केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प-यो ।पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो।चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरु फेसबुकमा साथी बने ।

कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले ।उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले ।योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले ।

कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।

उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ ग¥यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ ।

त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ ग¥यो ।

नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् ।उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ ।

माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ ।सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ ।

फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ ।साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ ।

आर्थिक वर्ष २०७८\७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ ।

यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् ।

यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या एक सय २७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ ।

यसैगरी आव २०७७\७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या तीन हजार चार सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय छ पुगेको देखियो ।

आव २०७६\७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या दुई हजार दुई सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ ।

उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।

Leave a Reply