बागलुङ नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले ३ वटा वडा मात्रै जितेको थियो । १० वटा वडा एमाले र गठबन्धन गरेको राजमोले एउटा वडा जितेको थियो । नगरप्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा थियो ।
अहिले त्यो बिरासत तोडिएको छ । बागलुङ, जैमिनी र गलकोट नगरमा एमालेको जित हुन सकेन । बरु यसअघि जितेका अधिकांस वडा एमालेले गुमायो । राप्रपाको तालमेलमा चुनाव लडेपनि गठबन्धन उमेदवारसँग एमालेका उमेदवारहरु पराजित भए । एमालेको गढ मानिएको वडा नंं १० भकुण्डे पनि यो पटक तोडियो । अन्य पालिकामा सामान्य हेरफेर भएपनि बागलुङ नगरपालिकामा आएको अप्रत्यासित परिणामबाट एमाले स्तब्ध भएको छ ।

अघिल्लो पटकको कांग्रेस जस्तै अबस्थामा एमाले पुगेको छ । बागलुङका अधिकांस पालिकामा एमाले दुइ वडामा सिमित भएको छ । जैमिनी नगरमा एक, गलकोट नगरमा एक र बरेङमा एक वडा मात्रै जितेको एमालेले निसी, तमान र ताराखोलामा आफ्नो उपस्थिति देखाउन सकेन । राजनीतिक रुपमा गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो परेपनि अधिकांस वडामा पुराना उमेदवार पराजित भएका छन् । कांग्रेसबाट जित्ने पुराना र नयाँ भएपनि एमालेबाट यो पटक पुराना उमेदवार खासै आउन सकेनन् । काठेखोला २ मा बिद्यापति शर्मा, गलकोटमा डम्बर श्रीषले चुनाव जिते ।

ढोरपाटन नगरपालिकामा भने एमालेले ४ वटा वडा जित्न सफल भयो । राजमोबाट बिद्रोह गरेको समूहले पनि ४ वटा वडा जितेको छ । पुराना वडामा भने एमालेका अधिकांस उमेदवार पराजित भए । ‘एकपटक काम गरिसकेको मानिस उहीं पदमा दोहोरिंदा धेरै समस्या हुने रहेछ’ कांग्रेस नगर सभापति उमाकान्त शर्माले भने, ‘उमेदवार पहिचान गर्दा ध्यान दिइएन भने संगठन पनि बिग्रन्छ ।’

यो पटक कांग्रेसले वडा तहमा अध्यक्ष बढाउने मौका पायो । यसअघि २८ वडा जितेको एमाले धेरैपछि परेको छ । कांग्रेसले भने यसअघि पनि ३२ वडा जितेको थियो । यो पटक पनि कांग्रेसले वडा भने बढाउन सकेन । गठबन्धनमा बाँड्दा उसका वडाको संख्या बढ्न नसकेको हो । कांग्रेसले पालिकाको पद भने बढायो । यसअघि ८ सिट रहेको कांग्रेस ११ सिटमा पुग्ने तरखरमा छ । एकल जितेको गलकोट र निसीखोलाबाट एकएक पद गठबन्धनमा बाँड्दा ताराखोला र बरेङमा उपस्थिति बनायो । एमालेले भने यो पटक वडामा पनि निकै खुम्चिने अवस्था आयो ।

एमालेले गठबन्धनको चुनौती खेप्नु त थियो नै, उमेदवार चयनमा पनि अन्तरबिरोध रहेको स्पष्ट देखियो । ठूला नेताका आफ्ना उमेदवार ल्याउन खोज्दा परिणाममा असर परेको नेताहरुनै बताउँछन् । ‘राम्रालाई भन्दा हाम्रालाई टिकट दिंदा यो अवस्था आयो’ युवा नेता सूर्य लामिछानेले सामाजिक संजालमा लेख्दै भनेका छन्‘ राजनीतिमा क्रियाशिलतालाई ध्यान नदिंदा धेरै उमेदवार हारे ।’

टिकट बाँड्दा के कति बिमती थियो भन्ने नखुलेपनि एमालेका नगर अध्यक्ष धनबहादुर परियारदेखि पूर्व उपाध्यक्ष कृष्ण पाठक समेतले हलुका टिप्पणी गरेर सामाजिक संजाल रंगाएको स्पष्ट देखियो । त्यसले एमालेमा बिपत्ति रहेको देखिन्छ ।

यो पटक माओवादी र राजमोले आफ्नो उपस्थिति बढाउन सकेको छ । राजमोले जैमिनीको नगरप्रमुख, बडिगाड लगायतका पालिकामा हात बढायो । माओवादीले पनि निसीखोला, बागलुङ नगरपालिका र गलकोटमा आफ्नो टिमको उपस्थिति बढाएर राजनीतिक धरातल थपेको छ । यद्यपी गठबन्धनबाट आएका नेताले संगठन बिस्तारमा भूमिका खेलेनन् भने आगामी निर्वाचनमा परिणाम उल्टिन सक्छ । dhorpatannews.com

Leave a Reply