बेनी नगरपालिका–१,रत्नेचौर तोरीको फूल फुलेर पहेँलपुर भएको छ । बेनी–बागलुङ सडकखण्डमा पर्ने रत्नेचौरको फाँटमा गहुँ र तोरीको सौन्दर्यमा युवकयुवती र सर्वसाधारण भुलिरहेका छन् । रत्नेचौरमा तोरीबारीमा रमाउन बेनी, बागलुङ लगायत ठाउँठाउँबाट आन्तरिक पर्यटक आउन गरेका छन् ।

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको धौलागिरि, नीलगिरि हिमाल अनि बीचमा समथर फाँट रत्नेचौरमा  देखिने तोरीबारीको पहेँलो दृश्यले जोकोहीलाई आकर्षित गर्ने भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

हिउँदे खेती गहुँ लगायतका अन्य अन्नबालीभन्दा कृषकले तोरी खेतीलाई रोज्ने गरेपनि ब्यवसायीक नभई घरायसी प्रयोजनका लागि मात्रै रहेको छ । रत्नेचौर, उपल्लाचौर लगायत आसपाकास क्षेत्रमा करिव ५ सय घरधुरीले दुईसय सय रोपनी जमिनमा तोरीखेती गरिएको छ ।

घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत विक्री गर्न नसकिएको कृषकको भनाई छ । नेपालमा पाईने दुई रंगको तोरीमध्ये म्याग्दीका पहेंलो तोरी खेती हुन्छ । पहेंलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ ।

चारदशक अगाडीसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिडेर आउने गरेको बताउँदै पछिल्लो समय जनशक्तीको अभावका कारण ब्यवसायीकभन्दा घरायसी प्रयोजनका लागि सिमित छ ।

तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनिकरण गर्न पहल गरिएको छ । तोरीखेतीमा म्याग्दी, बागलुङ लगायत आसपासका क्षेत्रबाट समेत घुम्न जाने गरेका छन् । समथर भुभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तेरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाई छ ।

राजा गीर्वाणयुद्धको चिनोस्वरूप रहेको बूढो पोखरी, उत्तरतर्फ चाँदीभै टल्कने हिमशृङ्खला, पूर्वतर्फ कलकल बगेको कालीगण्डकी, दक्षिणतर्फ ढाडेनी खोला र त्यसको पारिपट्टि देखिने बागलुङका कुडुले, फेदी र धार्मिक पर्यटकीयस्थल पञ्चकोटले रत्नेचौर पुग्ने जोकोहीलाई पनि लोभ्याउने गरेको स्थानीय विष्णु बहादुर क्षेत्रीले बताउनुभयो । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । म्याग्दीको सदरमुकाम बेनी र बागलुङको पञ्चकोट घुम्न जानेलाई तोरीबारीले आर्कषित गर्ने गरेको छ ।

बेनी नगरपालिका–१,रत्नेचौरको बस्तीमा तोरीको फुल फुलेर पहेँलपुर । तस्वीर सौजन्य सन्तोष महत

 

Leave a Reply