विभक्त प्याकुरेल राष्ट्रसेवक कर्मचारी हुन् । पर्वत जिल्ला अदालतमा उनी नायव सुब्बाकारूपमा कार्यरत छन् । पर्वतकै जलजला गाउँपालिकाका बासिन्दा उनी जागिरको सिलसिलामा कुश्मा बजारको लोकतान्त्रिक चोकमा डेरामा बस्छन् । रिस र ईर्ष्या कत्ति पनि नभएका उनी सदैव मुसुक्क मुस्कुराएर कुरा गर्छन् र निकै लगावका साथ काममा खटिन्छन् । कार्यालयमा उनी एक कर्मठ र इमानदार कर्मचारीका रूपमा चिनिन्छन् ।

भर्खर २३ वर्ष प्रवेश गरेका विभक्तलाई घरभेटीको छोरी सुचिता सापकोटा निकै मन पर्न थालेको थियो । सुचिता पनि पढाइमा लगनशील, अनुशासित र शान्त स्वभाव, बोलीमा मिठास, रूपकी पनि सुन्दरी । जो कोही पनि सजिलै प्रभावमा पर्थे । २० वर्षकी उनी पोखरामा स्टाफ नर्स पढ्दै थिइन् । तर, लकडाउनले गर्दा घरमै थिइन् भने विभक्त पनि असारदेखि अफिस खुलेकोले कुश्मामै थिए । दिनहुँ विभक्त झन् झन् मोहित हुँदै गएका थिए सुचितासँग ।

सुचिताले बाँकी रहेका थुप्रै ‘प्रोजेक्ट वर्क’, ‘एसाइनमेन्ट’ सक्नुपर्ने भए पनि किताब, कपडा सबै पोखरा छोडेर आएकोले छटपटी रहेकी थिइन् । ‘लकडाउनले सार्वजनिक सवारी सबै बन्द छन् । जाने पो कसरी !’

सुचिताका बुवा महेन्द्रले ट्याक्सी बुझ्दै गरेको थाहा पाए पछि विभक्तले प्रस्ताव राखे, ‘अंकल, मेरो अफिसको काम छ पोखरा जाने । यदि मोटरसाइकलमा अप्ठ्यारो लाग्दैन भने सुचितालाई म जाँदा लगिदिन्छु र आउँदा सँगै ल्याएर आउँछु ।’ विभक्तले जागिर खाएको २ वर्ष पुग्न लागेको थियो । कमाएको सबै लगानी गरेर मोटरसाइकल किनेका जो थिए ।

‘अनि तिमीलाई पास चाहिन्न ?’

विभक्तले जवाफ फर्काए, ‘अफिसको कामले जान लागेको हुँ । अफिसले बनाइदिन्छ ।’

मिठो बोल्ने, परेको बखत सहयोग गर्ने, समयमा भाडा तिर्ने भएकोले होला विभक्तलाई महेन्द्र र उनकी पत्नी दीपाले निकै मन पराउँथे । ट्याक्सी रिजर्भ गरेर पोखरा जाँदा ५–६ हजार लाग्थ्यो । लकडाउनमा पास बनाउन पनि झन्झटिलो भएपछि उनले सकारात्मकता देखाए । सुचिताले पनि ‘ओके’ गरिदिइन् ।

र सुरु भयो सुचिता र विभक्तको पोखरासम्मको बाइक यात्रा । त्यतिखेरसम्म उनीहरूबिच केही औपचारिक कुराकानी बाहेक खासै चिनाजान भएको थिएन । बोलचाल नभै डिमुवा पुगेपछि मोटरसाइकल रोक्दै विभक्तले भने, ‘एकछिन रेस्ट गरौँ न ।’ लजालु स्वभावका उनले मोटरसाइकलको ब्रेक त लगाए । तर, कुराकानीको एक्सेलेटर भने दबाउन सकेनन् ।

बरु सुचिता बोली हालिन् ‘विभक्त दाइ, हजुरको काम पोखरा कुन ठाउँ हो ?’

विभक्तले उत्तरै नदिएरै प्रश्न सोधे, ‘तिम्रो कोठा कहाँ छ ?’

‘सिर्जना चोकमा’

‘ए मेरो काम पनि त्यहीँसम्म हो सुचिता । तर, तिम्ले दाइ भनेको राम्रो सुनिएन है !’ मुस्कुराए विभक्त ।

‘दाइलाई दाइ नभनेर के भन्नु त अनि ?’ केही सशङ्कित हुँदै सुचिता पनि मुस्कुराइन् ।

बाइक स्टार्ट भयो । अब भने दुवै जना केही सहज भइसकेका थिए । त्यसैले बाइकको गति अलि घट्यो, कुराकानीको अलि बढ्यो। यसपटक भने विभक्तले नै कुरा सुरु गरे, ‘तिम्लाई भोक लाग्यो होला । के गर्ने लकडाउन छ ।’

‘मेरो ब्यागमा खाने कुरा छ । तपाईँ पनि खाने भए कतै राम्रो ठाउँमा बाइक रोक्नुस् न त’ सुचिताले भनिन् । नौडाँडोको उकालो कटेपछि विभक्तले बाइकमा ब्रेक लगाए । सुचिताले ब्यागबाट दुइवटा कुर्कुरे र एक बोतल पानी झिकिन् । ‘एउटा मात्र झिक न । अर्को सारङ्कोटमा खाउँला ।’ खानेकुरा बचाउन होइन विभक्तलाई सँगै एउटै कुर्कुरे खाएर सुचितासँग नजिकिनु थियो ।’

‘अघि दाइ भनेको सुहाएन भन्नु भाथ्यो, दाइ भन्दा रिसाउने हो भने अब भनु चाहिँ के ?’ सुचिताले भनिन् ।

‘रिस त मलाई कसैसँग पनि उठ्दैन । अझ तिमीसँग ! विभक्त नै भन न । साथी माने सजिलो हुन्थ्यो कुराकानी गर्न ।’ मुस्कानसहित अलि लजाए ।

मोटरसाइकल सराङ्कोट पुग्यो । सधैँ प्याराग्लाइडरले भरिभराउ हुने सराङ्कोटको आकाश यसपटक भने शून्य थियो । तर, सराङ्कोटबाट देखिने पोखरा बजार निकै मनमोहक थियो । फेवाताल पनि पर्यटकको पर्खाइमा थियो । विश्व शान्ति स्तुपाले बोलाई रहेजस्तो महशुस हुन्थ्यो । तर, सुचिताको मनले भने विभक्तलाई बोलाउने कुनै संकेत भने देखिएको थिएन ।

सिर्जना चोक पुगेपछि सुचिताले भनिन् ‘विभक्त पहिले तपाईँको काम सकौँ ।

‘तिम्रो काम सक न । तिम्रो कामसँगै मेरो काम पनि सकिन्छ ।’ यसपटक पनि विभक्तको ओठमा मुस्कान नै थियो । अझ भनौँ, विभक्तको अर्को नाम मुस्कान पनि हो ।

सुचिताको डेरा अगाडि बाइक रोके र दुवै जना भित्र गए । सुतिचाले पहिले नै विभक्तलाई मनाएकी थिइन कि उनकै डेरामा खाना पकाएर खाएर जाने । खाना खाइ सकेपछि सुचिताले आवश्यक सबै सामाग्री जेब्रा झोलामा हालिन् । विभक्तले आफ्नो रित्तो भिर्ने झोला दिँदै भने, ‘यसमा हाल सामान, त्यो अप्ठ्यारो हुन्छ’ विभक्तलाई जेब्रा झोला आफ्नो र सुचिताको बीचमा आउँछ र दुई जनाको दूरी बढ्छ भन्ने पिर थियो ।

कोठाबाट निस्केपछि कुश्मा तिरको बाटो लागेको देखेर सुचिता छक्क परिन र सोधिन्, ‘आफ्नो काम चाही भुल्नु भो विभक्त ?’ पदको कहिल्यै गलत प्रयोग नगरेका विभक्तले सुचितासँग नजिकिनको लागि पोखरा जाने पास बनाएका थिए । जुन उनलाई थाहा थिएन ।

‘खोइ तिमीसँग के शक्ति छ सुचिता, तिम्रो काम नै मेरो काम बन्यो आज’, विभक्तले भने ।

‘लोकसेवा पढ्नेहरू सिधा कुरा गर्न जान्दैनन् कि क्या हो ! तपाईँको आधा कुरा त म बुझ्दै बुझ्दिन्न ।’

सराङ्कोटटमा मोटरसाइकल रोकेर सिधा भाषामै विभक्तले भनिदिए, ‘तिमी मलाई अति नै मन पर्छ सुचिता । आज मेरो कुनै काम थिएन । म तिम्रो सामीप्यमा आउनको लागि यहाँसम्म आएको । नराम्रो नसोच है । यो मेरो अङ्कुराउँदै गरेको प्रेम हो ।’

सुचिताले आश्चर्यमा पर्दै भनिन, ‘कतै फ्लर्ट गर्न खोज्नु भएको त होइन ! केही दिन मात्र भाछ चिनेको । राम्ररी बोलेको आजै हो । तर, म मान्दिन प्रेम भयो होला भनेर ।’

‘मलाई नि त्यस्तै लाग्थ्यो । तर, तिमिलाई देखेपछि मेरो मनको अन्तरवस्तु सलबलाएको छ । यो दिलले तिमीलाई मात्र खोज्छ, दिमागले तिमीलाई मात्र सोच्छ ।’

‘यस्तो सोचेकै थिइन विभक्त हजुरलाई मैले । तनाव भयो मलाई त । ल ल बाइक स्टार्ट गर्नुस्, उतै गएसी सोचौँला ।’

‘सोचौँला’ भन्ने जवाफले विभक्तको मनमा आशा पलायो ।

कुश्मा पुगेपछि उनीहरूको भेट त प्राय सधैँ हुन्थ्यो नै । कहिलेकाहीँ विभक्तले प्रस्ताव राखे कि कतै घुम्न जाऊँ । सुचितालाई पनि विभक्तसँग बिताउन पाउँदा निकै रमाइलो लाग्थ्यो । सुचितालाई पनि विभक्त मन पर्न थालेको थियो तर प्रेम पलाएको भने थिएन ।

सुचिताको सपना अस्ट्रेलिया गएर नर्सिङमा मास्टर्स गर्ने थियो । त्यसैले उनले विभक्तसँगै जीवन बिताउनेबारे कत्ति पनि सोचेकी थिइनन् । उता बाक्लिँदो भेटले विभक्तको माया सुचिताप्रति झाँगिँदै गयो । उनी सुचितालाई नदेखे छटपटिने भएका थिए । सुचिताले पनि लकडाउनको कारण कुश्मामै रहेकाले साथ दिइरहेकी थिइन् साथी मानेर ।

एकदिन विभक्त र सुचिता बलेवाको भैरवथान जाने भए । खुट्टाले हिँडेर लामो बाटो जानु पर्ने भएकाले कुराकानी गर्न प्रशस्त समय थियो । कुराकानीको क्रममा विभक्तले भने, ‘सुचिता, तिम्रो प्रेममा धेरै गहिराइमा पुगिसकेँ । तिमी बिनाको जीवन सोच्न पनि सक्दिनँ । तिमीले साथ त दिइरहेकी छौ मिठो यादगार दिनहरू बनाउन । तर, आश गर्नु भर नपर्नुको स्थितिमा कति बसौँ ? तिमीले सोच्दिनौ मेरो बारेमा ?’

सुचिताले जवाफ दिइन ‘मलाई तपाईँ मन पर्छ, तपाईँ अत्यन्तै असल मान्छे हुनुन्छ । तपाईँको जीवनको हिस्सा बन्न पाउने केटी भाग्यमानी अवश्य हुन्छ । तर, मेरो सपना अष्ट्रेलिया गएर नर्सिङमा मास्टर्स गर्ने हो । तपाईँको र मेरो उद्देश्य र बाटो फरक छ विभक्त ।’

‘तिमिलाई प्रेम गर्छु । तिम्रो सपना पूरा गर्नु मेरो पनि उद्देश्य हुनेछ । तर, मास्टर्स सकेपछि तिमी नेपाल फर्किन पर्छ।’

‘तपाईँ मन पर्छ । तर, तपाईँ बिना बाँच्न नसक्ने होइन । मेरो लागि मेरो बुवाले धेरै मेहनत गर्नु भएको छ । म उहाँको एक मात्र सन्तान हो । यदि उहाँले खुसी साथ हुन्छ भन्नुभयो भने मेरो तर्फबाट कुनै समस्या आउँदैन । तर, बुवाले हुन्न भन्नुभयो भने मलाई केही भन्न पाउनुहुन्न । यसोभएमा पनि तपाईँ र म साथी चाहिँ सदैव रहनेछौँ । घरमा कुरा गर्नुस् न त ।’

विभक्तको अफिसका रामनारायण सर (अर्को फाटका फाट प्रमुख) र सुचिताका बुवा महेन्द्र निकै मिल्ने साथी थिए । विभक्तले सबै कुरा गरेपछि रामनारायण सर लमी बन्न तयार भए र महेन्द्रसँग कुरा चलाए । तर, सोचेजस्तो सजिलो थिएन ।

‘मलाई मेरो यत्रो इज्जत छ । आफ्नो घरको डेरामा बस्नेलाई छोरी दिँदा समाजले के भन्छ ?’ रामनारायणको कुरा सुनेर महेन्द्र मुरमुरिए ।

रामनारायणले विभक्तको निकै गुणगान गाए । तर, त्यसले पनि कुनै काम गर्न सकेन । बरु उल्टै महेन्द्रले भन। ‘विभक्तसँग मै राम्रोसँग कुरा गर्न चाहन्छु एक पटक ।’

बेलुका कसैले विभक्तको ढोका ढकढक्यायो । विभक्तले ढोका खोले । ढोका अगाडि उनै महेन्द्र अर्थात् घरभेटी बा थिए ।

‘भित्रै आउनुस् न अंकल’ विभक्तले मुस्कानसाथ स्वागत गर्दै भने ।

तर, महेन्द्र भने खुसी थिएनन् । उनले भने, ‘तिमीलाई नि था होला बाबु, म के कुरा गर्न यहाँ छु भन्ने । तिमीलाई यस्तो सोचेको थिइनँ । सोझो भनेर माया गरेँ । तिमीले त मेरै छोरी ताकेछौ !’

‘तपाईँलाई रिस उठ्नु स्वाभाविक छ । किनकि तपाईँ छोरीको बुवा हो । तर, मैले साँचो मनले माया गरेको छु अङ्कल सुचितालाई । म उसलाई खुसी राख्न सक्छु ।’

महेन्द्र बा कड्किन थाले, ‘तिमीसँग मेरो छोरी खुसी राख्नसक्ने हैसियत के छ ? पहिलो कुरा त तिमी मेरै घरमा भाडामा बस्छौ, आफ्नो हैसियत नभुल ।’

‘मेरो हैसियत भुलेको होइन अंकल । खुसी पैसाले किनेर पाइने कुरा नि होइन नि । सुचिता मेरी भइन् भने तपाईँले उनको पिर कहिल्यै गर्नु पर्दैन । मेरो जिम्मेवारी तपाईंहरुप्रति पनि उत्तिकै रहनेछ जति मेरो बुवा आमाप्रति छ ।’

‘चिप्लो कुरा गरेर पगाल्न नखोज बाबु । जलजलाको भिरमा घर छ तिम्रो । मेरी छोरीले कहिल्यै दुःख गर्न परेन । उसको महिनाको खर्च धान्न सक्छौ ? कति छ कमाई ?’ महेन्द्र कड्किए ।

विभक्तले मलिन स्वरमा भने, ‘सुब्बाको तलब त्यै २८ हजार २ सय छ । २ ग्रेड आउँछ । प्रोत्साहन भत्ता आउँदाको बखत महिनामा ८–१० हजार आउँछ । महिनामा ३० देखी ३२ हजार औसतमा कमाई हुन्छ ।’

‘यताउतिबाट थप आउँछ होला नि !’

‘त्यस्तो काम त म गर्दिनँ अंकल । गैरकानुनी कमाई गर्न मेरो नैतिकताले दिँदैन ।’

‘मलाई मात्र तिर्न पर्छ तिम्ले ५ हजार ५ सय त । अरू खर्च हुँदो हो । घर पठाउन पर्दो हो । कति बचाउँछौ महिनामा ?’

‘१५ हजार बचत हुन्छ । पेन्सन आउने जागिर हो अङ्कल । बुढेसकालमा नि दुःख पाइन्न ।’

‘अहिले गतिलो खान र लाउन नपाएसी बुढेसकालमा पेन्सन आएर के नापिन्छ र ! मेरो छोरी सपिङ गई भने तिम्रो दुई महिनाको बचत १ दिनमै सकिदिन्छे, उसको महिनाको कलेज फिस नै १५ हजार बढी लाग्छ । ब्याच्लर सकेसी मास्टर्स गर्न अस्ट्रेलिया जान्छु भन्छे । सक्छौ ३०–४० लाख खर्च गर्न ?’ महेन्द्र फेरि कड्किए ।

‘ऋणै गरेर भएनि पढाउँछु उसलाई, अंकल ।’ यस पटक भने विभक्तको अनुहारमा मुस्कान थिएन ।

‘तिमीलाई मेरो छोरी दिएर उसले अभावको जिन्दगी जिएको देख्नु छैन मलाई । तिमीले उसलाई खुसी दिन सक्दैनौ । अब उसको सपना देख्न छाडिदेऊ । तिम्रो र मेरो हैसियत मिल्दैन । मैले राम्रो मुखले सम्झाउँदै छु। अब मेरी छोरीको पछि नलाग । अनि कोठा पनि खाली गर्देऊ । नत्र के गर्नु पर्छ मैले नि जानेको छु । मेरो यत्रो सम्पत्ति हात पार्न पनि होला मेरो एक्ली छोरी हात पार्न खोजेको । नराम्रो सोचे नि सोच, ५ दिनभित्र कोठा खाली गरिदेऊ ।’ एकैस्वरमा महेन्द्रले आफ्नो कुरा सकाएर निस्किए ।

यति भनेर पनि उन रिस शान्त भएन । छोरी सुचितालाई समेत उनले गाली गर्दै भने, ‘तेरो लागि १०१ केटा अष्ट्रेलिया अमेरिका गएका, सेटल भएका लाइन लाग्छन् । जो कोही भारे भुरेसँग बोल्दै नहिँड् ।’

विभक्तले १०० पटक फोन गरे । तर, सुचिताले उठाइनन् । बरु ब्लक गरिदिइन् । ब्लग गर्नुअघि उनले एउटा म्यासेज छाडेकी थिइन्, ‘विभक्त सरी ! अब मलाई फोन नगर्नू । तिमिसँग बोलेर मैले मेरो बुवासँग जितेको विश्वास गुमाएँ । मेरो लागि मेरो बुवा भन्दा माथि कोही छैन । अबदेखि फोन नगर्नु होला ।’

विभक्तलाई छाँगाबाट खसेजस्तो भयो । मनमा सजाएका सपनाहरुहरु तासको महलझैँ एकै पटक गर्ल्यामगुर्लुम ढले । अब कुश्मा बजार उनलाई पिडाको स्रोत लाग्न थाल्यो । त्यसैले उनी डेरा मात्र होइन, कुश्मा बजारै छोडेर सर्वोच्च अदालतमा काज सरुवा भई काठमाडौँ गए । सुचितासँगका मिठा यादहरू सम्झिँदै अफिसरको तयारी गर्न थाले ।

विभक्तको एउटा सपनाको अन्त्य त भयो । तर, अर्को सपनाले भनेँ त्यहीँबाट उडान लियो । सायद एउटा सपनाको अन्त्य हुनु नै अर्को सपनाको सुरुवात हुनु हो कि !

Leave a Reply