????????????????????????????????????

नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेदवारले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन र समृद्धिका लागि कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वमा संविधान निर्माण देखि विभिन्न परिवर्तन सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मगरले वडा नम्बर ४ लगायत सात वटै वडाका जनताको आवश्यकता र समस्या पहिचान गरी आफुहरुले काम गर्ने बताउनुभयो । वडा नम्बर ४ को ओखरबोट स्थित तामाखानी उत्खनन गर्ने प्रक्रियाको काम अघि बढेको उहाँको भनाई छ । पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न र समृद्ध गाउँपालिका निर्माण गर्न आफुले पुनःउम्मेदवारी दिएको बताउनुभयो ।

पहिलो कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मदवार रोका मगरले बताउनुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको उहाँको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले महिला , दलित र पिछडीएका समुदायको हक अधिकार थप प्रभावकारी बनाउने बताउनुभयो । निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेदवार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेदवार भेजेन्द्रमान पुनले वडाको समग्र विकास र सुशासन कायम गर्न आफुले काम गर्ने बताउनुभयो ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम नगरेको उहाँले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा वडा भित्रका सबै गाउँमा समान रुपमा बजेट वितरण प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चुनाव प्रचारप्रसार संयोजक मनमोहन बुढाथोकी छन्त्याल, कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन, प्रचारप्रसार सदस्य लेकबहादुर पुन र वडा सदस्य उम्मेदवार गर्भे गुरुङले वडाको विकास गर्न कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन अपिल गर्नुभयो ।

यसअघि निर्वाचित जनप्रतिनिधिले वडाबासीको अपेक्षा अनुसार काम नगरेको र वडा कार्यालयबाट सेवा नदिएर जनतालाई थप दुःख दिने काम गरेको बताउनुभयो । कांग्रेस प्रदेशसभा ख का सचिव हिरा पुनले संचालन गर्नुभएको कार्यक्रममा वडा इकाई सभापति तमबहादुर पुनले स्वागत गर्नुभएको थियो ।

Leave a Reply