म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा आज मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । एमाले धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आउँदो ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनाबी सभा, घरदैलो र मतदाता भेटघाट गरिएको हो ।

लुलाङको चुनाबी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पनालाई साकार पार्नका लागि एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले देश विकास र जनमुखी नीति, कार्यक्रम तथा बजेट ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउँदै फेरि पनि एमालेको पक्षमा मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गर्नुभयो ।

सोही सभामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पुष्कर विकले दलित, उत्पीडित, किसान र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी एमाले भएकाले आसन्न निर्वाचनबाट एमालेको नेतृत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले म्याग्दीका उपसचिव एवं धवलागिरि गाउँपालिकाको अध्यक्षका उम्मेदवार थमसरा पुनले दुर्गम तथा विकट क्षेत्रको विकास, महिलाको आर्थिक सशक्तिकरण र युवालाई गाउँमै स्वरोजगार बनाउन पुनः एकपटक आफू निर्वाचनमा होमिएकाले मतदातालाई भोट दिन आग्रह गर्नुभयो ।

एमाले धवलागिरि गाउपालिका कमिटी अध्यक्ष एवं पालिकाको कार्यवाहक अध्यक्ष रेशम छन्त्यालले सर्वहारा र श्रमजीवी वर्गको प्रतिनिधित्व नेकपा एमालेले मात्रै गर्ने भएको हुँदा आगामी चुनाव पनि एमालेले नै जित्ने दावी गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार प्रगति कार्कीले धवलागिरि गाउँपालिकामा रहेको स्रोतसाधनको परिचालन गरी पालिकाको समुचित विकास गर्न आफू चुनाबी मैदान उत्रिएको बताउँदै जनप्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ ।

कार्यक्रममा एमाले म्याग्दीका जिल्ला सदस्य ईश्वर सुवेदी, एमाले नेता दलमान विक, लुलाङको वडाध्यक्षका उम्मेदवार अकप्रसाद विक, वडाध्यक्ष गमप्रसाद विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पालिकाको उम्मेदवारसहितको टोलीमा लुलाङका वडा सदस्यका उम्मेदवारहरु डिलकुमारी विक, सुवादेवी पूर्जा, मिमबहादुर पाईजा र तिलाराम परियारले आफू र पार्टी नेतृत्वको टिमलाई भोट मागिरहनुभएको छ ।

यसैगरी उम्मेदवारसहितको एमाले टोलीले आजै लुलाङको लमसुङ र खोरियामा पनि घरदैलो कार्यक्रम आयोजना गरी मतदाता भेटघाट गरेको जनाएको छ । यसअघि सोमबार धवलागिरिको मुना र ताकममा चुनावलक्षित कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave a Reply