आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर १ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको छ ।

घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा नेता श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा २०७४ को चुनावमा आफु अध्यक्ष पदमा विजयी भएको र पहिलो कार्यकाल सफल भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । घरदैलोको अभियानमा निवर्तमान गाउँपालिका अध्यक्ष रोका मगरले अघिल्लो कार्यकालमा आफ्नो नेतृत्वमा भएका उपलब्धी ,पहल तथा आगामी योजनाहरु सुनाउँनुभएको छ ।

आफ्नो कार्यकालमा कुनै पनि वडालाई विभेद नगरेको बताउनुभयो । वडाबाट छनौट भएर आएका योजनालाई आवश्यकताको आधारमा बजेट विनियोजन तथा ठुला योजनाहरुलाई प्रदेश र संघ सरकारकारसंग पहल गरेको बताउनुभयो।

‘यहाँहरु सबैको सहयोगले पहिलो स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा विजयी हुने मौका पाएँ र पहिलो कार्यकाल सफलता पुर्वक सम्पन्न भयो ,’उहाँले भन्नुभयो ,‘अघिल्लो कार्यकालमा समृद्ध गाउँपालिका निर्माणको लागि जग बसाल्ने काम गरेको छु । आगमी कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न र गाउँपालिकालाई समृद्ध बनाउन पुनः उम्मेदवारी दिएको हुँ ।’

गाउँपालिकालाई समृद्ध ,विकसित र शुसासन युक्त बनाउनको लागि आफु लगायतको टिमलाई भोट दिएर विजयी बनाउन अपिल समेत गर्नुभयो । यस अघिको कार्यकालमा गाउँपालिकामा क्याम्पस संचालन गर्न आफुले पहल थालेको बताउनुभयो।

अध्यक्षका उम्मेदवार रोका मगरले आगमी कार्यकालमा सडकलाई व्यवस्थित बनाउने ,कृषि उपजको बजार सुनिश्चित गर्ने ,किसानी प्राविधिक शिक्षालयलाई थप व्यवस्थित बनाउने तथा गाउँपालिकामा क्याम्पस संचालनलाई प्राथमिकता दिने बताउनुुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ देविस्थान ,वडा नम्बर ३ डाडागाउँ ,वडा नम्बर ४ को च्युरिबोट लगायत वडाका विभिन्न बस्तीमा घरदैलो अभियान संचालन गरेको कांग्रेसले जनाएको छ । घरदैलो अभियानमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार पिपला बुढा , वडा अध्यक्ष , सदस्य उम्मेद्धारहरु ,कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेस म्याग्दीले जनाएको छ ।

Leave a Reply