चार दिनदेखिको वर्षाका कारण जिल्लाका जनजीवन अस्तव्यस्त भएको छ। सडक, जलविद्युत् र कृषिमा ठूलो क्षति पुगेको छ भने दशैँसमेत निरशिलो बनेको छ। वर्षापछि आएको बाढीले म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जामा रहेको स्थानीय ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ।

लघुजलविद्युत् अवरुद्ध बनेसंगै गुर्जामा रहेका २६५ घरधुरीमा अन्धकार भएको छ। केन्द्रीय विद्युतीकरणको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीय बासिन्दाले बत्ती बाल्न पाएका छैनन् भने सञ्चारसम्पर्क समेत विच्छेद भएको धवलागिरि गाउँपालिका– १ गुर्जाका वडा अध्यक्ष छन्त्यालले जानकारी दिए। वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध बनेका छन्। जिल्ला सदरमुकाम बेनीदेखि बेनी– दरबाङ र बेनी–जोमसोम सडक ठाउँ गाउँमा खसेको पहिरोका कारण अवरुद्ध बनेका छन्।

म्याग्दीका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ। गुर्जा गाउँको नजिकका डाँडामा बिहीबार दिउँसोदेखि हिमपात भएको हो। असोज महिनामा नै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयबासीको भनाइ छ। गाउँ आसपासका डाँडा हिमपातले सेताम्मे बनेको गुर्जाका वडाध्यक्ष छन्त्यालले बताए ।  ‘गाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातको कारण चिसो अत्यधिक बढेर जनजिवन प्रभावित बनाएको छ’,वडा अध्यक्ष छन्त्यालले भने।

ग्रामीण सडक अवरुद्ध

बुधबारदेखिको वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भए पछि दशैँमा टीका लगाउन जानेहरू समस्यामा परेका छन्। ग्रामीण सडक मात्रै होइन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडक लगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन्। सवारीसाधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओढेर सर्वसाधारण टिका लगाउन आफन्तकोमा जाने गरेका छन्।

वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायतका एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीयत तहका जनप्रतिनिधिले जानकारी दिए। कतिपय स्थानमा सडक भासिएको छ।

वर्षा नरोकिँदा दशैँ प्रभावित भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सर्तकता अपनाएका छन्। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य छन्।

पाक्ने वेलाको धान ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ। पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन्।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।

जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै दाना झरेको छ। तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सिम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताए।

Leave a Reply