स्थानीय तह निर्वाचन–२०७९ को मतदान गर्न दुई दिन बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले चुनावलक्षित कार्यक्रमहरु गरेका छन् । आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा नेकपा एमालेका उम्मेदवारले घरदैलो र चुनावी सभा तथा गाउँगाउँमा चुनावलक्षित कार्यक्रम गरेका हुन् ।

बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाही, एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र वडा अध्यक्ष उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहित अन्य उम्मेदवारहरु तथा एमाले नेता, कार्यकर्ताको टोलीले बेनीबजारमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरेको जनाएको छ । उक्त टोलीले बेनीको कालीपुल, शिक्षामार्ग, क्याम्पसचोक, न्युरोड, हुलाकचोक, वीरेन्द्रचोक, मङ्गलाघाट, बालमन्दिरचोक, बैंकरोड, सङ्गमचोक, गणेशटोल हुँदै गलेश्वरमा घरदैलो गरेको छ ।

क्याम्पसचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले स्थानीय तहमा नेकपा एमालेलाई जिताउन सकेमा समृद्ध नेपालको अभियान साकार हुने बताउनुभयो । उहाँले जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार भएको बताउँदै देशको समृद्धि र आर्थिक उन्नति हासिल गर्नका लागि नेकपा एमाले र एमालेका उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै एमालेबाट बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसीले बेनीबजारको अव्यवस्थित विद्युतको तार हटाउनेलगायत योजनाहरु लिएर आफूहरु चुनावी मैदानमा होमिएको बताउनुभयो । उहाँले बेनी नगरपालिका क्षेत्रको खेतबारीमा माटो परीक्षण गरी सोहीअनुसार कृषि बाली लगाउने र उत्पादित कृषि उपजको बिक्री वितरणको व्यवस्था मिलाउन बजारीकरणको प्रवन्ध गर्ने, नगर क्षेत्रभित्र बाह्रै महिना सवारीसाधन सञ्चालन हुन सक्ने बनाउन आवश्यक व्यवस्था गर्ने लगायतका योजनाहरु सुनाउनुभयो ।

सोही कार्यक्रमको अवसरमा नेपाली कांग्रेस परित्याग गरी सन्तोष बाग्दास, तारा बाग्दास, प्रशंसा बाग्दास, लक्ष्मण बाग्दास, चन्द्रकुमारी बाग्दास र अनिता खत्री एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, उम्मेदवाद्वय केसी र शाहीले पार्टीमा स्वागत गर्नुभएको थियो । यसअघि आइतबार अन्नपूर्णमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका कमिटी उपाध्यक्ष डबलसिङ पाईजा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रम एमाले बेनी नगरपालिका–८, बेनीका वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता र नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घार, खिबाङ, रघुगंगाको मौवाफाँट तथा मंगलाको विभिन्न वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै मालिकाको पनि सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरिएको पालिका कमिटीका सचिव सन्तनाथ सुवेदीले बताउनुभयो । त्यस्तैगरी धवलागिरि गाउँपालिकाको गूर्जामा मतदाता भेटघाट कार्यक्रम गरिएको एमालेले जनाएको छ । आज रातीदेखि चुनावको मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले औपचारिक रुपमा आ–आफ्नो चुनावी कार्यक्रम सकेका छन् ।

Leave a Reply