बेनी नगरपालिका-७, मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मौन अवधी शुरु हुनुभन्दा एक दिनअघि सम्पर्क कार्यालयमा पत्रकार भेटघाट गरेर शाक्यले आफ्ना प्राथमिकता र मुद्दा सार्वजनिक गर्नुभएको हो ।

“कर्मचारीको रुपमा काम गर्दा बेनी बजारबासीहरुको समस्या र आवश्यकताको बारेमा जानकार भएको छु । त्यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने मलाई अनुभव छ,” उहाँले भन्नुभयो “मेरो अनुभवलाई बेनीलाई सुन्दर, विकसित र नमुना वडा बनाउन चुनावी मैदानमा आएको हो ।”

बेनी बजारको यातायात ब्यवस्थापन, नदी नियन्त्रण, ढल र फोहोर ब्यवस्थापन, पर्यटन विकास, अब्यवस्थित बसोबासको समस्या समाधान, सार्वजनिक जग्गाको संरक्षणमा प्राथमिकता दिने शाक्यले बताउनुभयो । गत मंसिर महिनामा बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको विकासमा खर्चिने अठोट गर्नुभएको छ ।

झण्डै ४१ बर्ष लामो सरकारी सेवाको दैरानमा शाक्यले २०५५ देखि प्राविधिक सहायक पदबाट स्थायी रुपमा सरकारी सेवा प्रवेश गर्नुभएको थियो । गत मंसिरमा बेनी नगरपालिकामा सहायक स्तर पाँचौँ (नायब शुब्बा) पदबाट अनिवार्य अवकास लिनुभएको थियो ।शाक्यको समर्थन र प्रचारप्रसारका लागि सोमबार अपराहन्न बेनी बजारमा युवाहरुले मोटरसाइकल ¥याली गरेका थिए ।

Leave a Reply