म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जानकारी गराउनुभएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको असार ८ गतेको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएकोले सो प्रतियोगीतामा सहभागी पठाउनका लागि छनौट स्वरुप जिल्ला स्तरीय प्रतियोगिता संचालनका लागि तयारी थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीका अनुसार प्रतियोगिता सञ्चालनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ संयोजक रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ ।

त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोद घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कवड्डी प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार संयोजक, साजन फगामी र सन्तोष परियार सदस्य रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने पनि अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु खेल संचालन गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राईले बताउनुभयो ।

एथ्लेटिक्सतर्फका खेलहरु बेनीको खुल्ला मञ्चमा, भलिबल बेनीकै कुनै एउटा विद्यालयमा र मार्सल आर्टका खेलहरु कभरहलमा संचालन गर्ने गरि तयारी गरिएको प्रमुख राईले बताउनुभयो ।

विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेका १८ बर्ष मुनिका विद्यार्थीहरु प्रतियोगीतामा सहभागीहुन पाउनेछन । असार २३ र २४ गते पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगीताका लागि जिल्लाबाट प्रशिक्षक सहित १११ जनाको टोली छनौट गरिने भएको छ । जिल्ला स्थित सम्पूर्ण माविहरुलाई खेलाडि सहभागी गराईदिनका लागि अध्यक्ष केसीले अनुरोध समेत गर्नुभएको छ । उहाँले प्रतियोगीता संचालनमा सहयोगका लागि जिल्ला स्थित सवै विद्यालय तथा संघ संस्थालाई आव्हान समेत गर्नुभएको छ ।

प्रदेश खेलकुद परिषदको निर्देशन अनुसार बर्षाको समयमै भएपनि प्रतियोगीता संचालन गर्नुपरेको केसीको भनाई छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सचिव तारामान रोका, भलिबल संघका महासचिव कुमार किसान, तेक्वान्दो प्रशिक्षक कर्ण प्रधान र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply