बेनी नगरपालिका-५,मा बहुचर्चित योजनाका रुपमा रहेको रामायण पार्क बन्ने भएको छ । करिब एकदशक अगाडी चर्चामा ल्याइएको रामायण पार्क निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेनी नगरपालिका साझेदारी कार्यक्रम अन्तरगत २ करोड १४ लाख बजेट विनियोजन गरेपछि नगरपालिकाको एउटा महत्वपूर्ण योजनाले गति लिने संकेत देखिएको छ ।

लामो समयसम्म छलफलमै समिति भएको पार्क बनाउने कार्यमा पछिल्लो समय बेनी नगरमा समेत चर्चा सेलाइरहेको अवस्थामा पर्यटन मन्त्रालयबाट एकैपटक ठूलो बजेट आउने भएपछि फेरी चर्चा सुरू भएको छ । पूर्व प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले क्रमागत बजेटमा समेत रामायण पार्कलाई समावेश गर्ने गरी बजेट बिनियोजन भएको बताए।

‘पर्यटनको क्षेत्रमा म्याग्दीलाई बजेट आउने क्रम रोकिएको छैन्,‘हामीले थप पर्यटकीय गन्तब्यमा बजेटको माग गरेका छौ’ सांसद थापाले भने ।उनले रामायण पार्कसँगै ठूला निजी क्षेत्रका लगानीहरु समेत भित्राउन सहज हुने बताए। ‘हरेकबर्ष म्याग्दीको पर्यटनमा बजेट आउने क्रम जारी छ,‘विश्वमै चर्चित पदमार्गहरुमा ठूलो बजेट भित्रिएको छ’सांसद थपााले भने।

उनले रामायण पार्कसँगै त्यहाँसम्म पुग्ने पदमार्ग, सडक कालोपत्रे, अन्य संघीय मन्त्रालय मातहतका कार्यालयबाट समेत योजनाहरु परेको बताए ।त्यस्तै प्रदेश सरकारले समेत पार्क बनाउन पहिलो चरणमा उक्त स्थानमा ५ लाख बजेट विनियोजन गरेको छ । यता बेनी नगरपालिकाकाले भने बजेट विनियोजनको जानकारी प्राप्त भएपनि लिखित जानकारी नआएको जनाएको छ।‘माननीय ज्यूबाट जानकारी पाएका छौ,‘थप विवरणहरु आएपछि मात्रै काम अगाडी बढाउँछौ’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले भने।

File video/benionline.tv

उनले यसअगाडी समेत नगरपालिकाबाट पार्कका लागि धेरै काम भएको बताए । ठूलो बजेट आवश्यकता पर्ने भएकाले नगरपालिकाकै पहलमा डिपिआर बनाएर संघीय र प्रदेश सभामा बजेट माग गरिएको बताए।रामायण पार्कका लागि डिभिजन बन कार्यालयले समेत चालु आवमा बजेट विनियोजन गरेको छ ।
पहिल्यै चर्चामा थियो
म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि रामायण पार्क बनाउने कुरा स्थानीय सरकार आउनुभन्दा पहिले म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ लगायतको टोलीले चर्चामा ल्याएका थिए । सोही भिजन अन्तरगत स्थानीय सरकार आएपछि नगरपालिकाले रामायण पार्क बनाउन गुरुयोजना पनि बनायो ।

तर पनि आजका दिनसम्म त्यो योजना भने नारामा मात्र सीमित हुन पुगेको थियो । निजी क्षेत्रबाट केवलकार विस्तारको सम्भावनासमेत रहेको पर्यटन व्यवसायीको भनाइ छ । यसरी यस क्षेत्रलाई एक आकर्षक धार्मिक गन्तव्यका रुपमा समेत विकास गर्न सकिन्छ ।उक्त योजना सफल नहुदाँ निराश रहेका अगुवाहरु अहिले भने निकै उत्साहित छन् ।

केही सिमित स्वार्थका कारण रोकिएको योजनाले अव गति लिने अवस्थामा पुगेको उद्योगपति श्रेष्ठले बताए । उनले रावणको जन्मभूमिको रुपमा चिनिएको स्थानमा पार्क बनाउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने बताए नगरपालिकाले तीन वर्ष बृहत् आयोजना प्रतिवेदन (डिपिआर) मा नै सीमित गरेपछि निजी क्षेत्रले दवाव दिएपनि अगाडी बढेको थिएन् ।

साढे दुई करोडको डिपिआर
आन्तरिक तथा भारत र श्रीलङ्काका हिन्दू धर्मावलम्बीहरुलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइए पनि अलपत्र परेको योजनालाई बेनी नगपालिकाले अगाडि बढाउने निर्णय गरेको थियो ।रामायण पार्क बनाउनका लागि रु दुई करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डिपिआर तयार पारिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि नगरसभाबाट स्वीकृत गरिएको बजेटमा रामायण पार्क बनाउन प्रारम्भिक तयारीका लागि भन्दै रु १० लाख बजेट विनियोजन पनि गरिएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा रामायण पार्ककोे डिपिआरका लागि रु चार लाख ९५ हजार खर्च गरेको छ ।

नगरपालिकाको बजेटले मात्र निर्माण गर्न नसकिने भएपछि, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर निर्माण कार्य गर्ने हो । नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिइएको बताउँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले हरेक वर्ष बजेट विनियोजन गरे पनि काम अघि बढ्न नसकेको बताए ।
पुलाश्रमको धार्मिक महत्व
पौलस्त्य आश्रममा रामायणमा उल्लेख गरिएका लङ्काका राजा रावणको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । रावण पौलस्त्य क्रृषिका नाति थिए । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र प्रचारको अभावमा ओझेलमा परेको छ ।

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम पनि प्रचारप्रसार र भौतिक पूर्वाधार विस्तार हुन सकेको छैन्। श्रीमद्भागवत महापुराणको सप्तम् स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ ।
धार्मिक पर्यटक तान्न सक्ने
सार्क राष्ट्र श्रीलङ्का, भुटान र दक्षिण भारतमा लङ्काका राजा रावणलाई भगवानको रुपमा पुजा गर्छन् । पुलाचौरको पुलाश्रम त्यस समयका लङ्का (हालको श्रीलङ्का) को राजा रावणको जन्मस्थान मानिन्छ । पौलस्त्य आश्रम क्षेत्र र त्यसको वरिपरिको वर्णन श्रीमद्भागवत, मत्स्य पुराणलगायतका ग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ। विश्वका हिन्दू धर्मालम्बीहरुका पाँच ठूला धार्मिकस्थलमध्ये पुलाआश्रमसमेत पर्ने भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा पर्ने गरेको पाइन्छ ।

रावणको मूर्तिसहितको संरचना बनाएमा हजारौँ भक्तजनलाई भित्राउन सकिने पुलाश्रम क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले बताए । उनले आश्रममा भगवान् श्रीरामसँग सम्बन्धित विविध संरचनाहरु,श्रीरामको जीवनी, रावणसँगको युद्ध, श्रीरामपत्नी सीताका बारेमा पनि यस पार्कमा आवश्यक सूचनामूलक संरचना र सामग्री राख्ने योजना रहेको बताए । यसअगाडी पनि श्रीलङ्का, भुटानबाट फाटफुट धार्मिक पर्यटक पुलाआश्रमसम्म पुग्ने गरेका थिए । सोमबारको बेनी साप्ताहिक पत्रिकाबाट साभार

 

 

Leave a Reply