आफ्नै श्रीमतीको घाँटी रेटी हत्या, श्रीमान् पक्राउ

0
12

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला पूर्वी सुर्खेतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

सात वर्ष मलेसियामा बसेर फर्किएका पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेमगरले मंगलबार दिउँसो साढे तीन बजेतिर हसियाले ३० वर्षीय श्रीमती मिना आलेको घाँटी काटेर हत्या गरेका हुन्।

प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि टाउको प्लास्टिकको झोलामा राखेर सालकोट प्रहरी चौकीमा आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार अम्मरबहादुरले आर्थिक र परपुरुषसँगको सम्बन्धको विषयमा आशंकामा विवाद बढ्दै जाँदा हसियाँले श्रीमतीको घाँटी रेटेको बयान दिएका छन्।

प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि उनी सालकोट प्रहरी चौकीतर्फ प्लास्टिकको झोलामा श्रीमतीको टाउको बोकेर आउँदै थिए।

सालकोटको मुख्य चोकमा ड्युटीमा रहेका प्रहरीले त्यो देखेपछि अम्मर सिधै प्रहरी चौकी नगएर भागेका थिए। चौकी नजिकैको विद्यालयको पर्खालमा लुकेको अवस्थामा उनी पक्राउ परेका हुन्। घटनास्थल सालकोट प्रहरी चौकीदेखि साढे दुई किलोमिटर उत्तर पूर्वमा पर्छ।

इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवाले महिलाको दायाँ हातको हत्केलामा पनि चोट पटक लागेको बताए। ‘प्रतिकार गर्ने क्रममा हसियाले बायाँ हातको हत्केला पनि काटिएको छ,’ उनले भने, ‘घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएका छौं।’

मृतकका एक छोरा र एक छोरी छन्। घटना हुँदा छोराछोरी स्कुलमा थिए।