नेपाली सांगीतिक क्षेत्रमा परिचित संगीतकार दीपक शर्माले डेढ दशकदेखि निरन्तर यसक्षेत्रमा सफलताको सिँढी चढिरहेका छन् । उनले हजारभन्दा बढी गीतमा संगीत दिइसकेको जनाए । दर्जनौँ चर्चित गीत एवं संगीत दिएका शर्मा नेपाली मौलिक बाजाका बारेमा समेत जानकार छन् । उनी आफ्ना गीतमा अक्सर मौलिक बाजासँगै पश्चिमा बाजाको तालमेल गराउँदै आएका छन् । विश्वबजारमा नेपाली गीत संगीतलाई स्थापित गर्न त्यहाँको बाजा र शैलीसँग मौलिक बाजा र शैलीको तालमेल गराउन आवश्यक ठान्छन् शर्मा । उनै शर्मासँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको संक्षिप्त कुराकानीः

 

० नेपाली संगीतमा धेरै प्रयोग गरिने बाजाहरु के–के हुन ?

नेपाली संगीतमा विभिन्न बाजाहरुको प्रयोग हुन्छ । करिब ५०० थरीका मौलिक बाजा छन् । तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेका छन् । मेरो एउटा अभियान तिनीहरुलाई लोप हुन नदिनु हो । सबै मौलिक बाजा चलनचल्तीमा छैनन् । तीमध्ये मादल, बाँसुरी, सारंगी, मुर्चुंगा, तुङ्ना, पञ्चेबाजा, धिमे, ढोलजस्ता बाजा बढी मात्रामा नेपाली गीतमा प्रयोग भइरहेका छन् ।

यी सबै साँच्चिकै मौलिक बाजाहरु हुन् त ?

हामी सधै बाजाहरुसँग राष्ट्रियता जोड्छौँ । बाजा नबज्दासम्म अर्मुत चिज हो । बाजाले राष्ट्रियता आउने होइन, त्यसमा बज्ने हाम्रो मौलिक धुनले राष्ट्रियता झल्कने हो । जस्तै मादल भारत र बंगलादेश, सारंगी एसियन मुलुकमा थुप्रै ठाउँ अनि बाँसुरी र बिनायो पनि एसियाका विभिन्न मुलुकमा बजाइन्छ । देश अनुसार बाजाको नाम, स्वरुप र बजाउने शैलीमा केही भिन्नता पाइन्छ ।उनीहरुको शैलीमा बज्दा उनीहरुकै मौलकता झल्कन्छ, हाम्रो शैलीमा बज्दा हामै मौलिकता झल्कन्छ । यस्तै खैजडी, डम्फु, ढोलजस्ता बाजाहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा बजाइन्छ । तर, यी बाजाको स्वरुपमा समानता पाइन्छ । यस्तै तुङ्ना तिब्बतमा पनि बजाइन्छ । मौरिबाजा जस्तै स्वरुप झल्कने बाजा चीन र जापानमा पनि बजाइन्छ । तर, नेपाली मौरिबाजा चाहीँ केही परिमार्जित छ ।

त्यसो भए माथि उल्लेख भएका बाजालाई पूर्णरुपमा मौलिक बाजा नमान्ने त ?

मैले नमान्ने भनेको होइन । तर, यस्ता बाजाहरु अन्य एसियन देशहरुमा पनि छन् । त्यही भएर यी बाजाहरु हाम्रा लागि मात्र नभएर ती देशका लागि पनि मौलिक हुन् सक्दछन् । यदि यी बाजालाई हामीले मौलिक मान्ने हो भने ती बाजाहरुबाट निस्कने धुन र बजाउने शैलीले हाम्रो कला संस्कृति र राष्ट्रियतालाई जोड्न जरुरी छ । कतिपय हाम्रा मौलिक बाजाहरु चाहिँ विशुद्ध नेपालमा मात्र पाइने र बजाइने पनि छन् ।

नेपाली मौलिक बाजा पश्चिमा बाजासँग कसरी तालमेल गर्न सकिएला ?

नेपाली मौलिक बाजा र पश्चिमा बाजाको अहिले पनि तालमेल भइरहेको छ । कुनै पनि बाजाको धुन दुई किसिमको हुन्छ । एउटा पोलिफोनिक र अर्को मोनोफोनिक धुन । जुन बाजाबाट एकैपटकमा एउटा तहभन्दा बढी धुन निस्किँदैन, एउटा मात्र लय वा धुन निस्कन्छ यसलाई मोनोफोनिक धुन भनिन्छ । जस्तै मौलिक बाजामा सहनाई, सारंगी बाँसुरी र पश्चिमा बाजाहरुमा भ्वाइलिन, ट्रम्पेड आदि । पोलिफोनिक भनेको एकैपटकमा दुई वा दुईभन्दा बढी धुन निस्किने जस्तै नेपाली बाजामा मौरीबाजा, पश्चिमा बाजाहरुमा पियानो, गितार, हार्मोनीका जस्ता हुन् । यसरी हेर्दा नेपाली बजारमा मोनोफोनिक बाजा धेरै छन् भने पोलिफोनिक बाजा कम छन् । पश्चिमा बाजामा मोनोपोलिक र पोलिफोनिक दुवै बाजाहरु उत्तिकै मात्रामा छन् ।

अब हामीले एउटा ट्याक तयार बनाउँदा मोनोफोनिक र पोलोफोनिक दुवै किसिमका बाजा उत्तिकै मात्रामा चाहिन्छ । जस्तै गीतारबाट कड्स हाल्दा ‘एफ’, ‘ए’, ‘सी’ धुन एकैपटक बजाउँदा ‘एफ मेजर’ धुन निस्किन्छ । भनेपछि हामीलाई कड्स हाल्न गितार वा गितार स्वरुपकै अर्को बाजा त चाहियो, त्यस्तो प्रकारको बाजा नेपाली बाजामा दुर्लभ भएका कारणले नेपाली बाजाहरु र पश्चिमा बाजाहरुको तालमेल भएको हो । तर, यो तालमेलमा हाम्रो मौलिकता र सांस्कृतिक लवज जोडेर कुशलतापूर्वक गीत संगीत सिर्जना गर्न सकियो भने आकर्षक संगीत बनाउन सकिन्छ । यस्तो आकर्षक संगीतलाई विश्व बजारमा लैजाँदा हाम्रो सम्पत्ति विकास हुन सक्दछ । विश्वबजारमा पनि हाम्रा बाजाले ठाउँ पाउँछन् अनि विश्वबजारले पनि फरक स्वाद पाउँछ ।

अबको तपाईका योजना के छन् ?

मैले पश्चिमा बाजा र संस्कृतिलाई अझै गहन अध्ययन गरेर हाम्रोपन र पश्चिमापनलाई समायोजन गर्ने सोच छ । म त्यसैमा लागि परेको छु । अनि अरु विभिन्न प्रोजेक्ट, फिल्म, एल्बमका लागि गीत संगीत सिर्जनामै व्यस्त छु । Source :souryaonline.com

Leave a Reply