अमृतप्रसाद पौडेल
बेनी, फागनु १५ गते । म्याग्दी जिल्ला लोकसंगीतको क्षेत्रमा धनी जिल्लाको रुपमा  छ । म्याग्दी भनेपछि लोक दोहोरी गीतका हस्तीहरूको जिल्ला भनेर लिइन्थ्यो पहिले । पछिल्लो समय केही कम भए तापनि पहिलो चरणमा म्याग्दी जिल्लाका लोकदोहोरी गायक गायिकामा नरबहादुर बि.सी., वीरबहादुर कार्की, धनकुमारी थापा, कृष्णदत्त पौडेल लगायतका कलाकारले म्याग्दीलाई चिनाउने काम गर्नुभएको थियो ।

साही पहिलो पुस्ताका दोहोरी गायक मध्येका एक हुनुहुन्छ कृष्णदत्त पौडेल । म्याग्दी जिल्लाको बेनी नगरपालिका ६ बाँस्बोटमा २०१९ फागुन २० गते जन्मिएका कृष्णदत्त पौडेलले म्याग्दीको पहिलो पुस्ताको दोहोरीलाई अगाडि बढाउनुभएको थियो । गीत संगीतसँगै शिक्षण पेशालाई पनि अगाडि बढाउनु भएका पौडेलले आफ्नो भूमिकामा कुनै सम्झौता गर्नुभएन ।

शिक्षण पेशाबाट पनि सेवा निवृत्त भएका पौडेल अहिले घरमा भैंसी पाल्नु भएको छ । दुई छोरा दुई छोरी र श्रीमती भएका पौडेल अहिले श्रीमान श्रीमती मात्र बेनी नगरपालिका–६ बाँस्बोटस्थित घरमा हुनुहुन्छ । आफै लोकदोहोरी गीत प्रतियोगीतामा सहभागी नहुने भए पनि पौडेलले पछिल्लो समय लोकदोहोरीमा निर्णायकको भूमिकामा भने आफ्नो उपस्थिति जनाउनुहुन्छ ।

विगतका समय सम्झदै कृष्णदत्त पौडेल भन्नुहुन्छ म्याग्दी जिल्लामा प्राय रोदी बस्ने चलन थियो । दोहोरी गाउनेहरु अहिले जस्तो पहिला थिएन । गाउँतिर प्रायगरी लेकाली भेकतीर रोदी बस्ने चलन थियो । रोदी बस्ने क्रममा मंगला गाउँपालिका अर्मनको सिर्कुममा रोदी चल्यो सोही क्रममा तीन दिनसम्म दोहोरी गाउँदै बसेको थिएँ । मेरो पहिलो बसाइ त्यही थियो त्यसैले पनि सम्झना आउँछ मलाई उहाँ भन्नुहुन्छ ।

पौडेलले धौलागिरी भित्र दोहोरी गायनको सुरुआत अर्मनबाट भएको थियो । पश्चिम म्याग्दीको रातढुंगा बालौटेमा दुई पटक सम्म उहाँले दोहोरी गीतमा उपाधि जित्नुभयो । बागलुङमा हुने चैतै दशैं मेलामा पनि उहाँले उपाधि जित्नु भयो । औपाचारिक प्रतियोगीताहरुमा दोहोरी गाउने क्रममा मलाई दोश्रो भएको त्यत्ती याद छैन पौडेलको कथन छ ।
अहिलेका गीत संगीतमा पातला खालका शब्दहरुको प्रयोग भएका छन् ।

लाज छोप्ने चिजै भएन भन्ने खालका पातला शब्दहरुको प्रयोेगले सुन्न पनि लाज लाग्ने अवस्था आउन थालेको छ । बालबालिमा नकारात्मक असर पार्ने खालका छन् अहिलेका गीतहरु । परिवार सँग बसेर गीत सुन्न पनि नसक्ने अवस्था आएका छन् अहिले पछिल्लो समय । अहिलेका गीतमा क्षणिक रमाइलोका लागि प्रयोग भएका शब्द अपाच्य छन् ।

२०४६ तिर चैतेदशैं मेलामा भएको खुल्ला दोहोरी गीत प्रतियोगिता नै पौडेलको अन्तिम प्रतियोगिता थियो । जब निर्णायकले म्याग्दीलाई हराउने षड्न्त्र रचे त्यसपछि मैले लोकदोहोरी गीतको क्षेत्रमा फर्कने मन नै गरिनँ । जितका उन्माद र उमंग सँगै यस्ता प्रतियोगितामा पीडा पनि खेपेका पौडेलले २०४५ सालमा राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा आयोजित दोहोरी गीत गाउने क्रममा पौडेलका टिमका साथी चक्रप्रसाद बानियाँको फाइनल अघि मृत्यु हुँदाको क्षण अहिलेसम्मकै बिर्सन नसकीने क्षण हो ।

एक दर्जन टिम सहभागी भएको त्यो प्रतियोगीतामा पौडेलको टिम फाइनल पुगेको थियो । सेमीफाइनल छि जब साथीको एक्कासि निधन भयो तर पनि तत्कालीन अञ्चलाधीश तथा बाग्लुङ्गका तत्कालीन प्रमुख जिल्ला अधिकारीले राजाको जन्मोत्सवमा भएको गीत नगाइ हिँडेमा कारवाही हुन्छ भन्दै फाइनल प्रतियोगितामा सहभागी हुन बाध्य पार्दा दुःखको अवस्थामा मैले रुँदै गाएँ र उपाधि पनि जितेँ तर त्यो उपाधीले खुशी दिन त कहाँ सक्थ्यो र उपाधि मैले मेरा मित्रलाई समर्पण गरे ।

सँगै गाउँदै हिड्ने साथीको एक्कासि मृत्युपछि पनि साथीकै लागि पनि मैले दरिलो मन बनाएर जब फाइनलमा सहभागी भएँ अनि जिते त्यो क्षणलाई मैले कहिल्यै कदापी भुल्न सक्दिन । पौडेल भन्नुहुन्छ आफ्ना सँधैका साथीको मृत्युले पीडा भएको समयमा राजाको नाम लिएर आफूलाई गाउन बाध्य पारेपछि त्यही दिनदेखि मलाइ राजा भन्ने शब्दले नै पीडा बनाउँछ अझ पनि ।

आफ्नो समयका लोक दोहोरी गीतमा म्याग्दीका अब्बल कलाकार पौडेल २०३८ सालमा शिक्षण पेशामा लागेपछि नै उहाँले दोहोरी गाउन थाल्नु भएको हो । शिक्षण सँगै दोहोरी पनि अगाडि बढाएका पौडेलले २०४६ तिर बाट दोहोरी गाउन छोड्नुभएको हो । आफ्नो समयको आठ वर्ष उहाँले आफ्नो पक्षबाट दोश्रो भएको याद छैन भन्नुहुन्छ ।
पहिला जस्तो अहिले खुल्ला दोहोरी हुँदैनन् ।

हालको अवस्थामा पनि यदी कसैको पनि कलाकारितामा रुची छ भने उसको परिवारले उसलाइ रोक्न हुँदैन प्रोत्साहन गर्नुपर्छ । मलाई पनि मेरा बाबाले बाउनको छोरा भएर दोहोरी गाउँने भन्दै गाली गर्नु भएको थियो । बाबाले छेलो हानेर जित भन्नुहुन्थ्यो तै पनि मैले नेपाली लोक संगीतलाई मायाँ गरे र यो क्षेत्रमा आए । अहिले गाउन छोडे पनि यो क्षेत्रलाई मायाँ गरिरहेकै छु । आफ्नो संस्कृतिको जगेर्ना गर्नका लागि सबैले प्रयास गर्न पर्ने पौडेलको भनाइ छ । Source: gorkhapatraonline.com