नेपालमा २५ प्रतिशत मानिस मुटुरोगसँग जुधिरहेको तथ्यांक छ । अघिल्लो वर्षमात्रै मुटुसँग सम्बन्धित रोगका कारण ३० हजार ५५९ को मृत्यु भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उक्त रक्तचाप, मधुमेह लगायत मुटुसँग सम्बन्धित रोगीको जनसंख्या बढेको छ । यो अवस्थामा सुधार नआउने हो भने मुटुरोगले महामारीको रूप लिनेछ । वंशाणुगत, अत्यधिक मदिरा सेवन, मानसिक तनाव, मोटोपना, अस्वस्थकर खानेकुरा र व्यायामको कमीले विश्वमा मुटुरोगी बढ्दै गएका छन् ।

प्रस्तुत छ, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी मुटु सर्जन डा. दीक्षा जोशीसँग आर्थिक अभियानका काशीराम बजगाईंले मुटुरोगको सेरोफेरोमा रहेर गरेको कुराकानीको सार: मुटुरोग के कति प्रकारको हुन्छ ? मुटुरोग धेरै प्रकारको हुन्छ । जन्मजात मुटुरोग साइनोटिक हार्ट डिजिज र असाइनोटिक हार्ट डिजिज गरी दुई प्रकारको हुन्छ । साइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुनुका साथै शरीरमा अक्सिजनको मात्राको कमी भई शरीर नीलो हुन्छ । असाइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुने र मुटुको बनावट प्रक्रियामा पनि खराबी हुन्छ, तर यसमा अक्सिजनको मात्रा कमी हुँदैन । त्यस्तै बाथ मुटुरोग, मुटुको धमनीमा रक्त सञ्चालन नहुँदा हुने लगायतका गरी  विभिन्न प्रकारका मुटुरोग हुन्छन्।

मुटुरोगका लक्षण के के हुन् ? मुटुरोगमा छाती दुख्ने, खुट्टाहरू सुन्निने, कफमा रगत देखिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, बेहोश हुने, थकाइ लाग्ने लगायत लक्षण देखिन सक्छन् । तर यस्ता लक्षण देखिनेबित्तिकै मुटुरोग नै भन्न सकिँदैन । विभिन्न चेकजाँच गरेर मुटुरोग पत्ता लगाउन सकिन्छ ।

कुन अवस्थामा मुटुको शल्यक्रिया गर्नुपर्छ ? मुटुरोगको प्रकारअनुसार कहिले शल्यक्रिया गर्ने भन्ने निर्भर हुन्छ । साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्दा राम्रो हुन्छ । तर असाइनोटिक हार्ट डिजिजमा फोक्सोको प्रेसर र मुटुको खुम्चने शक्ति ठीक छ भने केही समय कुर्न सकिन्छ । असाइनोटिक हार्ट डिजिजमा जन्मेको २ वर्षभित्र मुटुको बनावट ठीक हुने तथा मुटुको प्वाल आफै टालिने हुँदा पर्खिन सकिन्छ । तर २ वर्षपछि भने तुरुन्त यसको पनि शल्यक्रिया गर्नुपर्छ । त्यस्तै मुटुको बाथ रोगमा भल्भ, मुटुको खुम्चने शक्ति फोक्सोको प्रेसर हेरेर त्यसअनुसार शल्यक्रिया गर्नुपर्छ । कोरोनरी हार्ट डिजिजमा तीन तहमा उपचार गरिन्छ ।

शुरूमा मुटुमा ५० प्रतिशतभन्दा कम अवरोध छ भने औषधि उपचार गरिन्छ । अवरोध ५० प्रतिशतभन्दा बढी र दुई धमनीमा सीमित छ भने एन्जियाप्लास्टी वा स्टेन्टको सहायताले धमनी खोल्ने प्रयास गरिन्छ । तर रोग तीन वा तीनभन्दा बढी धमनीमा फैलिएको छ तथा रक्तसञ्चार हुने मुख्य धमनीमा रोग फैलिएको, मुटुको खुम्चने शक्ति कम भएको र मधुमेह, उच्च रक्तचाप लगायत अन्य रोग भएको अवस्थामा बाइपास शल्यक्रिया गरिन्छ ।

मुटुको शल्यक्रियाको क्रममा के कस्तो जोखिम आउन सक्छ ? मुटुको शल्यक्रिया भनेको ओपन हार्ट सर्जरी हो । ओपन हार्ट सर्जरी गर्दा हामी मुटुलाई बन्द गर्छौं । मुटु बन्द गर्दा मान्छे कसरी बाँच्छ भन्ने सवाल पनि आउन सक्छ । उक्त शल्यक्रिया गर्दा हार्ट लङ मेशिनको प्रयोग गरिन्छ । मुटु पूर्ण बन्द हुँदा पनि मुटु र फोक्सोले गर्ने सम्पूर्ण काम उक्त मेशिनले गर्दछ । यही बेला मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने, बाइपास शल्यक्रिया गर्ने लगायत काम हुन्छन् ।

त्यसपछि मुटुलाई चालमा ल्याएर मेशिन बन्द गरिन्छ । संसारमै सबैभन्दा गाह्रो शल्यक्रियाको रूपमा मुटुको शल्यक्रिया रहेको छ । यसरी मुटु बन्द गरेर मेशिनद्वारा मुटु र फोक्सोले गर्ने काम गराइने हुँदा ओपन हार्ट शल्यक्रियामा जोखिम त हुने नै भयो । यस्तै शल्यक्रियापछि रगत धेरै बग्ने, घाउ पाक्ने, प्यारालाइसिस हुने, मिर्गौलामा समस्या देखिन सक्ने, मुटुको चाल बिग्रिएर पेसमेकर राख्नुपर्ने र ज्यानै जान सक्ने सम्भावना पनि हुन सक्छ । तर चिकित्सकले वढो होशियारीका साथ शल्यक्रिया गरी विरामीलाई ठीक पार्ने काम गरिन्छ ।

शल्यक्रिया कति प्रतिशत सफल र कति असफल हुन्छ ? रोगअनुसार फरक पर्छ । रोग कति गम्भीर भइसकेको छ भन्ने कुरामा सफल र असफल निर्भर हुन्छ । सही समयमा बिरामी आउने हो र शल्यक्रिया हुने हो भने सामान्य शल्यक्रियामा १ प्रतिशतभन्दा कम मात्र मृत्यु हुने सम्भावना हुन्छ । रोग जटिल अवस्थामा पुगिसकेकोे छ र मुटु नै खराब भइसकेको छ भने चाहिँ असफल हुने सम्भावना उच्च हुन्छ । त्यसैले मुटुरोगको चेकजाँच र उपचार समयमै गर्नुपर्ने हुन्छ ।

नेपालमा सबैभन्दा बढी शल्यक्रिया हुने मुटुरोग कुन हो ? पछिल्लो समयमा मुटु बाथरोगका कारण मुटुको भल्भ मर्मत गर्ने र फेर्ने शल्यक्रिया सबैभन्दा बढी हुने गरेको देखिन्छ । विश्वव्यापी रूपमा झन्डै उन्मूलन भइसकेको यो रोग हाम्रो जस्तो देशमा चाहिँ अझै बाँकी छ । मुटुको बाथरोग विकट क्षेत्रहरूमा बढी देखिएको छ । डाक्टरको अभाव र सही समयमा सही उपचारको अभावले त्यस्ता ठाउँका मानिसमा यो रोग बढी पाइन्छ । ५ देखि १५ वर्षसम्मको बच्चामा देखिने घाँटीको संक्रमण (ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शन)को राम्रो उपचार भएन भने यो रोग लाग्न सक्छ ।

मुटुको शल्यक्रियापछि रिकभरीका लागि कति समय लाग्छ ? केही जटिलता नभएको अवस्थामा सामान्यतया छिट्टै रिकभरी हुन्छ । शल्यक्रिया गरेका बिरामीलाई २–३ दिनमा उठ्ने, हिँड्ने, छातीको कसरत गराउने काम गरिन्छ । बिरामी पुराना क्रियाकलापमा जति छिटो अभ्यस्त हुन्छ, त्यति छिटो रिकभरी हुन्छ । अन्य रोगमा जस्तो आराम गर्नुपर्ने यसमा हुँदैन । तर भारी सामान उठाउने, मोटरसाइकल चलाउने लगायत काम गर्नुहुँदैन । यस्तो क्रियाकलापले शल्यक्रिया गरिएको ठाउँमा असर पार्ने गर्छ । सामान्यतया यस्ता क्रियाकलाप ३ महीनापछि मात्र गर्नुपर्छ ।

मुटुरोगबाट कसरी बच्न सकिन्छ ? जन्मजात मुटुरोगबाट बच्न बच्चा गर्भावस्थामा हुँदा नै बच्चाको मुटुमा समस्या भए/नभएको जाँच गर्न सकिन्छ । परिवारमा अन्य कुनै व्यक्तिलाई अथवा अघिल्लो बच्चामा मुटुरोग देखिएको छ भने यस्तो किसिमको जाँच अनिवार्य गर्नुपर्छ । अर्को कुरा, धेरै कम उमेरमा र धेरै बढी उमेरमा नभई ठीक समयमा बच्चा जन्माउनुपर्छ । मुटु बाथरोगबाट बच्न चाहिँ ५ देखि १५ वर्ष उमेरको बच्चामा हुने ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शनको उपचार गर्नुपर्छ । त्यस्तै कोरोनरी आर्टी डिजिजबाट बच्न स्वस्थ खाना खाने, नियमित व्यायाम गर्नुका साथै धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थ लगायत स्वास्थ्यका लागि हानिकारक वस्तुको सेवन गर्नु हुँदैन । त्यस्तै मधुमेह, उच्च रक्तचाप जस्ता रोगको समयमै उपचार गराउनुपर्छ । आफ्नो जीवनशैलीमा ध्यान दिने हो भने यस किसिमको मुटुको रोगबाट बच्न सकिन्छ ।

मुटुको शल्यक्रियापछि जीवनयापनमा केही जटिलता पनि आउँछ ? सामान्य मुटुको प्वाल टाल्ने शल्यक्रियाले जीवनयापनमा खासै फरक पर्दैन । मुटुको भल्भ फेरिएको, कार्बन धातुको भल्भ राखिएको हो भने रगत पातलो गर्ने वार्पmरिन नामक औषधि जिन्दगीभर सेवन गर्नुपर्छ । उक्त औषधि बढी खाए नसा फुट्ने र रगत बग्ने तथा कम खाए भल्भ रोकिने तथा मुटु बन्द हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक महीना रगतको जाँच गरी सही मात्रामा औषधि सेवन गर्नुपर्दछ । यो औषधि सेवन गरिरहेको अवस्थामा पेटमा बच्चा रह्यो भने ५ देखि १५ प्रतिशतसम्म बच्चा अंगभंग हुन सक्ने, केही अंगविनै जन्मिन सक्ने हुँदा महिलाले विशेष ध्यान दिनुपर्दछ । बाइपास शल्यक्रिया गरेका व्यक्तिले चाहिँ खानपिन र जीवनस्तरमा ध्यान दिई औषधि नियमित सेवन गर्नुपर्दछ ।

मुटुको शल्यक्रिया कत्तिको महँगो हुन्छ ? मुटुको शल्यक्रिया संसारमै सबैभन्दा महँगो शल्यक्रिया मानिन्छ । नेपालमा भने सरकारले मुटुरोगीका लागि विशेष व्यवस्था गरेको छ । यस कारण नेपाल मुटुको शल्यक्रिया सबैभन्दा सस्तो र सजिलो हुने देशमध्ये पर्छ । नेपालमा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया पूर्ण निःशुल्क छ । यसबाहेक मुटुको अन्य शल्यक्रियाका लागि नेपाल सरकारले विपन्न वर्गलाई १ लाख अनुदान प्रदान गर्दै आएको छ । त्यसैले नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रिया नहुने अवस्थाबाट कोही पनि वञ्चित हुनुपर्दैन । Source: abhiyandaily.com

Leave a Reply