Traders pack oranges to supply to markets in Rakhu, Bhakimli-5 of Myagdi district, on Wednesday, December 21, 2016. Photo: RSS

चालु आर्थिक वर्ष २०७८-७९ मा धौलागिरि क्षेत्रमा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष साबिक धौलागिरि अञ्चलको म्याग्दी, बागलुङ र पर्वत जिल्लामा गरी कुल १३ हजार १ सय ५६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

परियोजना कार्यान्वयन इकाई मुस्ताङको वार्षिक स्वीकृत कार्यक्रमअनुसार जोन प्राविधिक इकाई म्याग्दीबाट जोन क्षेत्रभित्र सुन्तला बालीमा गरेको बाली कटानीको आधारमा जोन क्षेत्रभित्र सो परिमाणमा सुन्तला उत्पादन भएको जनाइएको छ । यस वर्ष १२ दशमलव ८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएकोमा सुन्तला जोन क्षेत्रअन्तर्गत म्याग्दी, बागलुङ र पर्वतमा १ हजार ३० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला लगाइएको थियो ।

व्यावसायिक सुन्तला खेतीका लागि कुल ६५ वटा कृषकका फर्म, कृषक समूह र कृषि सहकारीहरू रहेको जोन प्राविधिक इकाई म्याग्दीका नायव प्राविधिक सहायक रुपा विकले जानकारी दिनुभयो । जोनमार्फत कार्यक्रम लागू भई सञ्चालन भएकोमा कृषकहरूको व्यक्तिगत फर्म ५४, कृषक समूह ७ र कृषि सहकारी २ वटा यस वर्ष व्यावसायिक रूपमा सुन्तला खेतीका लागि जोन प्राविधिक इकाइमा सुचीकृत भएका छन् । धौलागिरि क्षेत्रमा उत्पादित सुन्तला स्थानीय लोकल जातको रहेको कृषकहरूले बताएका छन् ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा र मंगलामा जोन प्राविधिक इकाई मार्फत सुन्तलाको कार्यक्रम लागू भई सञ्चालनमा रहेको छ भने धवलागिरि र मालिका गाउँपालिकामा भने यसपटक कार्यक्रम छैन । यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका र काठे खोला गाउँपालिका तथा उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै सुन्तलासम्बन्धी कार्यक्रम लागू भई सञ्चालनमा रहेको छ । कार्यक्रम लागू भएका पालिकामा जोन प्राविधिक इकाई बाट सञ्चालित सुन्तला जात फलफूलको कार्यक्रमले सुन्तला खेतीका लागि आवश्यक क्षेत्रफल ओगटेको छ

जोन प्राविधिक इकाई मार्फत कार्यक्रम सञ्चालन भइरहेका पालिका र कृषकहरूलाई लक्षित गरेर सिँचाइ कृषि यान्त्रीकरणमा सहयोग, सुन्तलाको क्षेत्रफल विस्तार, सङ्कलन केन्द्र स्थापना र सुन्तला बगैँचा सुदृढीकरण जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको नायव प्राविधिक सहायक विकले बताउनुभयो । त्यस्तै कृषकहरूलाई तालिममार्फत बिजन र विषादी सहयोग, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम, किसानहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तलाको बिरुवाहरू सहयोगलगायत कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

आफूले १२ रोपनी जग्गाको क्षेत्रफलमा सुन्तला खेती गरेको हुँदा २ रोपनीमा लगाएको सुन्तलाले उत्पादन दिएकोमा यस वर्ष सुन्तला बेचेर साढे दुई लाख रुपैयाँ आम्दानी गरेको बागलुङको काँठे खोला गाउँपालिका–६, किम्बोटका कृषक बालानन्द कँडेलले अनुभव सुनाउनुभयो । उहाँले किम्बोट क्षेत्रमा उत्पादित सुन्तला सहकारी संस्थामार्फत बागलुङ बजार हुँदै पोखरा र नारायणघाटको बजारमा बिक्री गरेको जानकारी दिनुभयो ।

तीन वटै जिल्लामा सुन्तलाको क्षेत्रफल विस्तार गरिएको हुँदा वर्षेनी उत्पादनमा समेत वृद्धि हुँदै गएको तथ्याङ्कमा देखिन्छ । ग्रामीण क्षेत्रका कृषकहरूले नगदेबालीबाट मनग्य आम्दानी हुन थालेपछि खाद्यान्न बाली उत्पादन हुने खेतबारीलाई मासेर व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । धौलागिरि क्षेत्रमा उत्पादित सुन्तलाको बजार म्याग्दी, पर्वत, बागलुङ, पोखरा, चितवन, बुटवल, भैरहवा र काठमाडौँसम्म पुग्ने गरेको छ ।

Leave a Reply