म्याग्दीको मंगला गाउँपालिका-२,हिँदीकी शिवकली कँडेललाई सास फेर्न गाह्रो भयो । कोरोनाको जोखिमले घरमै बस्नुभएकी कँडेललाई खोकी लाग्ने, घाँटी घ्यारघ्यार हुने, छाती दुख्ने जस्तो समस्याले सताउन थालेपछि विस्तारै स्वास्थ्यस्थिति खस्किदै गएको अवस्थामा छोरा यामनाथ कँडेलले बेनी अस्पतालमा लैजानुभयो ।

अस्पतालमा पुग्दा शिवकलीको अक्सिजनको स्तर ६० प्रतिशतभन्दा तल झरेको थियो । निकै चिन्ताजनक अवस्थामा अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमणको समेत पुष्टी भयो । दम रोगबाट ग्रसित शिवकलीलाई कोरोना समेत देखिएपछि तत्काल हाइ फ्लो अक्सिजन दिएर राखियो ।

दम रोगी बृद्धालाई कोरोना पुष्टीसँगै अक्सिजनको स्तर अत्यन्त जोखिम विन्दुमा पुगेको अवस्थामा स्वास्थ्यकर्मी र चिकित्सकले समेत उच्च निगरानीमा राखेर उपचार गरियो । शिवकली नजिकै हाइ फ्लो अक्सिजन दिएर राखेका एक पुरूषलाई थप उपचारका लागि पोखरा रिफर गरियो भने अर्की एक महिलाको ज्यान गयो ।

छोरा यामनाथको अनुहारमा हेदैं मुखमा अक्सिजनको मास्क लगाउनुभएकी शिवकलीको अक्सिजनको स्तरमा क्रमिक सुधार भयो ।उमेरले ६ दशक पार गरेपनि शिवकलीले कोरोनालाई अस्पतालमै जित्नुभयो ।

‘घरबाट आउँदा श्वास फेर्न गाह्रो भएको थियो,‘अहिले शरीर पनि हलुंगो भएको छ, मलाई सन्चो भएजस्तो लागेको छ’ शिवकलीले छोटो कुराकानीमा भन्नुभयो ।

शुक्रबार दिउँसो बेनीअनलाइनसँग कुराकानी गरेको करिब एकघण्टामा नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि सुरत केसीको सवारीसाधनमा चढेर न्यूरोडमा रहेको छोराको कोठामा जानुभयो ।

कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंस चिन्ताजनक अवस्थामा रहेकाहरुमध्ये शिवकली समेत हुनुहुन्थ्यो ।

अक्सिजनको मात्रा ६५ प्रतिशतमा रहेको अवस्थामा दमको रोगी भएकाले सेवामा खटिएकाले समेत शिवकलीलाई डेन्जर जोनमा समेत राखेका थिए । आमाको उपचारपछि कँडेलले श्वासप्रश्वासको समस्या देखिएपछि घरकै राख्दा ज्यानकै जोखिम हुने अवस्था रहेको बताउनुभयो ।

‘आमालाई केही घण्टा ढिलो अस्पतालमा ल्याएको भए रित्तै घर फर्किनुपर्ने अवस्था रहेछ,‘सास फेर्न गाह्रो भएपछि तत्कालै अस्पतालमा ल्याउनुपर्ने रहेछ’ कँडेलले भन्नुभयो ।

बिरामीले नै सास फेर्न समस्या भएपछि तत्कालै परिवारका सदस्यलाई जानकारी गराउनुपर्ने अस्पतालको बसाईको क्रममा आफुँले महसुस गरेको कँडेलको भनाई छ ।

‘अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले ज्यानको बाजी राखेर सेवा दिनुभयो,‘उहाँहरुको सेवालाई कहिल्यै झुल्ने छैन’ कँडेलले भन्नुभयो ।

बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा भर्ना भएका कोरोना संक्रमति अधिकांसको श्वासप्रश्वासको समस्या रहेको छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १ सय प्रतिशतसम्म राम्रो मानिन्छ ।

९० बाट तल झरेपछि तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने जस्ता लक्षण देखिएमा शरीरमा अक्सिजनको मात्रा घट्दै जाने बेनी अस्पतालका चिकित्सकको भनाई छ ।

 

 

Leave a Reply