एउटा उखानै छ,‘काम गर्नेलाई भन्दा हेर्नेलाई लाज’ । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्च विस्तार र स्तरोन्नतिको काम र अहिलेको अवस्था हेर्दा उखानमा भनेजस्तै गर्नेलाई भन्दा हेर्नेलाई लाज भन्थे त्यस्तै भैरहेको छ । जिल्लाको सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने गरी योजना अगाडी बढेपनि बजेटले निरन्तरता नपाएपछि अलपत्र परेको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । खुल्लामञ्चमा धमाधम भइरहेको पूर्वाधार विस्तार सहितका योजनाहरू प्राथमिकतामा नपरेपछि अहिले लथालिङ जस्तै छ ।

करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

बेनी नगरपालिकामार्फत भइरहेको पूर्वाधार विस्तार सहितको योजनाहरू अहिले बजेटविहीन भएको छ । खुल्लामञ्चमा अहिले पार्किङ, अन्य निर्माण साम्रागी राख्ने स्थान बनाइएको छ भने मञ्च लगायत निर्माणधिन अवस्थामा रहेको संरचना अलपत्र जस्तै छ । प्याराफिट बनाउन र मैदान विस्तार गर्नका लागि गरिएका सबै काम अधुरा छन् ।

बेनीमा मिनी स्टेडियम बनाउने योजना भाषणमै सीमित भएको छ भने स्थानीय तह, प्रदेश र संघीय सरकारको प्राथमिकतामा परेको छैन् ।विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको थियो । विगतमा बजेट विनियोजनले आश जागेपनि नियमित बजेट विनियोजन नहुदाँ मञ्च विस्तारको काम अलपत्र परेको छ ।

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले खुल्लामञ्च विस्तारमा निरन्तर सक्रियता र चासो देखाएको अवस्थामा बजेट विनियोजन भएपनि समयमै काम नभएको बताउनुभयो । बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक समेत रहेको बेलामा विश्वकर्माले मञ्चको विस्तारमा बजेट विनियोजनलाई प्राथमिकतामा राखेर काम गर्नुभएको थियो । अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई अब अपुरा काम पुरा गर्ने गरी अगाडी बढ्ने नवनिर्वाचित वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको भनाई छ ।

खुल्लामञ्चबाट पार्किङ हटाउने, अन्य संरचनाहरू समेत नियमित गर्ने गरी काम गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । हाल म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ । करिब १५ मिटर प्याराफिट बनाइएको छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । जिल्लाका अन्य ठूला मानिएका खेलमैदानमा समेत न्यूनतम पूर्वाधारको अभाव रहेको छ । तस्वीर सौजन्य धिरन खत्री

Leave a Reply