गत शनिबारदेखि म्याग्दीमा स्थानीय तह, गैरसरकारी संस्थाहरुद्वारा विविध कार्यक्रम गरी लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइरहेका छन् । विगत एक सातादेखि दैनिकजसो म्याग्दीका ग्रामिण क्षेत्रमा अभियान अन्तरगत विभिन्न सार्वजनिक कार्यक्रमहरु भइरहदाँ परिवार र समाजमा महिलामाथि परम्परागत रूपमा हुने हिंसा बाहेक ‘डिजिटल प्लाटफर्म’ मार्फत महिलामाथि हिंसा समेत ह्वात्तै बढेको छ ।

जिल्लाभित्र हुने लैंगिक हिंसाका घटनासँगै घरपरिवारको सुन्दर भविस्यका लागि खाडी पसेका महिलाहरू समेत घरेलु हिंसाको चपेटामा परेका छन् । स्वदेश तथा विदेशमा हिंसामा परेका महिलाको अवस्था दिनप्रति दिन चिन्ताजनक रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास एवं पहुँच व्यापक बन्दै जाँदा महिला तथा बालिका डिजिटल प्लाटफर्ममा असुरक्षित हुँदै गएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा हिंसाको बदलिँदो स्वरूपप्रति पनि उत्तिकै ध्यान दिनुपर्नेमा सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

लैंगिक हिंसाविरुद्धको अभियानमा म्याग्दीमा पुरुष,महिला र बालबालिकामाथि हुने वा भइरहेका हिंसाका घटनाक्रम र त्यसका स्वरुप विश्लेषण गर्ने गरिएपनि डिजिटल प्लाटफर्ममा चिन्दै नचिनिएको, देख्दै नदेखिएको व्यक्तिबाट हुने हिंसा, दुव्र्यवहार न्यूनीकरणका लागि आवश्यक सावधानी र सचेतनामुलक अभियान सञ्चालन हुन सकेको छैन । म्याग्दीमा १ लाखभन्दा धेरै जनसंख्या दुरसञ्चारको पहुँचभित्र छन्।

जिल्लाका ६ वटै स्थानीय तहका अधिकांस बस्तीमा इन्टरनेटको पहुँच छ । स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको हिस्सा दिन प्रतिदिन बढेको छ । जनचेतनाको अभाव र सचेत नागरिकले समेतसामाजिक सञ्जालमा के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने थाहा हुँदैन । किशोरी, बालबालिकाले हिंसा हुँदै छ भन्ने पत्तो समेत पाउँदैनन र समस्यामा परेपछि कानुनी अभ्यासको खोजीमा निस्किन्छन् ।

डिजिटल विभेद भित्रभित्र भुसको आगोसरी फैलिरहेको अवस्थामा म्याग्दीका सरोकारवाला निकायले यसका बारेमा गहन अध्ययन तथा विश्लेषण गर्नेतर्फ कुनै कार्य नगर्दा दुख लागेको छ । डिजिटल प्लाटफर्ममार्फत हुने हिंसाको बढ्दो क्रमलाई न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले समुदायस्तरमा लघु सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्रहरी कार्यालयमार्फत सानो, ठूलो समुहमा साइवर अपराध, आत्महत्या, लागु पर्दाथ दुब्र्यसनी बिरुद्धका अभियानहरू सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा डिजिटल प्लाटफर्ममा एक व्यक्तिको फोटोमा टाउको जोडिदिएको, चिठ्ठा परेको भन्दै लाखौंको प्रलोभनमा परी बैंक एकाउन्टबाट पैसा निकालेको,धम्क्याएका, फेक आइटी खोलेर फेसबुक दुरुपयोग, सामाजिक सञ्जालमार्फत गालीबेइजती, अनावश्यक भिडियो पठाएर मानसिक तनाव दिने गरेको गुनासो लिएर पीडित जाने गरेका छन्।

चालु आवमा अनलाइन हिंसासम्बन्धि फुटकर उजुरी ७ वटा दर्ता भएपछि आवश्यक कारवाही गरी पठाइएको छ। सामाजिक सञ्जालमा अहिले पुरुष र महिलालाई फरक विचार राख्ने भन्दै अश्लील गालीगलौज गर्ने प्रवृत्ति पनि देखिएको छ । हिंसाका विविध स्वरुप, तरिका फेरिएपनि दिवस मनाउने शैली भने एकदशक अगाडीकै जस्तै छ ।

प्रभातफेरी, लामो मन्तब्य लगायतका औपचारिक कार्यक्रमहरु मात्रै भइरहेको अवस्थामा अहिलेको वर्तमान अवस्थामा डिजिटल विभेदलाई न्यूनीकरणको लागि झकझक्याउने अभियान सञ्चालनको आवश्यकता छ ।

मानिस झन्झन् शिक्षित र सचेत हुँदै गएको भनिएपनि हिंसाका घटना झनै डरलाग्दो तरिकाले बढिरहेको अवस्थामा डिजिटल प्लाटफर्मको नियमन–निगरानी र कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्छ । प्रयोगकर्तालाई यस्ता प्लाटफर्म सभ्य र सुसंस्कृत रूपमा चलाउन प्रेरित गर्नु आजको समयको आवश्यकता हो ।

अब स्थानीय तहले सरोकारवाला निकायसँग मिलेर भौतिक, डिजिटल वा अन्य विभिन्न प्रकारका हिंसाबाट समाजलाई मुक्त बनाउन विशेष अभियान सञ्चालनमा गर्नु पर्दछ । पुरुष, महिला, किशोरी र बालिकालाई अनलाइनबाट हुने हिंसाबाट कसरी जोगिने भनेर सतर्क पार्न जरुरी छ, उत्ति नै महत्वपूर्ण लैंगिक हिंसा बिरुद्धका दिवस र कार्यक्रमको स्वरुप परिवर्तनमा सरोकारवालालाई पनि सचेत पार्नुपर्छ ।

इन्टरनेटको पहुँच व्यापक बन्दै जाँदा विद्यालय तहको पाठ्यक्रममै यो विषय समावेश गरेर सचेत पार्नुपर्छ । म्याग्दीका स्थानीय तहले प्रकाशन गरिरहेका पुस्तक तथा विद्यालयमा समेत विभिन्न समयमा डिजिटल मिडियाको सवल, खराव पक्षका साथै हुनसक्ने जोखिमका बारेमा विद्याथीमार्फत समुदायस्तरमा समेत पु¥याउन आवश्यक छ ।

Leave a Reply