गर्न चाहन्छ तर यस कार्यमा सरकारी पक्ष समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने अत्यन्त जरुरी देखिन्छ ।

अर्को पक्ष भनेको सरकारले लिएको ३ खम्बे अर्थनितीलाई हामीले सकारात्मक रुपमा लिएर सरकारलाई सबै पक्षबाट सहयोग पु¥याउदै आईरहेको कुरा सर्बविदितै छ तर वर्तमान अवस्थामा आएर निजी क्षेत्रको संलग्नतालाई महत्व दिन छोडेको हामीले महशुस गरेका छौं । साच्चिकै भन्ने हो देशको आर्थिक र सामाजिक विकासका लागि निजी क्षेत्रसँगको सहकार्यता अपरिहार्य छ ।

तपाईको कार्यकालमा मुख्य गरी कुन–कुन क्षेत्रमा केन्द्रित भएर काम गर्नुहुन्छ ?
म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी जिल्लाको समग्र निजी क्षेत्रको छाता र स्थापित संस्था हो । यसको आफ्नै कार्यपद्धति रहेकाछन् । मेरो कार्यकालले संघको संस्थागत विकास र संस्थागत क्रियाकलापहरुलाई निरन्तरता दिने नै छ भने यसका साथसाथै म्याग्दी जिल्ला पर्यटनको हबको रुपमा रहेको हामीविच अवगत नै छ ।

साच्चिकै जिल्लाको आर्थिक क्षेत्रको विकास गर्ने हो भने पर्यटन क्षेत्रको प्रबर्धन नै पहिलो प्राथमिकतामा रहने छ भने यससँग सँगै जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो, यसका लागि परम्परागत शैलिको कृषि उत्पादन, पशुपंक्षी पालन र जडिबुटिको व्यवसायीक उत्पादनका क्षेत्रमा समेत मेरो कार्यकाल केन्द्रित रहनेछ ।

यसका साथसाथै संघको विधानतः उद्योगी व्यवसायीहरुलाई आईपर्ने अप्ठेरा स्थितीहरुमा सम्बन्धित पक्षसँग समन्वयात्मक भूमिका निर्वाह गरी उनीहरुको हक र हितको संरक्षणका पक्षमा कार्य गरिनेछ । त्यसैगरी हाल सरकारले निजी क्षेत्रको प्रतिनिधीमूलक संस्थाहरुसँगको सहकार्यतामा अलि उदाशिनता देखाएको जस्तो देखिएकोले हरेक गतिविधिहरुमा उद्योग वाणिज्य संघलाई अनिवार्य संलग्नता बनाउनमा पहल गरिनेछ ।

सर्वसम्मतिमा अध्यक्षमा चयन भएको अवस्थामा तपाईलाई काम गर्न त पक्कै पनि सजिलो हुन्छ, तरपनि कोरोनाका कारण ब्यवसायीहरु समस्यामा छन्, यो अवस्थामा तपाईको भूमिका कस्तो हुन्छ ?
कोरोना संक्रमणले विश्व अर्थतन्त्रका बलिया राष्ट्रहरुलाई समेत असर पारेको हामी सबैलाई थाहा भएकै कुरा हो । यसले नेपालमा पनि आफ्नो असर त पक्कै देखाएकै छ । अन्य जिल्लको तुलनामा हाम्रो जिल्ला केही हदसम्म भएपनि कोरोना संक्रमण न्यून भएको जिल्ला हो । हो केही उद्योगी व्यवसायी साथीहरुलाई यस अवस्थामा असजता भएको पक्कै छ । उनीहरुको समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायहरुमा पहल थालिनेछ ।

म्याग्दी उवासंघले ब्यवसायी बाहेक अन्य गतिविधिमा धेरै ध्यान दियो भन्ने गुनासो पनि सुनिन्छ नी, तपाईको यसमा के छ भनाई ?
हो, झट्ट नाङ्गो आँखाले हेर्दा बाटो पुल निर्माण, फोहोर व्यवस्थापन, ग्याबिन जाली भर्ने, नाली व्यवस्थापन, सिसिटिभी जडान जस्ता कुराहरु सामाजिक क्षेत्रभित्र पर्दछन् तर एउटा उद्योगी व्यवसायीको नजरबाट हेर्ने हो भने हरेक उद्योगी व्यवसायीहरुका लागि यस्ता कुराहरु अपरिहार्य आवश्यकता भित्र पर्दछन् । फेरी एकातर्फ म्याग्दी उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीहरुको प्रतिनिधीमूलक संस्था हो भने अर्कोतर्फ यसले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि सम्पादन गर्नुपर्ने आजको आवश्यकता पनि हो । त्यस अनुरुप एउटा क्षेत्र, वर्ग, तहलाई मात्र नभै समग्र क्षेत्रको हितका लागि कार्य गर्नुपर्ने हुन्छ ।

आफ्ना व्यवसायीहरुको हक र हितको संरक्षणका लागि यस संघले हरदम प्रयास गर्दै आईरहेको छ भने सामाजिक क्षेत्रका कार्यहरुमा यस संघले नेतृत्व लिएतापनि जिल्लाका समग्र उद्योगी व्यवसायीहरुले नै गरेको हो भन्ने बुझिदिन आग्रह गर्न चाहन्छु ।

जस्तो कि संघले आफ्नो स्थापनाको ५० औ बर्ष उत्सवका रुपमा मनाईरहँदा भर्खरै सम्पन्न २७ औं बर्षिक साधारण सभा एवं ११ औं अधिवेशनका सुअवसर पारेर बेनीबजारको कालीपुलमा शिवजीको मुर्ति स्थापना गरिएको छ कतिपय महानुभावहरुले धर्मका नाममा अपव्याख्या पनि गर्नुभएको छ तर यस संघले उक्त कार्यलाई धार्मिक पर्यटनसँग जोडेर हेरिनुपर्दछ भन्ने हाम्रो मान्यता हो । त्यसैले सबै साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने हरेक क्रियाकलापहरुलाई उद्यमशिलता र व्यवसायीकताका नजरबाट हेर्ने गरौं ।

निजी क्षेत्रको प्रतिनिधि संस्था उवासंघ भएपनि ब्यवसायीले स्थानीय, प्रदेश र संघीय सरकारको मातहतका सरकारी कार्यालयबाट सास्ती खेप्नुपरेको गुनासो पनि गर्छन नी।
अवश्य पनि हो, कतिपय विषयहरुका कठिनाईलाई स्थानीय तहमा मिलाउन सकिने कुराहरुमा संघले समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेको कुरा यहाँहरु समक्ष राख्न चाहन्छु भने कतिपय राष्ट्रिय स्तरका समस्याहरु संघ एक्लैले समाधान गर्न सकिने विषय पक्कै होईनन् यसका लागि संघले स्थानीय, प्रदेश र संघिय सरकारहरुलाई आफ्ना तर्फबाट सुझाव र मागहरु प्रस्तुत गर्दै आईरहेको छ यस्ता कतिपय उदाहरणहरु हामी माँझ रहेका छन् जस्तो प्राईभेट फर्म दर्ता र नविकरण, आयकर तथा ढिला बिबरण र व्याज छुट जस्ता कुराहरु हामी जस्तौ जिल्ला नगर उवासंघहरु र नेपाल उद्योग वाणिज्य महासंघको पहलकदमीमा सम्पन्न भएको कुरापनि यहाँहरु माझ राख्न चाहन्छु ।

यहाँको कार्यकालमा म्याग्दीका सरकारी निकाय र उद्यमी ब्यवसायीहरुबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
हाम्रा आदरणीय साधारण सदस्य उद्योगी व्यवसायी मित्रहरुले विगतका दिनहरुमा झै वि. सं. २०७७–२०८० को मेरो कार्यकाललाई सफल र उदाहरणीय बनाउनमा सक्रिय सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु भने म्याग्दीका सरकारी निकायहरुबाट पनि सकारात्मक र सक्रिय सहयोगको अपेक्षा राखेको छु ।

ब्यवसायीलाई लक्षित गरी हितकोष स्थापना गर्नुभएको छ, कत्तिको प्रभावकारी छ यो अभियान ?
यो अभियान अत्यन्तै प्रभावकारी भएको छ । दुःखको समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्ने हुँदा यस कोषको परिकल्पना गरी स्थापना गरिएको हो । यस कोषको अक्षय रकम रु. १ करोड पुर्याउने लक्ष्य लिईएको छ भनेकोषमा सदस्यहरुको आवद्धतामा बृद्धि हुँदै गएको पनि छ साथसाथै सतप्रतिशत साधारण सदस्यहरुलाई यस कोषमा आवद्धता जनाईदिनका लागि पनि यहाँको लोकप्रिय मिडिया मार्फत सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरुलाई आग्रह गर्न चाहन्छु ।

म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि हरेक बर्ष काम हुन्छ तर, तपाईकै कार्यालयको पछाडी नदी कटानले जोखिममा पारेको छ, केही पहल गर्नुभएको छैन ?
म्याग्दीको महत्वपूर्ण स्थान बेनीबजारको संरक्षणका लागि लामो समयदेखि कार्यहरु गरिंदै आईरहेका छन्, यस कार्यमा यस संघले पनि आफू सक्दो आर्थिक र भौतिक सहयोग गर्दै आईरहेको पनि हो । हाल केही बर्ष अघिदेखि संरक्षणको गुरुयोजना निर्माण भई आवधिक रुपमा कार्यहरु गरिएका छन् तर ति योजनाहरु वातावरणीय मूल्यांकन नगरीकनै सम्पन्न गरिंदा संघको तलपट्टिको भागदेखि दोबिल्लासम्म निर्माण गरिएको रिटेनिङ्ग आरसिसि वाल नदीले बगाएको हामी सबैलाई थाहा भएकै बिषय हो ।

बारम्बार संघले उठान गर्दै आईरहेको बिषय पनि यही हो की भौगोलिक भु–बनोटलाई मध्यनजर गरी निर्माणको मोडालिटी परिवर्तन गरेर मात्र निर्माण गर्नुपर्दछ भनेर हामीले जोडदार माग राख्दै आईरहेका छौं । पहिला वाल निर्माण गरेर भत्किएको स्थानमा पुनः निर्माण गर्नका लागि टेण्डर आब्हान गरिएको कुरा जानकारी प्राप्त भएको छ भने फाष्ट ट्रयाकमा उक्त निर्माण गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

तपाईको नजरमा म्याग्दीमा कुन–कुन क्षेत्रमा लगानी भित्राउन सम्भव देख्नुहुन्छ ?
सभ्भावना नै सम्भावना बोकेको म्याग्दीमा मैले माथी भनेकै कुरा हो, पर्यटन, कृषि, पशु तथा वनजन्य, विद्युत उत्पादनका क्षेत्र नै लगानीका सम्भावना रहेका क्षेत्रहरु हुन्।

तपाईको कार्यकालमा म्याग्दी महोत्सव हुन्छ कि हुदैन त ?
कोरोनाका कारणले गर्दा यस बर्ष त सम्भव भएन नै । म्याग्दी महोत्सव र माघे संक्रान्ति मेला भनेका बिषय म्याग्दी उद्योग वाणिज्य संघको नियमित क्यालेण्डरभित्र रहेका बिषयहरु हुनाले महोत्सव अवश्य नै हुनेछ जिल्लाको समग्र क्षेत्रको उजागर गराउँदै आर्थिक क्षेत्रको प्रबर्धन गर्ने माध्यम नै म्याग्दी महोत्सव रहेको कुरा निवेदन गर्न चाहन्छु ।

ग्रामिण क्षेत्रमा रहेका साना उद्यमीहरुलाई संघले प्रोत्साहन गर्नुपर्ने भएपनि नजर नपुगेजस्तो देखिन्छ, साना उद्यमीको प्रोत्साहनका लागि तपाईको भूमिका कस्तो हुन्छ ?
संघले प्रोत्साहनका कार्यहरु नगरेको भने होईन अलि कमी भए होला, उनीहरुलाई प्रबर्धन गराउनका लागि संघले आयोजना गर्ने मेला महोत्सवहरुमा निःशुल्क स्टल उपलब्ध गराउने, विभिन्न विधामा प्रतियोगिता गराएर पुरस्कृत गर्ने, अन्य जिल्लाहरुमा हुने मेला महोत्सवमा निःशुल्क स्टलका पहल गरिएका, उत्पादित वस्तुले बजार नपाएको अवस्थामा बजारको खोजी गर्ने जस्ता क्रियाकलापहरु गरिदै आईरहेका छन् ।

अझै भन्नु पर्दा नेपाल संघीयतामा प्रबेश गरे लगत्तै संघले आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि जिल्लाका ५ ओटा गाउँपालिकाहरुमा बजार इकाई समितिहरु गठन गरिएको छन् । संघको मार्गनिर्देशन र स्थानीय आवश्यकता बमोजिम ति समितिहरुले क्रियाशिल भएर कार्य गरिरहेका छन् । जसअनुसार धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाहरुमा बजार इकाई समितिहरु स्थापित भएका छन् जसबाट संघको क्रियाशिलतामा थप प्रभावकारिता हुने हामीले अपेक्षा लिएका छौं ।

तपाई बेनी अस्पतालको अध्यक्ष समेत हुनुहुन्छ, अस्पताल भवन निर्माणमा चरम ढिलासुस्ती भइरहेको छ, यहाँ नेतृत्व सम्हालेपछि दवाव दिन थप सजिलो हुन्छ जस्तो लाग्छ ?
यो समस्या म्याग्दीको मात्र नभै नेपाल भरी नै रहेको छ । ठूला विकास निर्माणका परियोजनाहरुमा निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीहरुका कारण, नेपालको ऐन कानूनका कारण र अन्य विभिन्न कारणहरुबाट निर्माणका कार्यहरु ढिलाई भैरहेका कुरा तपाई हामी सबैमा जानकारी भएकै विषय हो ।

बेनी अस्पतालको कुरा गर्नुपर्दा मैले अध्यक्षता सम्हाले देखि नै सम्बन्धित विभिन्न निकायहरुमा तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नमा पहल गरिरहेकै छौं । मलाई आशा छ मेरै कार्यकालमा निर्माण कार्यले पूर्णता पाई नवनिर्मित भवनबाटै सेवा संचालन गर्न पाउने छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म्याग्दीका आम उद्योगी व्यवसायीहरुको प्रतिनिधीमूलक छाता संस्था म्याग्दी उद्योग वाणिज्य संघ जस्तो गरिमामय संस्थाको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदा म गौरन्वावित भएको छु । अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गर्नुहुने आम उद्योगी व्यवसायी साधारण सदस्यज्यूहरु, संघका पूर्व अध्यक्षज्यूहरु, निवर्तमान् अध्यक्ष एवं कार्यकारिणी समितिका सहकर्मी साथीहरु तपाई लगायतका आम सञ्चारकर्मी मित्रहरु लगायत प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्नुभएका सम्पूर्णमा आभार सहित धन्यवाद ज्ञापन गर्दछु ।

त्यसैगरी मेरो अध्यक्षताको कार्यकाल २०७७–२०८० लाई सफलिभूत एवं स्वर्णिम बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सक्रिय सहयोग, समर्थन र मार्ग निर्देशन प्राप्त हुनेछ भन्ने कुरामा विश्वस्त रहेको कुरा समेत यसै लोकप्रिय सञ्चार माध्यम मार्फत आम उद्योगी व्यवसायी मित्रहरु, सरकारी गैह्रसरकारी संस्था, कार्यालयहरु, स्थानीय निकायहरु, समाजसेवी, बुद्धिजिवी, नागरिक समाज र आम सञ्चारजगतमा सविनय आग्रह र अनुरोध गर्दै मेरा आफ्ना कुराहरु सार्वजनिक गर्नमा सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply