म्याग्दीको मंगला गाउँपालिका-१,पूर्णगाउँकी १८ बर्षिया कोपिला पुनलाई उच्च शिक्षाका लागि आवश्यक पर्ने खर्च जुटेको छ। लामो समयसम्म जटिल रोगका कारण अस्पतालमा विताएकी पुनलाई अस्ट्रेलियामा रहेको स्टुडेन्ट भाइब्सले रेखा मेमोरियल ट्रष्टसँग सहकार्य गरी म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत पुनलाई नगद ५० हजार सहयोग गरिएको हो ।

चरम गरिबीकै कारण उच्च शिक्षालाई निरन्तरता दिन समस्या भएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि अस्ट्रेलियाको प्रतिष्ठित शैक्षिक परामर्श केन्द्रका सञ्चालक एवम् ट्रष्टका अध्यक्ष बद्री बरुवाल र केदार बरुवालले बुधबार एक समारोहक बिच मामा तेजेन्द्रबहादुर थापा र क्याम्पसमा ब्यवस्थापन संकायतर्फ स्नातक दोस्रो बर्षमा अध्ययनरत अपाङ्ग विद्यार्थी सोमप्रसाद सापकोटामार्फत उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

म्याग्दी क्याम्पस भुपु विद्यार्थी मञ्चको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले क्याम्पसले छात्रबृत्ती उपलब्ध गराएपनि अन्य खर्च जुटाउन नसक्दा विद्यार्थीले पढाई छोड्ने अवस्थामा प्राप्त सहयोगले सहज भएको बताए ।

‘धेरै समस्या भएका विद्यार्थीहरूलाई धमाधम सहयोग प्राप्त हुन थालेपछि उत्साहित भएका छौ,‘क्याम्पसले पनि विपन्न परिवारका विद्यार्थीलाई दिनसक्ने छुट दिएका छौ’ सुबेदीले भने ।

सोही अवसरमा पुनको उच्च शिक्षाका लागि धवलागिरी गाउँपालिका-६, मराङ घर भई हाल बेल्जियमबाट लालबहादुर पुनले ६ हजार २३२, बेनपा–१ अर्जम घर भई हाल हङकङबाट इन्द्र एलजी थापामगरले ५ हजार नगद सहयोग गरेका थिए।  उक्त सहयोग क्याम्पसमा सहायक प्रध्यापक तारानाथ शर्मा र विद्यार्थी पुनको संयुक्त हस्ताक्षरमा निकाल्न मिल्ने गरी वित्तिय संस्थामा राखिएको छ ।

File Video:

कार्यक्रममा रेखा मेमोरियल ट्रष्टमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा भइरहेको सहयोगका ट्रष्टका संस्थापक सदस्य एवम् नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले अभियानका बारेमा जानकारी गराएका थिए ।

अस्ट्रेलियामा स्टुडेन्ट भाइब्सले पहिलोपल्ट ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरेको छ। उक्त प्रतियोगिताको अवसरमा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने प्रतिबद्धता अनुसार म्याग्दीकी विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको सञ्चालक बद्री बरुवालले बताए ।

‘यो अभियानमा जोडिन पाउँदा धेरै उत्साहित छु,‘पैसाकै अभावले कसैको पढाई रोकिनुहुदैन्,‘गरिबीले रोकिएको पढाईका लागि आवश्यक पर्ने खर्च सुनिश्चितता गर्न प्रतिबद्ध छौं’ बरुवाले भने । उच्च शिक्षाको सपना बोकेर क्याम्पससम्म पुगेकी कोपिलालाई आवश्यक खर्चको अभाव बारे समाचार पढ्दा भाबुक बनेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा निर्वतमान क्याम्पस प्रमुख टिकाराम सापकोटा, प्रध्यापक संघका अध्यक्ष नारायणप्रसाद सुबेदी लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन भुपु विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल र अध्यक्षता अध्यक्ष लक्ष्मीनिधि रिजाल ‘बिमल’ले गरेका थिए । यसअगाडी समेत विभिन्न ब्यक्तीमार्फत विपन्न विद्यार्थीलाई गरिएको सहयोग हस्तान्तरणको मञ्चले संयोजन गदैं आइरहेको छ ।

यो पनि पढ्नुहोला : ‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)

‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)

 

Leave a Reply