छोटो भएका तथा पूराना कपडा, जुत्ता, चप्पल तपाईं के गर्नुहुन्छ? मन नपरेका कपडा फोहोरसँगै फालिदिनुहुन्छ, लगाउनुहुन्छ कि दराजमा थन्क्याइ दिनुहुन्छ? यदी अब कसैले प्रयोग गरोस् भन्ने चाहनुहुन्छ भने बेनी नगरपालिका वडा नं ७ ले सुरु गरेको ‘कपडा बैंक’ लाई सहयोग गर्न सक्नुहुने छ।

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडाले स्थापना गरेको ‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडा संकलन हुन थालेको छ। वडा कार्यालयले सार्वजनिक अपिलमार्फत सहयोग गर्न आह्वान गरेपछि बेनीका यूवा व्यवसायी धनञ्जयकुमार श्रेष्ठले आफूसँग भएको लत्ताकपडा सहयोग गर्दै प्रयोग नगर्ने लत्ताकपडा, जुत्ता, चप्पल सहयोग गर्ने माध्यम बनेको बताए।

यो अभियानमा आवश्यक पर्नेले बैंकमा गएर आफू खुसी रोजेर लुगा लान सक्छन्। ‘मैले अब नियमित यो अभियानमा साथ दिन्छु,‘कसैको प्रयोग गर्न मिल्ने पुरानो लुगा कसैको लागि नयाँ हुनसक्छ’ म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने। म्याग्दी जिल्लामा पहिलोपटक बेनपा-७ ले सुरु गरेको कपडा बैंकमा सहयोग गर्न व्यक्तिगत तथा संस्थालाई समेत पत्रचार गरिएको छ भने विदेशमा रहेका म्याग्देलीलाई समेत अभियानमा जोडिन अपिल गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

‘लत्ताकपडा चाहिन्छ, यहाँबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छाडिदिनुहोस्’ वडा अध्यक्ष श्रेष्ठले भने। उनले दिनेको जानकारी वडामै सार्वजनिक गरिने र लिनेको अभिलेख राखिएपनि सार्वजनिक नगर्ने सहित विभिन्न मापदण्ड बनाइएको छ। वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ।

म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने बेनी नगरका प्रबक्ता समेत रहेका श्रेष्ठको भनाइ छ। ‘सम्पूर्ण सहयोगी मनका धनीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न अपिल गर्छु’ वडा अध्यक्ष श्रेष्ठले अपिल गरेका छन्।

बेनी बजारभित्र आफूले प्रयोग गरिसकेको वा प्रयोग विहीन अवस्थामा रहेपनि सफा र प्रयोग गर्न मिल्ने हुनुपर्ने प्रमुख सर्त रहेको छ। कपडा बैंक गरीबले लैजाने र धनीले दिने सन्देश प्रवाह नहुने गरी सञ्चालन गरिने वडा सचिव विनिता रेग्मीले बताइन्।

आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने क्रममा झेल्नुपर्ने समस्याहरूका बारेमा समेत सचेत रहेको वडा सचिव रेग्मीको भनाइ छ। यो अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति १ हजार सहयोग गरिसकेको छन्।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यर्हाेनु नपरोस् भन्ने उद्देश्यले भदौ महिनामै धेरे लत्ताकपडा संकलन गर्ने गरी जनप्रतिनिधि जुटेका छन्। कपडा बैंक स्थापना भएपछि प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यो अभियानमार्फत संकलन भएपछि विधिवत् रुपमा उद्घाटन समेत गरिने छ। जिल्लाका सरोकारवाला निकाय र परोपकारी अभियानमा संलग्न संघसंस्थाले अनुकरणीय काम भएको बताएका छन्।

 यस्तो छ कपडा बैंकको मापदण्ड

संकलन
* कपडा बैंकमा संकलन गरिने वा कपडा बैंकमा दान दिन चाहने कपडा वा जुत्तालगाउन, ओढ्न र ओच्छाउन मिल्ने हुनुपर्दछ ।
*बच्चा देखी वृद्धसम्मका मानिसहरुका लागि उपयुक्त हुने सबै किसिमका कपडा वा जुत्ता स्वीकार गरिनेछ ।
* कपडा बैंकमा दान गरिएका वा संकलन गरिने कपडा वा जुत्ता सफा र लगाउन मिल्ने हुनुपर्नेछ ।
* च्यातिएका, बिग्रिएका, दाग लागेका वा लगाउँदा अस्वभाविक देखिने कपडा वा जुत्ता स्वीकार गरिने छैन ।
* कपडा बैंकमा व्यक्तिगत वा संस्थागत दुवै हिसाबले दान दिन सकिनेछ । यसरी दान गर्ने व्यक्ति वा संस्थाको अभिलेख व्यवस्थित राखिनेछ । रु १० हजारभन्दा बढीका कपडा वा जुत्ता दान दिने व्यक्ति वा संस्थाको नाम वितरण कक्षमा राखिएको ह्याङ्गरमा सबैले देख्न सक्ने गरी उल्लेख गरिनेछ ।
* दान गर्ने व्यक्तिले आफ्नो विवरण गोप्य राख्न चाहेमा निजको विवरण सार्वजनिक गरिनेछैन ।

वितरण
* बैंकबाट कपडा वा जुत्ता लान चाहने व्यक्तिले आवश्यक कपडा वा जुत्ता लान स्वयं उपस्थित हुनुपर्नेछ ।
* बैंकबाट प्रति व्यक्ति गर्मी सिजनमा बढीमा २ जोर र जाडो सिजनमा बढीमा १ जोर कपडा वा जुत्ता लान सकिनेछ । ओढ्ने ओच्छाउने सामानको हकमा २ जना बराबर एक जोर दिइनेछ ।
* कपडा बैंकबाट कपडा वा जुत्ता लैजाने व्यक्तिको अभिलेख राखिनेछ । कपडा लैजाने व्यक्तिको विवरण गोप्य राखिनेछ । सामाजिक सञ्जालमा कुनै किसिमको फोटो प्रदर्शनी गरिने छैन ।
* कपडा बैंकबाट मौसम अनुसारको कपडा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

Leave a Reply