पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयको भवन निर्माण तीव्र रुपमा अगाडि बढेको छ । मालिका–६, दरबाङस्थित छ्याछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवनको निर्माणले तीव्रता पाएको हो । बेलायती संस्था ९ब्रिटिस गोर्खा वेलफेयर०को दुई करोड ८५ लाख रुपैयाँको आर्थिक सहयोगमा ट्रससहित १६ कोठे विद्यालय भवनको निर्माण कार्य भइरहेको छ ।

यसमध्ये विद्यालयले १० प्रतिशत रकम बेहोर्ने भएको छ भने मालिका गाउँपालिकाले विद्यालयको घेराबार निर्माण गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । दुई वटा ब्लकमा तलामुनि तीन–तीन र तलामाथि तीन–तीन वटा कोठा निर्माण हुनेछन् । यसैगरी यसअघि निर्माण गरिएको विद्यालय भवनको तलामाथि थप चार वटा कोठा पनि निर्माण गरिने विद्यालयले जनाएको छ ।

प्रति कोठा २१ फिट लम्बाई र १५ फिट चौडाइको निर्माण हुने कोठामा ४५ जना विद्यार्थीहरू अटाउने क्षमताका कोठा बन्नेछन् । विद्यालयको पर्खाल (गाह्रो)को उचाइ मात्रै २० फिटको बनाइनेछ । गएको डिसेम्बर ७ तारिखबाट विद्यालय भवनको निर्माण कार्य सुरु गरिएकोमा हालसम्म ३० प्रतिशत भौतिक निर्माणको काम भएको ब्रिटिस गोर्खा वेलफेयरको प्रोजेक्ट म्यानेजर डम्बर थापाले जानकारी दिनुभयो ।

विद्यालय भवन निर्माणको दिनगन्तीका हिसाबले काम भइरहेको छ भने अहिले दैनिक २५ जना स्थानीय मजदुरले रोजगारी पाएका छन् । विद्यालय भवनको निर्माणकार्यमा संलग्न सबै मालिका गाउँपालिका भित्रका स्थानीय नै हुन् । उनीहरूमध्ये नाइके मजदुरको दैनिक एक हजार दुई सय रुपैयाँ ज्याला तोकिएको छ भने दक्ष मजदुरको एक हजार र अर्धदक्षको आठ सय रुपैयाँ ज्याला रहेको छ ।

निर्माणाधीन भवनको तलामुनि आरसीसी ढलान गरिने भएको छ भने तलाभन्दा माथि ट्रसले निर्माण गरिने प्रोजेक्ट म्यानेजर थापाले बताउनुभयो । उहाँका अनुसार संस्थामार्फत विद्यालय भवन निर्माणको काममा व्यवस्थापन र प्राविधिक सहयोग गरिएको छ । निर्माणाधीन विद्यालय भवनको सन् २०२२ को आगामी जुन महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

ब्रिटिस गोर्खा वेलफेयरले सानातिना दुई तीन कोठे ट्रसका विद्यालय भवनहरू पनि बनाउँदै आएको छ । २००८ सालमा म्याग्दी जिल्लामै सबैभन्दा पहिला स्थापना गरी सञ्चालन गरिएको जनप्रिय माविमा हाल ६ सय ५० जना विद्यार्थीहरू अध्ययनरत छन् । बाल शिक्षादेखि कक्षा १२ सम्म अध्ययन तथा अध्यापन हुँदै आएकोमा शिक्षक, कर्मचारी गरी कुल २२ जनाको जनशक्ति रहेको विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले बताउनुभयो ।

तीन वर्षको लामो अथक प्रयासपछि बेलायती सेनाबाट रिटायर्ड मालिका गाउँपालिकाको रुन्माका क्याप्टेन जीतबहादुर घर्तीको सिफारिसमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा विद्यालय भवन निर्माण थालिएको प्रअ सुवेदीको भनाइ छ ।

विद्यार्थीको बढ्दो चाप, कक्षाकोठा थोरै, खेलमैदानको अभाव, व्यवस्थापन तथा अनुगमनलगायत सबै हिसाबले समस्या भएपछि क्याम्पसको पूर्वाधार खडा गर्नका लागि पनि विद्यालय भवन बनाउन लागिएको हो ।

विद्यालयको आफ्नै २६ रोपनीको जग्गामा विद्यालय भवन निर्माण कार्य अहिले धमाधम भइरहेको छ । विद्यालयमा दरबन्दीतर्फ १४, राहतका ३, बाल शिक्षा २, निजीतर्फ १, विद्यालय कर्मचारी १ र कार्यालय सहयोगी १ जना कार्यरत रहेका छन् ।

Leave a Reply