म्याग्दीको मंगला गाउँपालिका-३, बरंजाकी भुमिकला थापा घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट खस्दा गम्भीर घाईते हुनुभयो । ढाँडमा गम्भीर चोट देखिएपछि करिब एकबर्ष विभिन्न अस्पतालमा गरेको उपचारले समेत पूर्णरुपमा निको भएन्। उपचारमा सामान्य सुधार भएपनि सन्तुष्ट नभएकी थापा परिवारको सदस्यको साहारामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आउनुभएको छ ।

 

ह्विलचियरमा कुण्डसम्म पुग्ने गरेकी थापाले अहिले केही सुधारको संकेत देखिएको छ । छिमेकी जिल्ला मुस्ताङको लोमान्थाङबाट विगत ८ बर्षदेखि नियमित आउने गरेकी ७५ बर्षिया याङ्दी गुरूङले स्नानबाट शरीरको रोग भागेको महसुस भएको छ । अत्याधिक चिसोबाट बच्न दुईमहिना अगाडी घर छोडेका उपल्लो मुस्ताङका ७ जना महिला अहिले तातोपानीमा स्नान गरिरहेका छन् ।

तातोपानी कुण्डमा बिरामीको भिडमा भेटिनुभएकी मालिका गाउँपालिका–५, देविस्थानकी लक्ष्मी मल्ल पूर्जा पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । प्राथमिक उपचार केन्द्र दरबाङकी सिनियर अनमी मल्ल समेत हरेक बर्ष नियमित विदा लिएर कुण्डमा स्नान गर्न आउने गरेको बताउनुभयो ।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामीहरू धेरै कुण्डमा भेटिएका छन् । एउटा हातमा बैसाखी लिएर आएकाहरु केही दिन स्नान गरेपछि आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र प्रवेश गरेको बिरामीले खुलेर बताउँछन् । करिब दुईदशक अगाडीसम्म पशुचौपाया बस्ने आहाल जस्तै तातोपानी कुण्ड अहिले हजारौं विरामीको उपचार केन्द्र बनेको छ ।

म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरेपनि स्थानीयले चारदशक सम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोगपछि बनेका संरचनामा विरामीको चाप बढेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ ।

वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २६ हजार विरामी तथा १३ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् ।

स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा कुण्डमा विरामी आउन थालेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा कमाउन सफल भएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो

निराश भएर आएका विरामी एक देखी दुईहप्तासम्म स्नान गरेपछि खुसी हुदै घर फर्किने गरेका छन् । कुण्डमा करिब ६० प्रतिशत बागलुङ जिल्लाबाट मात्रै आउने गरेको बताउँदै देशका विभिन्न जिल्लाका साथै भारतबको सिक्किमबाट समेत नियमित बिरामी आउँछन् । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेका बिरामीहरूले अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन् ।

शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाईते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने विरामीको अनुभवले पनि कुण्डले धेरै विरामीको परिवारका खुसी थपेको छ । वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ ।

गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।कुण्डको पानीको वीरेनून नजिकै रहेको बेनी–दरवाङ सडकसम्म गन्ध आउँछ । बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुबिधायुक्त तरिकाले घण्टौ सम्म स्नान गर्न सकिन्छ । कुण्ड बाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुईवटा कुण्ड बनाइएको छ ।

एक दिनमा दुई पटक डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट खलखल पसिना निकाल्ने गरिएको छ । कुण्डमा स्नान गर्ने समयमा छुट्टै पोशाकको प्रयोगसँगै अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ । कुण्डमा बिरामीको चाप बढेपछि अहिले सानाठुला होटलमा थपिएको होटल ब्यवसीय कुमार केसीको भनाई छ ।

कसरी पुग्ने ?
म्याग्दीको सदरमुकाम बेनीबजारबाट पश्चिम म्याग्दी तर्फ जोड्ने बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत बेनी बजारदेखि ९ किलोमिटर पश्चिममा अवस्थित कुण्डमा पुगिन्छ । कालोपत्रे सडकमा सदरमुकाम बेनीबाट करिब २५ मिनेटमा पुगिन्छ । त्यस्तै पश्चिम बागलुङ र रुकुमबाट मालिका गाउँपालिकाको दरबाङ हुदै आउने गरेका छन् । तातोपानी स्नान गर्न आउने पाहुनाहरुका लागि यहाँ आफै कोठा भाडामा लिएर खाना पकाउने खाने होमस्टे सरहको सुबिधा पनि छ ।

सस्तो र स्थानीयको सत्कारबाट समेत विरामीलाई रोग संग लड्न सहज हुन्छ ।स्थानीय होटल ब्यवसायीले पाहुनाको रुपमा स्वागत गर्छन् । कुण्डमा स्नान गरेपछि नुहाउने धारा तथा ट्याक्कीको ब्यवस्था छ । तातोपानीको तल्लो र माथिल्लो बजारमा धेरै घरहरु होटल तथा विरामीलाई भाडामा दिने गरी प्रयोग हुन्छन् । तातोपानीमा सानाठुलो गरी ३० वटा होटल रहेको छ।

Leave a Reply