स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन्। यसैक्रममा बुधबार म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ।बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले आसन्न चुनावपछि एमाले फेरि सत्तामा पुग्ने बताउनुभयो ।

उहाँले यसअघि एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दागर्दै देशी, विदेशीलगायत विभिन्न शक्तिको जालझेलका कारण सरकार ढलेको भन्दै चुनावमा एमालेलाई जनताले बहुमत दिएर पुन सरकारमा पठाउने विश्वास लिनुभयो।

म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले जनप्रतिनिधिको हैसियतमा आफूले म्याग्दीलाई हिमाली जिल्ला बनाउने, ठाउँठाउँमा विद्यालय भवन, सडक, खानेपानी योजना, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकासमा पर्याप्त बजेट विनियोजन गर्नुका साथै विकास निर्माणको पहल गरेको बताउनुभयो ।

उहाँले एमालेको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गर्ने, नेपालको नयाँ नक्सा जारी गर्ने, वृद्धभत्ता बढाउने, देशलाई सुरुङमार्गमा लैजाने, रेलसेवा र पानीजहाज चलाउने कामको सुरुवात गरेको भन्दै अब ती विकासका योजनालाई संस्थागत बनाउनका लागि पनि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्न एमालेलाई जनताले भारी मत दिएर सत्तामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेस–माओवादी र अन्य पार्टी गफ मात्रै गर्ने र एमाले काम गरेर देखाउने एकमात्र पार्टी भएको बताउँदै आउँदो निर्वाचनमा एमाले पार्टी र एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले सम्बोधन गर्दै नगर क्षेत्रमा सबैलाई स्वास्थ्य बीमा गर्ने, आर्थिक विपन्नलाई सघाउने र कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बजारीकरणमा सहयोग गर्नेलगायत थुप्रै योजनाहरु अगाडि सारेर आफूहरु चुनावमा होमिएको बताउनुभयो । बेनी नगरपालिका–५, पुलाचौरको वडा अध्यक्षका उम्मेदवार गोविन्द बानियाँले आफू नेतृत्वको वडामा उठेको एमालेको टिमले पाँच वर्षभित्र वडालाई समृद्ध बनाउने योजनासहित चुनावमा लागेको बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष रावल, प्रदेश कमिटी सदस्यद्वय लक्ष्मण बानियाँ, प्रमोद श्रेष्ठ, एमाले जिल्ला सचिवालय सदस्य रामप्रसाद सुवेदी, जिल्ला कमिटी सदस्य अमर बानियाँ, बलादेवी राई, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेललगायत एमाले नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

पुलाचौरको वडाध्यक्षका उम्मेदवार बानियाँसहित सदस्यहरु दुर्गा पौडेल, डम्बरबहादुर बानियाँ, देवीदत्त पौडेल र मनिसा नेपालीले पनि आ–आफ्नो योजना सुनाउँदै जनतासमक्ष मत मागिरहनुभएको छ ।

नेकपा एमाले पुलाचौर वडा कमिटीका अध्यक्ष दिनेश कार्की र भीरमुनी टोल कमिटी अध्यक्ष होमबहादुर बरुवालको अध्यक्षता, बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न चुनावी सभा कार्यक्रममा साविक पुलाचौर गाविसका पूर्व उपाध्यक्ष भोजबहादुर कार्की तथा एमालेका स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु थमसरा पुन, प्रगति कार्की र राजाराम उपाध्यायसहितको टोलीले चुनावी सभा गरेको छ ।

त्यस्तै मालिका–४, ओखरबोटमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु बेगप्रसाद गर्बुजा, लक्ष्मी पुन र गोपाल कँडेलसहितको टोलीले घरदैलो र मतदाता भेटघाट गर्नुका साथै फुलबारीमा चुनावी सभा सम्पन्न गरेको छ ।

एमाले मंगला गाउँपालिकाको आयोजनामा पनि बरंजास्थित धापुङमा पालिका र वडाका उम्मेदवार सतप्रसाद रोका, प्रेमकुमारी अधिकारी र लक्ष्मी पुनसहितको टोलीले कार्यक्रम गरेको जनाएको छ ।

यता एमाले रघुगंगा गाउँपालिका कमिटीले झँीमा पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु प्रेमबहादुर कार्की, यामकुमारी गर्बुजा, तेजु शेरपुञ्जासहितको टोलीले चुनावी प्रचार गर्नुका साथै मतदातासमक्ष भोट मागेका छन् ।

अन्नपूर्णको दोवामा एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु भरत पुन, दिवाकुमारी तिलिजा पुन र कुलप्रसाद पूर्जाको टोलीले पनि चुनावी कार्यक्रम गरी मतदातालाई भोट मागेर एमालेलाई विजयी बनाउन आह्वान गर्नुभएको छ ।

 

Leave a Reply