बेनी अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ । मृगौलाका समस्या भएका बिरामीको अत्याधिक चाप रहेको अस्पतालमा रहेको दुईवटा मेसिन तत्काल मर्मत नहुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको पहलमा स्वास्थ्य विभागले अस्पताललाई २ वटा थप मेसिन उपलब्ध गराएको हो। बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले २८ लाख बराबरको २ वटा मेसिन थप भएपछि बिरामीलाई सहज हुने बताए ।

‘अब नियमित डायलासिस गर्ने बिरामीले नियमित सेवा लिन सहज हुन्छ,‘‘बिग्रिएका मेसिन मर्मतका लागि अमेरिकाबाटै उपकरण मगाएर भएपनि चलाउँछौ’ अध्यक्ष सुबेदीले भने । ६ वटा डायलासिस मेसिन रहेको अस्पतालमा दुईवटा बिग्रिएको छ । अहिले ४ वटामा २७ जनाले नियमित सेवा दिन समस्या भइरहेको थियो । मेसिन बिग्रिएपछि बिरामीको तालिका नै प्रभावित भएको थियो ।

अस्पतालमा बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था छैन् । बिग्रिएको डायलासिस मेसिनको उपकरण नेपालमा नपाइएपछि राष्ट्रिय आविष्कार केन्द्रमार्फत उपकरण मगाइएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १२ जना नयाँ बिरामीले डायलासिसका लागि पालो पर्खिएका छन् ।

नियमित डायलासिस गरेका बिरामीले प्रत्यारोपण वा उपचार असफल भएपछि मात्रै अर्को बिरामीको पालो आउने गरेकाले बागलुङ, पोखरा, काठमाण्डौमा पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको यूनिटकी प्रमुख सिर्जना शाहीले बताईन् । बिरामीको मृगौला फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ।

मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ। निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८ हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ। उच्च रक्तचाप र मधुमेहका कारण मृगौला बिरामीको संख्या बढ्दो छ। यसका अतिरिक्त वंशाणुगतले गर्दा पनि मृगौला फेल हुने बिरामी म्याग्दीमा बढिरहेका छन् ।

 

Leave a Reply