म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका प्रत्यासी बलबहादुर तिलिजाले आफू निर्वाचित भए सरकारबाट प्राप्त सेवा–सुविधाको समेत प्रयोग गरी विपन्न, लक्षित बर्गका बालबालिकालाई निशुल्क शिक्षा तथा विपन्नलाई स्वास्थ्य विमा गरिदिने बताउनुभएको छ ।

राजनीतिमा आउनुभन्दा समाजकै लागि धेरै काम गरेको बताउँदै तिलिजाले पालिकाभित्रका सबै वडाका बस्ती–बस्तीका जनतालाई निशुल्क शिक्षा,स्वास्थ्य सहितका सेवामा खर्च गर्ने गरी सरकारी सेवासुविधालाई समुदायको हितमा प्रयोग गर्ने बताउनुभयो ।

‘मलाई हातमुख जोड्न समस्या छैन,‘मैले आफ्नो लागि केही कमाऊँ भन्ने सोच पनि छैन,‘सुविधाबाट सबै जनतालाई निशुल्क स्वास्थ्य बिमा गरिदिन्छु’ अध्यक्ष तिलिजाले भन्नुभयो । आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेकाले मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पणका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

अन्नपूर्णका सबै वडाबाट प्राप्त समस्याको सूचीलाई पहिलो प्राथमिकता दिने बताउँदै नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहनुभएका तिलिजाले प्राप्त सम्पूर्ण राज्यको सेवा–सुविधालाई सरकारी सिस्टमबाटै जनताको सेवासुविधामा खर्च गर्ने प्रणालीको विकास गर्ने बताउनुभयो।

यसैबीच उपाध्यक्षकी प्रत्यासी ललिता तिलिजाले विपन्न महिलाको उत्थान तथा महिलाको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

यसैबीच अन्नपूर्ण–६ घारमा आमसभा सम्पन्न भएको छ ।आमसभामा नेपाली कांग्रेस प्रदेश क सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन,नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष अमृतमान शेरचन, वडा अध्यक्ष कृष्णबहादुर बरुवाल, नेकपा माओवादी केन्द्रका नेता बागविर पाइजा लगायतले मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा शिखको चित्रेबाट नेकपा एमाले परित्याग गरी ९ जना यूवा कांग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply