क. रोहित। उमेर १३ वर्ष। आफ्नो हाइट भन्दा ठूलो झोला! सयौं जनसेनाको बीचमा राज्यसत्ता परिवर्तन गर्ने यात्रामा निजी सपना, घर-परिवार सबै त्यागेर हिँडेको किशोर। उमेरले किशोर, सोच एवम् सपना भने युवाभन्दा कम थिएन। देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याउन माओवादी आन्दोलनमा होमिएको अथक योद्धा अर्थात क. रोहित।
कमरेड रोहितको कुरा गर्दा माओवादी युद्धमा बालबालिका प्रयोग भए भन्ने पनि हुनसक्छ तर त्यो किशोरलाई त्यसको पर्वाह थिएन। गणतन्त्र स्थापना गर्ने मूल लक्ष्य जो बोकेको थियो। बुर्जुवा शिक्षा हटाएर जनवादी शिक्षा लागू गर्नु थियो। ठूला–साना, धनी-गरिब बीचको दुरी घटाउनु थियो। यही सपना बोकेर युद्धमा हिँडेको क. रोहित नै सन्दीप खत्री हो।
‘कान्छा! सुत्ने बेला भयो भित्र आइज’ आमाको आवाजले आँगनमा एकखुट्टे खेलिरहेको म खुरुक्क भित्र दगुरेँ। भित्र के छिर्न पाएको थिएँ आमाले ढोका लगाइहाल्नु भयो। राति ८ बज्दा नबज्दै आमाले यसरी नै ढोका लगाउनु हुन्थ्यो। त्यसको केहीबेरमा घरको छानोबाट ढ्वाङ्ग आवाज आयो।
म कराएँ, ‘को हो ?’
आमाले ‘चुप लाग्’ भन्नुभयो। बाहिरबाट आवाज आयो, ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एकछिन छक्क परें माओवादीको घर? हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ?
अधिकांश दिन हाम्रो घरमा यसरी नै ढुङ्गा बर्सिन्थे अनि भन्थे, ‘यो आतङ्ककारी माओवादीको घर हो।’ यो वि.सं. ०५५/०५६ तिरको कुरा। त्यतिबेला म ७–८ वर्षको थिएँ होला। मेरो कलिलो मस्तिष्कमा माओवादीको छाप बस्यो। पछि थाहा पाउँदै गएँ, हाम्रो घरमा माओवादीका साथीहरू आएर खाना खान्थे। तत्कालीन पार्टी इञ्चार्ज गोविन्द पौडेल (क. प्रवीण) हाम्रो नातेदार समेत भएकाले माओवादीका मान्छे आउँथे। नत्र त्यो भन्दा हाम्रो अरु कुनै सम्बन्ध थिएन, उनीहरू हाम्रो घरमा आउनलाई।
घरमा बर्सिएका ढुङ्गाहरूले मलाई पनि विस्तारै माओवादी आन्दोलनमा लाग्न प्रेरित गर्यो किनभने म माओवादी भन्ने लालमोहर लागिसकेको थियो।
समय बित्दै जाँदा वि.सं. २०६१ सालमा दीपक मा.वि. पात्लेखेतमा कक्षा ७ मा अध्ययन गर्दै थिएँ। एकदिन अखिल (क्रान्तिकारी)का साथीहरू स्कुलमा आए। हामी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई राखेर प्रशिक्षण दिए। कमिटी बनाउने कुरा भयो। म विद्यालयमा बाल क्लब र जुरेशको समेत सचिव, सभापति भएकाले सबै साथीहरूले मलाई कमिटीको अध्यक्ष बन्ने प्रस्ताव गरे। मैले सहर्ष स्वीकार गरें।
७ कक्षामा पढ्ने केटो म, सिङ्गो विद्यालय कमिटीको अध्यक्ष बन्दा ठूलै युद्ध जितेसरह भएको थियो। तर, पछि गुरुहरूले भने गाली गर्नुभयो पढ्ने बेलामा राजनीति गर्नु हुँदैन भनेर। हुन पनि म विद्यालयले आशा गरेको विद्यार्थीमध्ये एक थिएँ म। कक्षा १ देखि नै प्रथम हुँदै आइरहेको थिएँ। बाहिर उहाँहरूको कुरालाई समर्थन गरे पनि मन भित्रभित्र यो बुर्जुवा शिक्षा पढ्दिन भनेर अठोट गरिसकेको थिएँ। बेनी आक्रमणपछि माहोल परिवर्तन भएको थियो। विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा नजिकिँदै थियो। म भने राज्य परिवर्तनको यात्रा तय गर्दै आन्दोलनमा होमिएँ।
एक्कासी छेउबाट ‘कमरेड! ऊ हेर्नु त आर्मीहरू आए’ भन्ने आवाजले म झसङ्ग भएँ। राम्चेको टिकवीर दाईको घरमा बसेर म आफ्नो विगत स्मरण गरिरहेको थिएँ। साँझ पर्नै आँटेको थियो। इलाका पार्टी इञ्चार्ज सङ्गीन काम विशेषले अर्को गाउँमा गएका थिए। देव्रेपट्टी फर्केर हेरेको आर्मी स्टाइलमा लहरै कम्ब्याट लगाएका मानिस देखेपछि म के गर्नु न के गर्नु भएँ। सोच्दासोच्दै ती साथीहरू त्यहीँ आइपुगे। आउँना साथ एउटा साथीले जोशिलो पारामा सोधे, ‘सङ्गीन कमरेड खोई?’
म केही बोल्नै सकिनँ किनभने ती सबै कमरेड नयाँ थिए। म पार्टीमा भूमिगत हुनुभन्दा केही समय अगाडि गलेश्वरमा दोहोरो भिडन्त हुँदा आर्मीहरूले मलाई यसैगरी माओवादी सेनाको पारामा हाम्रा साथीहरू खोई भनेर सोधेको सम्झें। मेरो कसैसँग पनि चिनजान भएको थिएन, त्यसैले मलाई थाहा छैन भनिदिएँ।
उनीहरू पनि एकछिन अलमलिए। एकले अर्कालाई हेराहेर गरे। सुराकीले सुराक नगरिदिउन् भनेर साथीहरू आर्मी स्टाइलमा आएका रहेछन्। तत्कालीन समय आर्मीहरू जनसेनाको रुपमा गाउँगाउँ प्रवेश गर्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय गरियो। मैले भने, ‘म कमरेड रोहित! यस इलाकाको विद्यार्थी इञ्चार्ज।’
‘इलाका इञ्चार्जलाई यो चिठी दिनु कमरेड’ भन्दै मेरो हातमा एउटा चिठी थमाएर काफलडाँडातिर लागे उनीहरू। पार्टीमा भूमिगत भएपछि केही समय कलाकारको भूमिकामा काम गरेपछि विद्यार्थी राजनीति गर्ने उद्देश्यले म म्याग्दीकै राम्चे, काफलडाँडा, भुरुङतातोपानी र हिस्तानका लागि विद्यार्थी इञ्चार्ज भएर केही दिन अगाडि मात्र गएको थिएँ। त्यस क्षेत्रमा पनि सबैसँग परिचय भएको थिएन। त्यसैले त्यो दिन साह्रै अप्ठेरो परिस्थिति सिर्जना भयो।
त्यही राम्चेका टिकवीर (विजय) कमरेडले मलाई विद्यार्थी राजनीतिमा ल्याएका थिए। उनी सायद हाम्रै गाउँघरतिर थिए होलान् म उनको गाउँतिर। बेलुका सङ्गीत कमरेड आएपछि कमरेडहरूले दिएको चिठी दिएँ र सबै घटना पनि सुनाएँ।
भोलिपल्ट हामी बेनी–जोमसोम सडक खण्ड अन्तर्गत भीरकाटेनजिकै रहेको मजदुरहरूको क्याम्पमा जाने कार्यक्रम थियो। त्यसैले सकेसम्म त्यही दिन तल झरौं भन्ने योजना थियो तर साँझ पर्नै लागेकाले टिकवीरकै घरमा बस्यौं। पहिलो त म ब्राह्मण परिवारमा जन्मिएको मान्छे, अनि परिवारको कान्छो छोरा बाबा र आमाको मायामा पुलपुलिएको। घरको पारिवारिक अवस्था कमजोर नै भए पनि मैले सानैबाट कहिल्यै पनि आँटो, ढिँडो खाएको थिइनँ। म इलाकामा गएको झण्डै ४–५ दिन भएको थियो होला। हामी बस्ने घरमा गइसकेपछि सङ्गीन कमरेडले खाना बनाउन लगाउनु भयो। हामी तल असुरक्षा हुन्छ भनेर माथिल्लो तलामा गयौँ।
घरमा तीन-चार वटा भकारी थिए। हामी त भकारीमा धान राख्ने गरेका मान्छे। पूरै भकारीभरि देखेपछि लाग्यो– यहाँ त टन्नै धान हुने रहेछ, आज त भात खान पाइने भो!
झोलामा केही थान किताब, आफ्ना व्यक्तिगत सामान तैनाथ हुन्थे। प्रत्येक दिन किताब अध्ययन गरी डायरी टिपोट गर्ने, दैनिकी लेख्ने बानी थियो। सङ्गीन कमरेड झोलाको एक साइडबाट रेडियो निकालेर समाचार सुन्न थाल्नुभयो म भने अध्ययन गर्न लागेँ। भुइँको गुन्द्रीमा घोप्टो परेर पढ्दा ढाड दुख्न थालेपछि भकारीको आड के लागेको थिएँ पछिबाट चिसो बिझेजस्तो भयो, यसो छामेको त टुसा पो भेटियो। आखिरमा त्यो त आलु राख्ने भकारी पो रहेछ!
मनमनै रिस पनि उठ्यो, आफैंलाई देखेर हाँसो पनि उठ्यो। दिनमा आफ्नै साथीहरूलाई आर्मी सम्झिएँ, साँझमा आलुको भकारीलाई धान सम्झिएँ। सुत्ने बेलामा सबै कुरा इञ्चार्ज कमरेडलाई सुनाएँ, दुबै जना बेसरी हाँस्यौं। सायद म जनयुद्ध होमिएपछि जनयुद्धको अवधिमा त्यसरी कुनै पनि दिन हाँसेको याद छैन।
म उमेरमा सानो भएकाले धेरैले माया गर्थे। समूहमा हिँड्दा राति सेन्ट्री बस्ने पालोमा आफूभन्दा ठूला कमरेडले पालो दिन्थे। एक जना विप्लव दाइ थिए जो भलिबल असाध्यै राम्रो खेल्थे। उनले नै मेरो रातको सेन्ट्री पनि अधिकांश गरिदिन्थे।
शान्ति प्रक्रियापछि उनीहरू क्याम्पतर्फ लागे। उमेर सानो भएकाले म घरतिर लागें। उमेर पुगेको भए सायद.. अहिले कल्पना पनि गर्न सक्दिनँ। छुट्टिँदाको त्यो पल आलै छ।
कतिपय मान्छे आन्दोलनमा मेरो सहभागिता देखेर छक्क पर्थे, कति मानिस जबरजस्ती माओवादीले ल्याएको होला भनेर अनुमान लगाउँथे। कसैले यति सानो मान्छे त क्रान्तिको यात्रामा छ हामी पनि किन सहभागी नहुने? भन्थे तर म भने मेरो यात्राप्रति गर्व गर्थें। राज्य परिवर्तनका लागि थोरै भए पनि आफ्नो सहभागिता जनाउन पाएकोमा खुसी नै थिएँ।
भोलिपल्ट बिहानै उठेर भुरुङ तातोपानीमा झर्यौं। अहिले त नाम त ठ्याक्कै भुलेँ तर सर्वोदय माविको नजिकैको खोलाबाट ठाडै उकालो गएपछि आउने घरमा त्यतिबेला हाम्रो बसोबास हुने ठाउँ थियो। अन्य साथी पनि त्यहीँ थिए। क. हिमाल, क. निशा र क. पहाड। बिहानको खाना खाए पछि एकछिन वर्तमान परिस्थितिका बारेमा छलफल गर्यौं तर उमेर अलि सानै भएकाले अहिले के-के विषयमा छलफल भयो त्यति सम्झनामा छैन। केही साथीहरू काम भएकाले बेनीतर्फ लागे। म, सङ्गीन र पहाड कमरेड मजदुर क्याम्पतर्फ लाग्यौँ।
दिनभरको छलफलपछि बेलुकाको बसाइ दोसल्लेमा थियो। हामी तीन जना दोसल्लेतर्फ लाग्यौं। स्थानीय नेता तथा कार्यकर्तासँग बेलुकाको भेटघाट थियो। समय अलि धेरै भएकाले त्यतिबेलाका सबैलाई स्मरण गर्न सकिनँ। जे होस् बेलुका बैठकमा सहभागी सबैले पार्टी र आन्दोलनका बारेमा निकै चिन्ता व्यक्त गरे। केही साथीहरूमा पार्टी विजयन्मुख हुन लागेको खुसी थियो भने केही साथीमा निराशा पनि।
त्यो रात पार्टीका आन्तरिक तथा बाह्य सबै विषयमा गम्भीर रुपमा छलफल भयो। मैले पनि त्यस क्षेत्रका विद्यार्थीको बैठक त्यहीँ राख्न खोजेको थिएँ तर इलाका भर्खर मात्र गएको र सबैसँग सम्पर्क नभइसकेकाले सम्भव हुन सकेन। यद्यपि, उपस्थित कमरेडहरूमार्फत भए पनि विद्यार्थी आन्दोलन मजबुत बनाउन अभिभावकको भूमिकाका बारेमा छलफल गरेँ। पार्टीको बैठक भए पनि मेरा लागि पनि केही उपलब्धी चाहिँ भयो।
मेरा लागि त्यस एरिया नयाँ नै थियो, चिनजान र भूगोलका हिसाबले पनि। सुरुवातका केही दिन मैले पार्टीका इञ्चार्ज वा कोहीको सहयोग लिएर हिँड्नुपर्ने थियो। भोलिपल्ट काफलडाँडामा पार्टीको बैठक थियो। त्यही मेसोमा मैले पनि विद्यार्थी बैठक राख्नुपर्ने थियो। अघिल्लो दिन क. शिवलाई पत्र पठाइसकेको थिएँ, जानकारीका लागि। त्यतिबेला हामीसँग कुनै टेलिफोन सम्पर्क थिएन, चिठीपत्रमै भर पर्नुपर्ने बाध्यता थियो। बैठक तयारीका बारेमा केहीबेरको छलफलपछि बिहानै काफलडाँडातिर जाने योजनासहित सुत्यौं।